१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष ५ बिहीबार ०८:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इन्टरपोलको सहयोगमा पक्राउ पर्दै अभियुक्त : एक सातामै विदेशबाट ल्याइयो चार अभियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष ५ बिहीबार ०८:२५:००

इन्टरपोलबाट रेड नोटिस जारी भई नेपाल ल्याइएका चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार थिए 

नेपालमा अपराध गरेर विभिन्न देश पुगेका चारजनालाई नेपाल प्रहरीले पक्राउ गरी ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा एक सातामा चार अभियुक्तलाई नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो । संयुक्त अरब इमिरेट्स (युएई)बाट तीन तथा कुवेतबाट एकजनालाई पक्राउ गरी प्रहरीले ल्याएर कारबाही प्रक्रिया अघि बढाएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार अभियुक्त थिए । बुधबार मात्र दुईजनालाई प्रहरीले युएईबाट पक्राउ गरी ल्याएको छ । विद्युतीय कारोबारको अपराध फरार रहेका प्युठान सरुमारानी गाउँपालिका– १ का ३३ वर्षीया सगिर अहमदलाई बुधबार प्रहरीले नेपाल फिर्ता ल्याएको छ । फेसबुकबाट उनले बालबालिकालाई हिंसा गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनी युएईमा रहेको पत्ता लागेपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो । गत २० भदौमा रेड नोटिस जारी भएकोमा प्रक्रिया पूरा गरी उनलाई बुधबार प्रहरीले नेपाल ल्याएको हो । साइबर ब्युरोले उनीमाथि कारबाही अघि बढाएको छ । 

जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङ्जा वालिङ नगरपालिका– ११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने यामबहादुर बुढाथोकीलाई पनि प्रहरीले बुधबार नेपाल फिर्ता ल्याएको छ । उनलाई पनि दुबईबाट पक्राउ गरी ल्याइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । उनीविरुद्ध एक वर्षअघि नै रेड नोटिस जारी भएको थियो । 

जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका– ८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार प्रहरीले नेपाल ल्याएको थियो । गत साउनमा उनले एक युवतीमाथि बलात्कार गरेका थिए । बिहे गर्ने आश्वासनमा बलात्कार गरी उनी वैदेशिक रोजगारीमा विदेश भागेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल ल्याएको हो । प्रहरी वृत्त जगातीले उनीमाथि अनुसन्धान अघि बढाएको छ । 

त्यस्तै, भिजिट भिसामा युएई पठाउने भन्दै ठगी गरी फरार रहेका सर्लाहीको जानकीनगर घर भएका कोमलराज उपाध्यायलाई युएईको दुबईबाट पक्राउ गरी २९ मंसिरमा नेपाल ल्याइएको थियो । उनले ८३ जनालाई दुई करोड ६३ लाख रुपैयाँ ठगी गरेको मुद्दा दायर भइसकेको छ । युएईमा त्रिनेत्र म्यानेजमेन्ट नामक कम्पनी नै सञ्चालन गरी त्यसैको आवरणमा उनले भिजिट भिसामा मानव तस्करीको धन्दा चलाएका थिए । 

इन्टरपोल महासभामा सहभागिताको प्रभाव
विगतमा इन्टरपोलबाट रेड नोटिस जारी भएकालाई वर्षाैँ प्रयास गर्दा पनि प्रहरीले नेपाल ल्याउन सकेको छैन । पछिल्लो सफलता प्रहरी नेतृत्वले दुई साताअघि सम्पन्न इन्टरपोलको महासभामा गरेको भेटघाटको प्रभाव भएको प्रहरी स्रोत बताउँछ । जसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भारत, चीन र युएईका प्रतिनिधिसँग फरार अभियुक्तको पक्राउको विषयमा छलफल गरेका थिए । सोही कारण एक सातामै युएईले तीनजनालाई नेपालमा निष्कासन गरेको हो । युएईमा अझै धेरै फरार अभियुक्त बसेका छन् । 

सुपुर्दगी सन्धिको अभावका कारण विदेशमा लुकेका अभियुक्तलाई पक्राउ गरेर ल्याउन कठिनाइ भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कुनै पनि देशसँग नेपालको सुपुर्दगी सन्धि कार्यान्वयनमा छैन । हाल नेपाल प्रहरीले ९० जनाभन्दा धेरैलाई इन्टरपोलबाट रेड नोटिस जारी गरेको छ । उनीहरू बसेको देश पत्ता लगाउँदा पनि सम्बन्धित देशले सहयोग नगर्दा पक्राउ गरी ल्याउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । यस्ता फरार अभियुक्तलाई पक्राउ तथा अन्तरदेशीय अपराधको अनुसन्धानका लागि नेपाल प्रहरीले युएईलगायत देशमा प्रहरी सहचारी राख्न वर्षाैँदेखि प्रयास गरे पनि सरकारले स्वीकृत दिएको छैन ।