१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

युवा संघले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o६:oo

सरकारले माइतीघरमण्डलादेखि बानेश्वरको मीनभवन पुलसम्म एक महिनासम्म निषेधाज्ञा जारी गरेपछि एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले ७ मंसिरमा कोटेश्वरस्थित तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । प्रशासनको निर्णयलाई साथ दिँदै वैकल्पिक क्षेत्रमा प्रदर्शनको तयारी सुरु गरेको संघले जनाएको छ । 

जिल्ला प्रशासनले दुवै पक्षलाई बालाजु, तीनकुने, कीर्तिपुर, महाराजगन्जको नारायणचौरमा प्रदर्शनका लागि विकल्प दिएकोमा सोमबारै संघले प्रशासनलाई विकल्प दिएको हो । संघ र दुर्गा प्रसाईं समूहको आमने–सामने प्रदर्शनका कारण शान्ति सुव्यवस्था खलबलिने सम्भावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबारबाटै लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । 

प्रसाईंले बैंक, सहकारी र लघुवित्तका ऋणीहरूलाई ऋणमुक्त गराउने, हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना गराउने भन्दै अलग्गै प्रदर्शनको तयारी गरिरहेका छन् । दुवै पक्षले प्रचारलाई तीव्रता दिइरहेका छन् । 

संघले प्रदर्शन सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित रहने जनाएको छ । ‘प्रदर्शन भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित हुनेछ, प्रसाईंका विरुद्ध होइन, प्रसाईंजस्ता व्यक्तिहरूको अराजक प्रवृत्तिविरुद्ध हो,’ संघका प्रवक्ता निरोज पौडेलले नयाँ पत्रिकासँग भने । 

‘भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध मंसिर ७, युवा विद्यार्थीको साथ’ नारा दिएर संघले काठमाडौं उपत्यका र बागमती आसपासबाट अनेरास्ववियुसहित पार्टीसम्बद्ध अन्य जनसंगठनको सहयोगमा प्रदर्शनको तयारी गरिरहेको छ । प्रदर्शनको स्वामित्व लिँदै एमालेले पनि कार्यक्रममा सहभागी हुन अपिल गरेको छ । संघका प्रवक्ता पौडेलले ५० हजार नागरिक उतार्ने गरी तयारी भइरहेको बताए । 

प्रदर्शनको प्रचारका लागि संघले बुधबार साँझ काठमाडौं उपत्यकाका ४० भन्दा बढी स्थानमा मसाल जुलुुस तथा दिउँसो ५ हजार स्वयंसेवकलाई मार्च पास गराउने तयारी गरेको छ । प्रदर्शन क्षेत्र परिवर्तन भएपछि पूर्वी बागमतीको जुलुस भक्तपुर क्षेत्रबाट, पश्चिम बागमतीको बालाजु र कलंकी हुँदै ललितपुर क्षेत्रबाट कोटेश्वरमा जम्मा गराएर कम्तीमा ४ घण्टा प्रदर्शन गराउने संघको तयारी छ । प्रदर्शनकारीहरूलाई कम्तीमा २५ हजार रातो टोपी बाँड्ने गरी छपाइएको संघका प्रवक्ता पौडेलले बताए । दुर्गा प्रसाईंले अराजकता फैलाएर गणतन्त्रविरोधी गतिविधि गरिरहेकाले राजद्रोहको मुद्दा लगाउन युवा संघको माग छ । 

यसैबीच, प्रदर्शनीको तयारीका लागि संघले सोमबार काठमाडौंमा अन्तर जिल्ला विशेष प्रदेश कमिटीको भेला आयोजना गरेको छ । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले कम्तीमा एक जिल्लाबाट १ सयजना युवा उपस्थित हुने गरी तयारी गर्न निर्देशन दिएका छन् । प्रदर्शनलगत्तै वित्तीय अराजकता नियन्त्रणका लागि संघले बैंक, सहकारी र लघुवित्तहरूले उठाउने ब्याज नियमनको मुद्दालाई प्राथमिकतासाथ उठाउने गरी तयारी गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाको अनियन्त्रित ब्याजका कारण लगानीको वातावरण बनेन, युवा र व्यवसायीहरू झन्झन् प्रताडित बन्दै गएको अवस्था सत्य हो । त्यसैले यस्तो अराजकता नियन्त्रणलाई प्राथमिकताका साथ मुद्दा बनाएर अगाडि बढ्छौँ,’ संघका प्रवक्ता पौडेलले भने । 

ad
ad