Skip This
नेपाल सुपर लिग : जितमा पनि खुसी हुन नसकेको काठमाडौं
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
इलामविरुद्धको खेलमा हेडिङ गर्ने प्रयासमा काठमाडौं रेजर्सका अन्जन राई (रातो) । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o मङ्सिर ९ शनिबार o६:१o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : जितमा पनि खुसी हुन नसकेको काठमाडौं

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o६:१o:oo

एकैपटक पाँच विदेशी खेलाडी खेलाएको काठमाडौंले नवप्रवेशी इलामविरुद्ध फराकिलो अन्तरले जित निकाल्ने अपेक्षा गरे पनि सम्भव भएन

साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गरेको छ । तर, साबिक विजेता काठमाडौं जितले पनि पनि खुसी हुन सकेन । एकैपटक पाँच विदेशी खेलाडीलाई मैदानमा उतारेको काठमाडौंले इलामलाई पाखा लगाउन निकै मिहिनेत गर्नुपरेको थियो । इलामका प्रशिक्षक मेघराज केसीले काठमाडौंलाई चुनौती दिने किसिमकै रणनीति तयार पारेका थिए । तर, फिनिसिङमा गतिलो प्रदर्शन गर्न नसके पनि इलामले गोल अवसर निकालिरह्यो । 

तर, आशा गरेका खेलाडीले गोल गर्न नसक्दा इलामका समर्थक निराश भए । इलामले चार विदेशी खेलाडी खेलाएको थियो । कानुनी प्रक्रिया पूरा नहुँदा इलामले थप एक विदेशी खेलाडीलाई मैदान पठाउन नसकेको हो । उतारचढाव खेलमा काठमाडौंका लागि दोस्रो हाफमा युवा स्ट्राइकर राजीव लोप्चानले एक मात्र विजयी गोल गरे । उनको यसै गोलको सहयोगमा काठमाडौंले तीन अंक प्राप्त गर्‍यो । 

लोप्चानको निर्णायक गोलसँगै नवप्रवेशी टोली इलामको सानदार सुरुवात गर्ने लक्ष्य पूरा भएन । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आशाअनुसार प्रदर्शन गर्न नसकेको स्विकारेका छन् । उनले इलामविरुद्धको प्रदर्शनका आधारमा उपाधि रक्षा गर्न गाह्रो हुने जनाए । ‘हामीले तीन अंक बटुल्यौँ, तर आशाअनुसारको प्रदर्शन भएन ।’ उनले विपक्षीमाथि दबाब राख्न धेरै गोल हुनुपर्ने बताए । यद्यपि, लिगको पहिलो खेल भएकाले पनि समस्या भएको उनको भनाइ छ । ‘हामीले बल पोसेसन नै गुमायौँ, सायद पहिलो खेल भएकाले समस्या भयो,’ उनी भन्छन् । 

तीन वर्षअघि काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन ट्रफी उचालेको थियो । महर्जनले पहिलो संस्करण च्याम्पियन हुँदा बिस्तारै टोलीले लय समातेको र यसपटक पनि सोही आशा भएको विश्वास व्यक्त गरे । ‘गत सिजनमा पनि छोटो समयमा बिस्तारै लयमा समातेका थियौँ । यसपटक पनि सोही आशा गर्छाैँ,’ उनले भने । 

इलामका प्रशिक्षक मेघराज भने केही खुसी देखिए । लिगको दोस्रो खेलमा इलामको प्रदर्शन काठमाडौंको विरुद्ध भन्दा स्तरीय हुने मेघराजको विश्वास छ । ‘काठमाडौंले दबाबमा राखेर गोल गरेको होइन । हामीले कमजोर पनि खेलेनौँ,’ हारको कारण देखाउँदै उनले भने, ‘काठमाडौंको दिन रहेछ, आगामी खेलमा सुधारिएको प्रदर्शन पाउनुहुन्छ ।’

राजीवको निर्णायक गोल 
खेलको ५१औँ मिनेटमा वैकल्पिक खेलाडी राजीवले दोस्रो संस्करणको एनएसएल लिगमा पहिलो गोल गरे । उनले इलामका गोलरक्षक तथा कप्तान विकेश कुथूसँगै डिफेन्डरको गल्तीमा गोल गरेका थिए । उज्वेकिस्तानका कोमिलोभ तोजिडिनोभको कर्नरमा इलामका खेलाडी अलमल परेपछि काठमाडौंले अग्रता लियो । राजीव खेलको ४६औँ मिनेटमा प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका थिए । इलामले पहिलो हाफमा प्राप्त अवसरमा गोल गर्न सकेन । अमाथ एनडले गरेका लामा प्रहारहरू असफल भएका थिए । उनले खेलको १३औँ मिनेटमा बक्सबाहिरबाट हानेको सशक्त प्रहार काठमाडौंका गोलरक्षक अभिषेक बरालले बचाएका थिए । 

एक खेलमा नौ विदेशी खेलाडीको प्रयोग
दोस्रो संस्करणको उद्घाटन खेलमा इलाम र काठमाडौंले समग्रमा नौ विदेशी खेलाडीलाई उतारे । नेपाली फुटबलमा पहिलोपटक एकै खेलमा नौ विदेशी खेलाडी मैदानमा देखिएको यही नै हो । यसअघि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार खेलाडीले एकैपटक एक टोलीबाट मैदान प्रवेश गर्न पाउँथे । त्यसअघि तीन खेलाडीलाई मात्रै एकैपटक मैदानमा उतार्न पाइन्थ्यो । 

६० भन्दा धेरै खेलाडी अस्ट्रेलियालगायत विभिन्न देशमा पुगेपछि विदेशी कोटा बढाइएको हो । क्लबको आग्रहसँगै आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले ६ सम्म विदेशी खेलाडी राख्न पाउने नियम लगाएको हो । जसमा एक खेलमैदानबाहिर रहनेछन् । 

यसअघि उद्घाटन सत्रमा नौ टोलीका खेलाडीले मार्च पास गरेका थिए । राष्ट्रिय गानपछि गायक वाङ्देन शेर्पा, सुशान्त केसीले आफ्ना चर्चित गीतहरू गाएका थिए । चर्चित दिदीबहिनी प्रिज्मा र प्रिन्सीले नृत्य प्रस्तुत गरेका थिए । यद्यपि, उद्घाटन खेल निर्धारित समयमा हुन सकेन ।