मनाङ प्रहरीले मनाङमा लेक लागेर बिरामी भएका दुईजनालाई उद्धार गरेको छ । लमजुङको दुधपोखरी गाउँपालिका– १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका– ५ घर भएका अन्दाजी ३३ वर्षीय इन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।
इन्जिनियर अधिकारीलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । दुवैजनालाई सवारीसाधन नपुग्ने ठाउँ सदरमुकाम चामेबाट हिँडेर एक दिनको टाढा बाटोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हाल वैकल्पिक ऊर्जा कोष काठमाडौं बानेश्वरमा काम गर्दै आएका इन्जिनियर अधिकारी मनाङको नार्पाभूमि गाउँपालिका– १ नारमा विद्युत् आयोजनाको परीक्षणका लागि आएकोमा उक्त ठाउँ नपुग्दै मेता गुम्बामा लेक लागेर बिरामी परेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मनाङका प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय मनाङमा मालीको काम गर्दै आएका गुरुङ चामे गाउँपालिका– ५, सोतीखोला लेकमा यार्सागुम्बा टिप्न गएकोमा लेक लागेकाे थियाे । उनलाई उद्धार गरी सोमबार मध्यरात सदरमुकाम चामे ल्याएर चामेस्थित जिल्ला अस्पतालमा उपचार गराएको र थप उपचारका लागि बेँसीसहरतर्फ पठाइएको छ ।