मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
पालिकाको वडा नम्बर २ धवाडीपुलस्थित भित्रीसडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मकवानपुरगढी– २ कुर्ले पाखाका ३५ वर्षीय भीमबहादुर स्याङ्तान, उनकी श्रीमती ३४ वर्षीया रूपा स्याङ्तान र उनीहरूकी ४–५ महिनाकी छोरी रहेकाे प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार रूपा र छोरीको घटनास्थलमै र मोटरसाइकलचालक भीमबहादुरको उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइते स्याङ्तानको हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि चितवन लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
मोटरसाइकल आफैँ अनियन्त्रित भई पुल छेउबाट अन्दाजी १० मिटर तल खसेको थियो।