१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३० बिहीबार
  • Saturday, 10 May, 2025
तस्बिर : ह्वाइट हाउस
रासस वुडसाइड
२o८o कार्तिक ३० बिहीबार १४:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाइडेन र सी सैन्य सम्बन्ध पुनर्स्थापित गर्न सहमत

Read Time : < 1 मिनेट
रासस, वुडसाइड
नयाँ पत्रिका
२o८o कार्तिक ३० बिहीबार १४:३o:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा आफूहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनर्स्थापना गर्न सहमत भएका छन्।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उनीहरूले हात मिलाए र ऐतिहासिक क्यालिफोर्निया स्टेटको एक बगैँचामा टहलिए।

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउनेबारेमा पनि सहमति भएको छ।

चीन र ताइवानको ‘पुनः एकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखेका छन्।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन। यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।

यद्यपि, सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली स्टेटमा पत्रकार सम्मेलनमा भने, ‘हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ।’ द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढ रूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेवारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उनले बताए।

बाइडेनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनः स्थापना गर्न ‘आलोचनात्मक रूपमा महत्त्वपूर्ण’ थियो। तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो।

दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)का साथै आगामी महिना दुबईमा हुने कोप– २८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन्।