१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार ११:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मानसिक स्वास्थ्यमा सिनेमाको प्रभाव 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:o१:oo

हामीमध्ये धेरैलाई राम्रो फिल्म हेर्न पाउँदा रमाइलो लाग्छ, किनकि यसमा आनन्दित बनाउन सक्ने खुराकहरू हुन्छन् । एउटा वियोगान्त फिल्मले हाम्रा भावनाहरूबाट मुक्त गर्न मद्दत गर्न सक्छ वा कमेडीले हाम्रो मुडलाई राम्रो बनाउन सक्छ । चलचित्रहरूले हाम्रा भावनालाई सुरक्षित तरिकाले जोड्ने मौका पनि दिन सक्छन् ।

चलचित्रहरूले मानव मस्तिष्कमा प्रभाव पार्न सक्ने भएकाले यसलाई थेरापीको औजारका रूपमा प्रयोग गर्न पनि सकिन्छ । विभिन्न अनुसन्धानबारे मैले गरेको अध्ययनले फिल्म थेरापी कठिन भावनाहरूबाट गुज्रिएका मानिसलाई सहयोग गर्न प्रभावकारी छ भन्ने देखाउँछ । यसले मानसिक स्वास्थ्य सुधार्न सक्छ । फिल्मले थेरापीका रूपमा मानिसलाई भावनात्मक रूपमा इन्गेज गराउने मैले पाएको छु । अन्य घटनाक्रमका विषयमा छलफल गर्नभन्दा चलचित्रका पात्रहरूका विषयमा चर्चा गर्दा मानिसले बढी सहज महसुस गर्छन् भन्ने मलाई लाग्छ । 

फिल्मले मानिसलाई जीवनकला सिकाउन पनि सहयोग गर्न सक्छ, किनकि त्यहाँ पात्रहरूले विभिन्न चुनौतीको सामना गरिरहेका हुन्छन् । मेरो बुझाइमा फिल्म थेरापीले अभिभावक र टिनएजरबीचको द्वन्द्व घटाउन सहयोग गर्न सक्छ । यसले उनीहरूबीच भावनात्मक सम्बन्ध र संवाद बढाउन सक्छ । एन्जाइटी कम गर्नका लागि पनि भूमिका खेल्न सक्छ । केही निश्चित समूहका व्यक्तिहरू, उदाहरणका लागि सामाजिक रूपमा कम घुलमिल हुने युवाहरूका लागि फिल्म थेरापी लाभदायी हुने विभिन्न अध्ययनले देखाएका छन् । फिल्म हेरेर उनीहरूले आफ्नो सुदृढ पक्ष पहिचान गर्न र आफ्नो मनोभावना बलियो बनाउन सक्छन् । मानसिक समस्या भएका बिरामीहरूलाई पनि आफ्ना भावना र विचार अभिव्यक्त गर्न फिल्म थेरापीले सघाउँछ । 

एक अध्ययनले सुपर हिरो फिल्म हेर्ने, यसबारे छलफल गर्ने कार्यले सिजोफ्रेनिया भएका युवाहरूलाई आफ्नो सुदृढ पक्ष पहिचान गर्न र उनीहरूले सामना गरिरहेका चुनौती बुझ्न सहयोग पुर्‍याउने निष्कर्ष निकालेको छ । तर, फिल्म थेरापीबारे भर्खरै अध्ययन सुरु भएको छ । आफ्नो भलाइका लागि मानिसकसरी फिल्मसँग जोडिन सक्छन् र फिल्म थोरापीबाट कसले सबैभन्दा धेरै लाभ लिन सक्छ भन्ने विषयमा निरन्तर अनुसन्धान हुन आवश्यक छ । 

चलचित्रले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्छ ?
प्राचीन ग्रिक दार्शनिक अरिस्टोटलले  ग्रिक वियोगान्तहरू पात्रहरूप्रतिको सहानुभूतिमार्फत भावनात्मक शुद्धीकरणको प्रक्रियाबाट बढिरहेको नोट गरेका थिए । फिल्म र टिभी हेर्दा पनि यस्तै महसुस हुन्छ । यसले वास्तविक दुनियाँका गतिविधि अनुभव नगरी भावना महसुस गर्ने र अभिव्यक्त गर्ने सुरक्षित स्पेस दिन्छ । फिल्ममा तस्बिर, कथा, बिम्ब र संगीत हुन्छ । यी सबैबाट थेरापिक फाइदा हुने देखिन्छ । 

अनुसन्धानले फिल्म थेरापी फाइदाजनक हुने देखाए पनि कसरी उत्कृष्ट ढंगले प्रयोग गर्न सकिन्छ भन्नेबारे थोरै मात्र सुझाव दिइएको छ । त्यहीकारण मैले आफ्नो समीक्षापछि फिल्मलाई कसरी थेरापीका रूपमा प्रयोग गर्न सकिन्छ भन्नेबारे एउटा पद्धति विकास गरेकी छु । यसलाई म ‘मुभी मेथड’ भन्छु । माइन्डफुल इन्गेजमेन्ट हेरेपछिको प्रतिक्रिया, आवाजको अनुभव, व्यक्तिगत सान्दर्भिकता पहिचान र नयाँ सम्भावनाहरूको खोजी यसमा समावेश छ । 

फिल्म र टिभी शोहरूसँग आफूलाई सचेत रूपमा अझै बढी कनेक्ट गर्नका लागि सबैले मुभी मेथड प्रयोग गर्न सक्छन् । तर, यदि तपाईं मानसिक स्वास्थ्यसम्बन्धी कठिनाइहरू सामना गरिरहनुभएको छ भने थेरापिस्टसँग परामर्श गर्नु राम्रो हुन्छ । मुभी मेथडको पहिलो कदम तपाईंले कस्तो महसुस गरिरहनुभएको छ र तपाईंले छान्नुभएको फिल्म हेरेर दिन बिताउनु राम्रो हुन्छ कि हुँदैन भन्ने विषयमा सचेततापूर्वक चेक गर्ने हो । फिल्म हेर्दाको सम्भावित प्रभावबारे सोच्नुस् । यदि ठीक छ भन्ने लाग्यो भने फिल्म हेर्दाका आफ्ना विचार, भावना र शारीरिक प्रतिक्रियालाई सचेततापूर्वक ख्याल गर्नुस् । 

फिल्म हेरिसकेपछि आफूले महसुस गरेका भावनाबारे बोल्नुस् वा यसलाई लेख्नुस् । आफ्ना भावनाबारे जिज्ञासु रहनुस्, शरीरमा  तनाव वा आरामजस्ता कुनै भावनात्मक परिवर्तन आएको भए नोटिस गर्नुस् । 

फिल्मले विभिन्न समूह र संस्कृतिको जीवनको झल्को दिन्छ । ती विषय र पात्रहरूलाई कसरी चित्रण गरिएको छ भन्नेबारे आलोचनात्मक रूपमा सोच्नुस् । यसो हुँदा अवास्तविक प्रतिनिधित्व वा एकोहोरो शैलीबाट बच्न सकिन्छ । फिल्मले कसरी तपाईंलाई नयाँ सम्भावना र रणनीतिहरू खोज्न सहयोग गर्छ भन्ने ख्याल गर्नुस् । 

फिल्मका पात्रले कसरी समस्या समाधान गर्छन् र त्यसबाट तपाईंले के सिक्न सक्नुहुन्छ भन्नेबारे सोच्नुस् । फिल्मको कथा र आफ्नो कथाबीचको सम्बन्ध याद गर्नुस् । यो कथालाई तपाईं आफैँ परिवर्तन गरेर लेख्न सक्नुहुन्छ वा सिक्वेल बनाउन सक्नुहुन्छ भन्नेबारे पनि सोच्नुस् । फिल्म थेरापी मेथड प्रयोग गर्दा सचेततापूर्वक यसलाई नियाल्न सहयोग पुग्छ । यससँगै नयाँ कुराहरू सिक्न पनि मिल्छ । 

– द कन्सर्भेसन डटकमबाट

ad
ad