१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २१:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको सम्बोधनमा एमालेको प्रतिक्रिया : प्रधानमन्त्रीले काम गर्न नसकेको स्विकार्नुभो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:३१:oo

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकवर्षे कार्यकालमा केही पनि गर्न नसकेको तथ्य स्वीकार गरेको प्रतिक्रिया दिएको छ । 

एकवर्षे कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्रीबाट आएको सम्बोधनले देशको आर्थिक मन्दी र असफलता ढाकछोपका लागि जनतालाई असम्भव अमूर्त आश्वासनहरू बाँड्ने प्रयास गरेको एमालेको टिप्पणी छ ।

उपमहासचिव प्रदीप ज्ञवालीको टिप्पणी :

पहिलो, प्रधानमन्त्रीले सरकारले गरेको एक वर्षको कामको समीक्षा होइन, नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभो । त्यसैले आवधिक सम्बोधनको ढाँचा नै मिल्दो छैन । राम्रो गर्न सकिनँ, अब छलाङ मार्छु, क्रमभंग गर्छु, कार्यशैली बदल्छु, अब सुध्रिन्छु भन्नुको तात्पर्य एक वर्ष केही गर्न सकिएन भन्ने उहाँको घुमाउरो स्वीकारोक्ति हो ।

दोस्रो, उहाँले सम्बोधनमा महत्वपूर्ण तथ्यहरूको ढाकछोप गर्नुभएको छ । देशमा छाएको आर्थिक मन्दी, अर्थतन्त्रमा देखिएको शिथिलता बढिरहेको छ । विकास परै जाओस्, आन्तरिक राजस्वबाट कर्मचारीलाई तलबसमेत दिन नसकिने जुन अवस्था सिर्जना भएको छ, त्यसलाई उहाँले स्वीकार गर्नुभएन । ठूला होइन, अहिलेको प्राथमिकताभित्र पर्ने सामान्य काम– भूकम्पपीडितका लागि जाडोमा न्यानाे आवासको व्यवस्था, वर्षौँदेखि अल्झिएर अन्तिम अवस्थामा रहेको मेलम्ची खानेपानी वितरणको सुनिश्चितता, स्मार्ट लाइसेन्स वितरणजस्ता काममै सरकार चुकेको छ, त्यो अयोग्यतालाई स्वीकार गर्नुभएन । 

तेस्रो, उहाँले अबका दिनमा जे–जे काम गर्छु भन्नुभएको छ, त्यसको आर्थिक स्रोत के हो ? बजेट त गत असारमै पास भइसकेको छ । त्यसैले अब गर्छु भन्नु शतप्रतिशत हावादारी आश्वासन हो । यतिवेला प्रधानमन्त्रीले नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट रकमान्तर गर्न खोजेको हो भने त्यो गम्भीर आर्थिक विचलन हुनेछ । 

चौथो, सरकारले भ्रष्टाचारको जालो तोडाे, कारबाही गरेँ भन्ने जे कुरा गर्नुभएको छ, ती सबै तथ्यले हावादारी साबित गर्छ । ललितानिवास काण्डमा सत्तागठबन्धनकै नेता मुछिँदै जाँदा, सुन तस्करी प्रकरणमा भिआइपीहरूमाथिको कारबाही रोकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण पनि प्रकारन्तरणमा त्यस्तै देखियो । सुनकाण्डमा सत्तागठबन्धनतिरै सुई सोझिँदै जाँदा प्रहरीका उच्च अधिकारीहरूको रातारात अचानक सरुवा भएको छ । सारमा प्रधानमन्त्रीले आफ्ना अहिलेसम्मका सबै असक्षमता ढाकछोप गर्दै सम्बोधनबाट जनतालाई अमूर्त आश्वासनतिर तान्ने प्रयास गर्नुभएको छ, जुन पूरा हुने कुनै पनि सम्भावना देखिएको छैन ।

ad
ad