मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Saturday, 21 December, 2024
रुकुम पश्चिममा भूकम्पले भत्काएको घरबाट सामान निकाल्दै स्थानीय । तस्बिर : नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
रमेश रावल सुर्खेत
मनीष खड्का रुकुम पश्चिम
२o८o कार्तिक १९ आइतबार o६:२३:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कर्णालीमा भूकम्पको भयानक त्रासदी

Read Time : > 7 मिनेट
टेकराज थामी, काठमाडाैं
रमेश रावल, सुर्खेत
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o६:२३:oo

शनिबार मध्यरातिसम्म १५९ को मृत्यु, ३३७ घाइते, जाजरकोटमा ४ हजार र रुकुम पश्चिममा कम्तीमा २ हजार घर पूर्ण रूपमा ध्वस्त

कहाँ कति मृत्यु ?

जाजरकोट : १००  
रुकुम पश्चिम : ५२
दैलेख : ३  
जुम्ला : ३  
रोल्पा : १

आठ वर्षपछि मुलुकले फेरि एकपटक भूकम्पको भयानक त्रासदी भोगेको छ । मध्यरातको भूकम्पको त्रासदी भोगेको कर्णालीमा सरकारले युद्धस्तरमा उद्धार, उपचार, राहत र पुनस्र्थापना गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ भूकम्पको क्षति बुझ्न, पीडितका पीडा सुन्न, घाइतेको उद्धार र पीडितको राहतका लागि प्रभावित क्षेत्र पुगेर फर्केका छन् । 

गृहका अनुसार भूकम्पबाट शनिबार बेलुकासम्म एक सय ५९ को मृत्यु भइसकेको छ भने तीन सय ३७ घाइते भएका छन् । भूकम्पबाट विस्थापित परिवारको तथ्यांक भने हालसम्म संकलन भइसकेको छैन । प्रहरीका अनुसार हालसम्म पश्चिम रुकुममा कम्तीमा दुई हजार र जाजरकोटमा चार हजार घर पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पबाट भएको धनको क्षति विवरण पनि हालसम्म संकलन भइसकेको छैन । 

जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी मृत्यु भएका परिवारलाई सरकारले तत्काल प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने भएको छ । एकै परिवारको दुईभन्दा धेरै व्यक्तिको मृत्यु भए उक्त परिवारका सदस्यलाई थप एक लाख रुपैयाँ उपलब्ध गराइनेछ । शनिबार प्रभावित क्षेत्रमा गएका प्रधानमन्त्रीले आइतबार बिहानै मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । 

गृह मन्त्रालयले केन्द्रीय राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित क्षेत्र (जाजरकोट र पश्चिम रुकुममा पाँच–पाँच करोड) मा तत्काल १० करोड पठाउने निर्णय लिएको छ । सोही रकमबाट पीडितलाई राहत रकम वितरण गरिनेछ । राहत रकम सम्बन्धित जिल्ला प्रमुख अधिकारीमार्फत एकद्वार प्रणालीअनुसार वितरण गरिनेछ । 

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुुसार भूकम्पका कारण विस्थापित घरपरिवारका सदस्यलाई भने राहतस्वरूप प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । एकै परिवारको पाँचजनाभन्दा धेरै विस्थापित भएको पाइए उक्त परिवारलाई राहतस्वरूप प्रतिपरिवार २० हजार रुपैयाँ रहत रकम उपलब्ध गराइनेछ । 

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले भूकम्पमा परी मृत्यु भएका परिवारका सदस्यलाई प्रतिपरिवार दुई लाख रुपैयाँ र विस्थापित भएका परिवारलाई १५ हजार रुपैयाँ तत्काल उपलब्ध गराइने बताए । ‘अहिलेसम्म एक सय ५७ को मृत्यु भइसको छ । घाइते र विस्थापित हुनेको संख्या पनि उत्तिकै छ,’ उनले भने, ‘मृतकका परिवारलाई दुई लाख रुपैयाँ र विस्थापित परिवारलाई १५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउन रकम पठाउने निर्णय भइसकेको छ । यसका लागि विपत् व्यवस्थापन कोषबाट १० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भूकम्पमा परी मृत्यु भएका र घाइतेको विवरण आए पनि धनको क्षति विवरण संकलन भइनसकेको बताए । ‘भूकम्पमा परी धेरैको ज्यान गएको छ । घाइते हुने र विस्थापित हुनेको संख्या पनि धेरै छ । तर, क्षतिको सम्पूर्ण विवरण आइसकेको छ । अहिलेको पहिलो आवश्यकता उद्धार हो । सुरक्षाकर्मी त्यसैमा केन्द्रित छन् । त्यसो हुँदा क्षतिको सम्पूर्ण विवरण आउन अझै केही दिन लाग्न सक्छ ।’ गृहका सूचना अधिकारी उमाकान्त अधिकारीले बैठकले भूकम्प प्रभावितका विषयमा विभिन्न १२ निर्णय लिएको र सोहीअनुसार क्षेत्रगत जिम्मेवारी तोकिएको बताए । 

बैठकले खोज, उद्धार, राहत तथा उपचारलाई पहिलो प्राथमिकता दिने, घाइतेको तत्काल औषधोपचारका लागि आवश्यक औषधि तथा विशेषज्ञ चिकित्सकसहितका जनशक्ति तत्काल परिचालन गर्ने र उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौंमा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । 

प्राथमिक राहत व्यवस्थापनका लागि खानपान, अस्थायी आवास आवश्यकताका आधारमा तत्काल वितरण गर्ने सहयोगमा एकद्वार प्रणाली अपनाउने, अवरुद्ध सडक तत्काल खुलाउन सडक विभागले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । 

उद्धारमा २४ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन 
भूकम्पमा परी घाइते भएकाको उद्धारका लागि तीनवटै सुरक्षा संयन्त्रबाट दुई हजार चार सयभन्दा धेरै सुरक्षाकर्मी घटनास्थल खटिएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै नेपाली सेनाको सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् । 

सेनाको मात्रै उद्धारका लागि तीनवटा बटालियन खटिएका छन् । एउटा बटालियनमा कम्तीमा तीन सय ५० सुरक्षाकर्मी रहन्छन् । यस आधारमा उद्धारमा सेनाको मात्रै एक हजार ५० सुरक्षाकर्मी खटिएका छन् । 

त्यस्तै, नेपाल प्रहरीको आठ सय ५९ सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । प्रहरीका अनुसार प्राविधिकतर्फ डिआइजी डा. गोपेश्वर ठाकुर र नियमिततर्फ एसएसपी गोपालचन्द्र भट्टराईको कमान्डमा नेपाल प्रहरीको सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरीका सुरक्षाकर्मी भने पाँच सयको संख्यामा खटिएका छन् । उद्धारमा खटिएका अधिकांश सुरक्षाकर्मी चिकित्सक, नर्स तथा नियमिततर्फका अन्य सुरक्षाकर्मी रहेका छन् । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले उद्धारमा खटिएका अधिकांश सुरक्षाकर्मी चिकित्सक, नर्स र नियमिततर्फका अन्य सुरक्षाकर्मी रहेको बताए । ‘भूकम्पमा परी धेरै घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारको आवश्यकता छ । त्यसो हुँदा सुरक्षा निकायबाट चिकित्कसको टोली घटनास्थलमा खटिनु स्वाभाविक हो । बेपत्ताको खोजी अर्को महत्वपूर्ण काम हो । त्यसका लागि अन्य तहका सुरक्षाकर्मी पनि आवश्यकता पर्छ । त्यसका लागि पनि सुरक्षाकर्मी खटिएका छन्,’ उनले भने । 

उद्धारमा सेनाको पाँचवटा हेलिकोप्टर परिचालित 
भूकम्पमा परी घाइेतको उद्धारका लागि सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको छ । जसमध्ये एक स्काई ट्रक छ । बाँकी एमआई–१७ हेलिकोप्टर रहेको छ । घाइतेलाई सोही हेलिकोप्टरबाट सुर्खेत र नेपालगन्जस्थित अस्ताल लैजाने काम भइरहेका छन् । 

आवश्यकता परेको खण्डमा थप सहायता दिन सेनाले अर्को हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको सैनिक प्रवक्ता सहायक रथी भण्डारीले बताए । उनले भने, ‘घाइतेको उद्धारका लागि सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको छ । घाइेतले अस्पतालसम्म लैजाने काम सोही हेलिकोप्टरबाट हुँदै आएको छ । थप आवश्यकता परेको खण्डमा अन्य हेलिकोप्टर पनि परिचालन गर्न सकिनेछ । यसका लागि पनि अन्य हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।’ 

इमर्जेन्सी टेलिकम्युनिकेसन क्लस्टर सक्रिय
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको इमर्जेन्सी टेलिकम्युनिकेसन क्लस्टर (इटिसी)लाई समेत सक्रिय बनाएको छ । सञ्चारमन्त्री रेखा शर्माको आह्वानमा मन्त्रालयमा बसेको बैठकले क्लस्टर सक्रिय बनाउने निर्णय गरेको हो । 

मन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सुरु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको हो । त्यस्तै, सेवा प्रदायकहरूले सेवालाई प्रभावकारी बनाउन सम्पर्क बिन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहनेसमेत निर्णय गरेको छ । बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राविधिकरण, नेपाल टेलिकम, पत्रकार महासंघलगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए ।

रुकुम पश्चिममा एकै वडाका २६ र एकै परिवारका ६ सहित ५२ को निधन
रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको छ । ८० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये ४२ जना आठबिसकोट नगरपालिका र १० जना सानीभेरी गाउँपालिकाका छन् । आठबिसकोटमा मृत्यु हुने ४२ मध्ये २६ जना एकै वडाका छन् । 

मेयर रवि केसीका अनुसार वडा नम्बर १४ मा मात्रै २६ जनाको मृत्यु भएको छ । त्यस्तै, भूकम्पमा परी एकै परिवारका ६ जनाको ज्यान गएको छ । आठबिसकोट– ११ गोइरीकी ३५ वर्षीया शिला कामी, उनका छोरीहरू १३ वर्षीया सिर्जना, नौ वर्षीया रिया, ६ वर्षीया दिया, चार वर्षीया आशा र १८ महिनाकी एलिसाको मृत्यु भएको हो । 

जाजरकोट भूकम्पका १७५ परकम्प 
शुक्रबार मध्यरातिको जाजरकोट भूकम्पपछि त्यस क्षेत्रमा एक सय ७५ परकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्पपछि जाजरको क्षेत्रमा ४.६ म्याग्निच्युडसम्मका एक सय ७५ परकम्प गएका हुन् । जसमध्ये चार म्याग्निच्युडभन्दा माथिका पाँच वटा परकम्प गएका छन् । सबैभन्दा ठूलो परकम्प ४.६ म्याग्निच्युडको गएको छ । तीन म्याग्निच्युडसम्मको भूकम्प केन्द्रबिन्दुनजिक रहेका व्यक्तिले महसुस गर्छन् भने चारभन्दा माथिको भूकम्प टाढासम्म पनि महसुस हुन्छ ।

गोरखा भूकम्पपछि ४ म्याग्निच्युडमाथिका ५०२ भूकम्प 
१२ वैशाख ०७२ मा गोरखाको बारपाकमा केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । यसबीचमा ५० हजारभन्दा धेरै परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसमा पनि चार म्याग्निच्युडभन्दा माथिका ५०२ भूकम्प–परकम्प गएका छन् ।

तीन वर्षमा नेपालमा गएका ६ म्याग्निच्युडभन्दा माथिका भूकम्प 

  • २३ कात्तिक ०७९ : ६.६, डोटी (६ जनाको मृत्यु, आठ घाइते । ४ हजार ६४६ घर पूर्ण क्षतिग्रस्त  
  • १७ कात्तिक ०८० : ६.४, जाजरकोट  
  • ५ कात्तिक ०८० : ६.१, धादिङ (३० घरमा क्षति)  
  • १६ असोज ०८० : ६.३ बझाङ, (एकको मृत्यु, २१ घाइते । ३१४८ घर र एक सय २४ सरकारी भवन पूर्ण क्षति  
  • १५ साउन ०७९ : ६ खोटाङ, (४७५ घरमा क्षति) 
  •  ३१ भदौ ०७७ : ६ सिन्धुपाल्चोक

भूकम्पले छाडेका नमेटिने डोब

गोविन्द पुन जसले सँगै सुतेका दुई वर्षीय छोरा र आडैको कोठामा सुतेका दाइको सिंगो परिवार गुमाए

रात छिप्पिसकेको थियो । घडीको सुईले रातको ११:४७ बजाइसकेको थियो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ चाइनाबगरका २३ वर्षीय गोविन्द पुन जागा नै थिए । मोबाइलमा भिडियो हेर्दाहेर्दै क्षणभरमै अकल्पनीय घटना भयो । ‘एक्कासि पूरै घर हल्लियो । जुरुक्क उठेँ । के भयो भनेर सोच्न नभ्याउँदै घर गल्र्यामगुर्लुम भयो । ठूलो ढुंगा मेरो खुट्टामा बज्रियो, थचक्कै परेँ । श्रीमती भद्रकला र दुई वर्षीय छोरा सिद्धान्त साथमै थिए । घरका काठ, माटो, ढुंगा सबै हामीमाथि खसे । हामी दम्पतीको छातीभन्दा मुनिको भाग च्यापिएको थियो । तर, छोराको भने टाउको जोगिएन,’ घटना सुनाउँदा–सुनाउँदै गोविन्द भक्कानिए, ‘छोरो केहीबेरसम्म मम्मी, मम्मी भन्दै थियो, तर बिस्तारै बोल्नै छाड्यो ।’ भित्रबाट चिच्याउँदा तत्काल उद्धारका लागि कोही आएनन् । आधा घन्टासम्म गुहार मागेपछि स्थानीयले उद्धार गरे । तर, काखैमा सुताएको छोरा गुमाए । 

गोविन्दले छोरा मात्रै गुमाएनन्, दाइको परिवारै गुमाए । घरको माथिल्लो तलामा उनीहरू सुतेको आडैको कोठामा थियो दाइको परिवार । दाइ ३१ वर्षीय धनवीर पुन, उनकी श्रीमती २६ वर्षीया सुम्निमा र आठ वर्षीय छोरा यमराजको देहान्त भयो । ‘हामी दम्पती टाउको जोगिएर बाँचियो । तर, मेरो छोरा, दाइ, भाउजू र भतिजलाई धेरै नै च्यापेछ कि कुन्नि, त्यसलाई थेग्न सक्नुभएन । अलि छिटो उद्धार भएको भए बाँच्नुहुन्थ्यो कि !’ 

६० वर्षीया सरस्वतीले परिवारका चार सदस्य गुमाइन्, भूकम्पले एक्लो पारिदियो बुढेसकाल

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ छेपारीकी सरस्वती जैसीको उमेर ६० वर्ष भयो । एक वर्षअघि श्रीमान् गुमाएकी उनका तीन छोरामध्ये जेठाको केही वर्षअघि नै मृत्यु भइसकेको थियो । दुई छोरा रोजगारीमा भारतमा छन् । घरमा सहारा थिए माहिली बुहारी, दुई नातिनी र एक नाति । तर, उनका यी सबै सहारा भूकम्पले चुँडिदियो । एउटै घरमा सुतेका माहिली बुहारी ३० वर्षीया अमृता जैसी, आठ वर्षीया नातिनी निशा, ६ वर्षीया नातिनी भगवती र डेढ वर्षका नाति दीपेश सबैको निधन भयो । 

‘वृद्धा मान्छेलाई त्यति साह्रो निद्रा लाग्दैन । ठूली नातिनी निशा राति ढिलासम्म मोबाइल चलाइरहेकी थिई । नातिनी सुतेको केही समयपछि भूकम्प आएर एक्कासि घर ढल्यो,’ वृद्धा सरस्वतीले भनिन्, ‘म बाँचेर के गर्नु, लाउँदा–खाँदा उमेरका बुहारी, नाति–नातिना सबैलाई लग्यो । यो उमेरमा टुहुरी बनेँ ।’ सरस्वतीको टाउकोमाथि काठ आएर अडिएकाले चोट लाग्नबाट टाउको जोगिएको थियो । शरीर पुरिएकी उनी चिच्याएपछि स्थानीयले उद्धार गरेका थिए । श्रीमती, छोराछोरी गुमाएका छोरा दीपेन्द्र भारतमा छन् । दीपेन्द्रका कान्छा भाइ धर्मलाल पनि भारतमै छन् । घटनाबारे उनीहरूलाई खबर पुगिसकेको छ । 

‘भूकम्पले हल्लाएपछि निद्राबाट ब्युँझिएर भाग्न खोज्दा घर भत्किएर च्याप्यो’
दिनभरको कामले थकित जाजरकोट भेरी नगरपालिका– ३ खलंगाका ४६ वर्षीय विमल कार्की बेलुकाको खाएर ९:१५ बजेतिर घरको माथिल्लो तलामा सुते । शुक्रबार उनी घरमा एक्लै थिए । राति भूकम्पले घर हल्लाएपछि उनी मस्त निद्राबाट ब्युँझिए । भूकम्पले हल्लाएको थाहा पाएपछि हत्तपत्त बाहिर निस्किँदै थिए, त्यसैवेला घर भत्कियो, उनी च्यापिए ।

‘म ब्युझिँदा निकै नै हल्लाइरहेको थियो । घरमा एक्लै भएकाले धेरै डर लाग्यो । बाहिर निस्किन खोज्दै गर्दा घर भत्किएर च्याप्यो,’ नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत उनले भने, ‘घरभित्रबाट चिच्याएर हारगुहार गरेपछि छिमेकी आएर उद्धार गरे ।’

कार्कीको दाहिने गोडा भाँचिएको छ । छिमेकीले उद्धार गरेपछि पुगेको प्रहरीले उनलाई तत्काल जिल्ला अस्पताल जाजरकोट पुर्‍याएको थियो । तर, जिल्लामा उपचार नहुने भएपछि भेरी अस्पताल रेफर भयो । आफन्तले राति नै २:३० बजे जिल्ला अस्पतालबाट निकालेर शनिबार बिहान ७:०० बजे भेरी अस्पताल पुर्‍याए । 

भेरी अस्पताल पुग्ने जाजरकोट भूकम्पको पहिलो घाइते कार्की नै हुन् । उनी आइपुग्दा भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत अन्य सामाजिक कार्यमा क्रियाशील संघसंस्थाका प्रतिनिधि पुगिसकेका थिए ।

भूकम्प प्रभावित क्षेत्रमा जाने आफन्तलाई काठमाडौं र पोखराबाट नि:शुल्क बस सेवा 
भूकम्प प्रभावित जिल्लामा आफन्त भेट्न तथा उपचार गराउन जानेलाई काठमाडौं र पोखराबाट निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि काठमाडौं र पोखरा बसपार्कबाट आइतबार बिहान ८ः०० बजे दुई बस छुट्नेछन् । ती बसमा घाइतेका आफन्तसँगै स्वास्थ्यकर्मी, उद्धारकर्ता तथा राहत लिएर जानेलाई चढाइनेछ । पहिलो चरणमा दुवै ठाउँबाट एक–एक बस सञ्चालन गर्ने पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रभावित क्षेत्रमा बस सेवा सहज बनाउन आह्वान गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भूकम्प प्रभावित जिल्लामा यातायात सेवा सहज बनाइने बताउँदै केही बसले आइतबारदेखि नै निःशुल्क सेवा दिने बताए ।