प्रतिकूल भिजिबिलिटीका कारण सात दिनदेखि उडान प्रभावित
दैनिक हजारौँ यात्रुको आउजाउ हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सञ्चलन भएको छ । विगत एक सातादेखि कम भिजिबिलिटीका कारण उडानहरू निकै प्रभावित भएको थियो ।
२५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान एक सातापछि आज बिहानदेखि सञ्चालन भएको छ । बुद्ध एयरको काठमाडौंदेखि पोखराको उडान दैनिक १७ रहेको छ । साथै पोखराबाट नेपालगन्ज, भैरहवा तथा भरतपुरको पनि सीधा उडान रहेको छ ।
२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले सात उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन् । २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरी २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन् । मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि पाँच उडान भएको थियो ।
उडान नहुँदा नेपालीका साथै विदेशी यात्रुहरूलाई निकै सकस परेको थियो । आजदेखि उडान सञ्चालन हुँदा पोखराको चहलपहल पुनः बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी बताउँछन् ।