Skip This
क्यानले ५० लाख पुरस्कारसहित खेलाडीलाई सम्मान गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २१ मंगलबार o८:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानले ५० लाख पुरस्कारसहित खेलाडीलाई सम्मान गर्ने

१० वर्षपछि आइसिसी टी–२० विश्वकपमा स्थान सुरक्षित गरेका क्रिकेटरलाई प्रोत्साहन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार o८:५९:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा १० वर्षपछि स्थान बनाएको नेपाली टोलीलाई ५० लाखसहित सम्मान गर्ने भएको छ । क्यानको सोमबार बसेको बैठकले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली टोलीलाई ५० लाखसहित सम्मान गर्ने निर्णय गरेको हो । रोहितकुमार पौडेलको कप्तानीको टोलीका प्रशिक्षकसहित पदाधिकारी पनि यस सम्मानभित्र पर्नेछन् । 

यसै साता त्रिवि र मूलपानीको माथिल्लो मैदानमा भएको टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले फाइनल स्थान सुरक्षित गर्दै सन् २०१४ पछि विश्वकप स्थान पक्का गरेको थियो । गत शुक्रबार मूलपानीमा नेपालले युएईलाई सेमिफाइनलमा आठ विकेटले हराउँदै विश्वकपको टिकट पक्का गरेको थियो । यद्यपि, फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । उपाधि भिडन्तमा नेपालले एक सय ८४ रन बनाएको थियो । 

ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८४ रन नै बनाएपछि खेलको छिनोफानो सुपर ओभरमा पुगेको थियो । छनोट प्रतियोगितामा उदीयमान खेलाडीका रूपमा विवेक यादव देखिए । चोटका कारण दीपेन्द्रसिंह ऐरीले एक खेल पनि खेल्न पाएनन् । एक दशकअघि विश्वकप खेलेका खेलाडीमा सोमपाल कामी र विनोद भण्डारी मात्र वर्तमान टोलीमा छन् । भण्डारी वैकल्पिक खेलाडीमा थिए । सोमपाल नियमित खेलाडीमा रहे ।

 सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको विश्वकपमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० खेलमा हङकङलाई हराएको थियो । त्यसपछि अफगानिस्तानलाई समेत निराश बनाएको नेपाल बंगलादेशसँग पराजित भयो । रनरेटमा नेपाल समूह चरणमा पुग्न सकेन । 

युवा क्रिकेटर पनि पुरस्कृत हुने
क्यानले मलेसियामा भएको एसिसी पुरुष यू–१९ प्रिमियर कप च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार नगदसहिद सम्मान गर्ने जनाएको छ । देव खनालको कप्तानीमा रहेको नेपाल वर्षाले प्रभावित फाइनलमा युएईलाई हराउँदै यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको थियो । यसैगरी, क्यानले जाजरकोटमा गएको भूकम्पमा परेका पीडितहरूको उद्धारमा सहयोग गर्ने घोषणा गरेको छ । घरेलु मैदानमा भएको आइसिसी टी–२० विश्वकप छनोटको फाइनलमा बिक्री भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ । क्यानले फाइनलबाट संकलन भएको रकम सार्वजनिक गरेको छैन । 

महिला टोलीले हङकङमा सिरिज खेल्ने
नेपाली राष्ट्रिय महिला टोलीले हङकङमा आयोजना हुने टी–२० शृंखला खेल्ने भएको छ । क्यानले महिला टोलीलाई १५ देखि १९ नोभेम्बरसम्म चार राष्ट्र सहभागी हुने शृंखलामा सहभागी हुन पठाउने निर्णय गरेको हो । शृंखलामा सहभागी टोलीको भने टुंगो लागेको छैन । महिला टोलीले पछिल्लोपटक आइसिसी टी–२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोट खेलेको थियो । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो ।