१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक २४ शुक्रबार १५:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्भवतीको गाउँमै निःशुल्क भिडियो एक्सरे

Read Time : > 1 मिनेट
२०८० कार्तिक २४ शुक्रबार १५:०९:००

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ। 

गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए।

विभिन्न नौवटा संस्थाबाट पालिकाभित्र रहेका एक सय ६० गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उनले बताए। 

भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने प्रमुख भट्टको भनाइ थियो। गाउँपालिकाले एक–एक महिनाको फरकमा गर्भावस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको उनले जानकारी दिए। 

गर्भवती महिला थप भएमा कार्यक्रम तालिकाअनुसार नयाँको पनि गर्भ परीक्षण गर्ने व्यवस्था गरिने प्रमुख भट्टले जानकारी दिए। ‘एउटा महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गर्छौँ,’ उनले भने, ‘लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउँछौँ। पालैपालो महिना बिराएर सेवा दिन सुरु गरेका छौँ।’

एकजना गर्भवती महिलाको कम्तीमा तीनपटक अनिवार्य रूपमा भिडियो एक्सरे गर्नुपर्ने भएकाले सोहीअनुसार सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताइन्। ‘त्यसपछि भने आवश्यकताअनुसार एक्सरे गरिन्छ,’ उनले भनिन्, ‘पहिलो चरणमा सबै वडामा पुगेर गर्भवती महिलाको गर्भावस्थाको एक्सरे जाँच गरी सकिएको छ।’

गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले गाउँपालिकाले गर्भवतीका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क भिडियो एक्सरे जाँच गर्न थालेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। 

प्रोटेबल भिडियो एक्सरे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले सेवा दिँदै आएका उनको भनाइ थियो। गाउँपालिकाले ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु गरेसँगै पालिकाभित्रका गर्भवतीले गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ।