१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o५:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वास्थ्य बिमा बोर्ड रित्तै

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:१९:oo

कार्यकारी निर्देशक निलम्बनमा, अध्यक्षसहित सिंगो सञ्चालक समितिकै राजीनामा

सरकारले नै सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्ड सञ्चालक समितिविहीन बनेको छ । बोर्ड सञ्चालक समितिका नेतृत्वदेखि सदस्यसम्म सबैले राजीनामा दिएका छन् भने कार्यकारी निर्देशकलाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ । 

बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले गत माघमै राजीनामा दिएका थिए । नौ महिनादेखि खाली भएको अध्यक्ष पद परिपूर्ति गर्नुको साटो स्वास्थ्य मन्त्रालयले गत २९ असोजमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । डा. बसौलालाई निलम्बन गरेपछि बोर्डका अन्य पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्डका मनोनीत सदस्यहरू डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका हुन् । उनीहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमक्ष राजीनामा बुझाएका हुन् । 

मन्त्रालयले विगत नौ महिनादेखि बोर्डको अध्यक्ष नियुक्त नगरेको, बिमा कार्यक्रम बिथोल्ने मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको भन्दै सदस्यहरूले राजीनामा दिएका हुन् । बोर्डलाई मन्त्रालयले स्वायत्त बन्न नदिएको राजीनामा दिएकामध्येका सदस्य चन्द्रबहादुर थापाले बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई असफल बनाउने प्रयास गरेको उनको आरोप छ । 

स्वास्थ्यमन्त्री बस्नेतले बिमा ऐनविपरीत बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गर्दै एक साताभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको पदाधिकारीले बताएका छन् । बोर्डको प्रमुख पद खाली भएपछि मन्त्रालयले गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको छ । यसअघिका प्रमुख कार्यकारीले कार्यकालको एक वर्ष नपुग्दै राजीनामा दिएपछि मन्त्रालयले डा. उपाध्यायलाई नै कार्यकारी तोकेको थियो । 

त्यस्तै, पाँच  सदस्यले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई मात्र सदस्य छन् । तर, अर्थ मन्त्रालयका प्रतिनिधि लगातार तीन बैठकमा उपस्थित छैनन् । ऐनबमोजिम उनको पद पनि रिक्त छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भने कार्यकारी निर्देशक बसौलाको नियतमै समस्या देखिएकाले निलम्बन गरिएको बताए । ‘उहाँ स्वीकृति नलिई विदेश गएको, बिमाको रकममा अनियमितता र राम्रो काम भएन भनेर गुनासो आए । कतिपयलाई उहाँले पक्षपात पनि गर्नुभएछ । त्यसैले उहाँ निलम्बनमा पर्नुभएको हो,’ उनले भने, ‘यसअघि मन्त्रालयका तर्फबाट मैले सोधेको स्पष्टीकरणमा पनि उहाँले चित्तबुझ्दो जवाफ दिनुभएन । अहिले क्याबिनेटले पनि स्पष्टीकरण सोधेको छ । हामीले छिट्टै नयाँ कार्यकारी निर्देशक राख्ने तयारी पनि गरेका छौँ । हाम्रो मान्छे राख्न वा प्रतिशोध राखेर उहाँलाई निकालिएको हुँदै होइन । उहाँमाथि पूर्ण छानबिन नसकिँदासम्म र नयाँ नियुक्ति नहुँदासम्म यसअघि बोर्ड सदस्य भएर काम गर्नुभएका डा. मदन उपाध्यायलाई कार्यवाहक अधिकार तोकेका छौँ । त्यसैले कार्यालयको काममा र बिमासम्बन्धी काममा समस्या छैन ।’

बोर्डमा सुनियोजित प्रहार
आफ्नो कार्यअवधिमा स्वास्थ्य बिमा कार्यक्रमलाई करिब ७७ जिल्लामै विस्तार गरिएको प्रमुख कार्यकारी डा. बसौलाको दाबी छ । त्यस्तै, अस्पतालहरूको दाबीलाई भुक्तानी गर्ने प्रक्रियालाई छिटो–छरितो गरिएको उनले बताए । त्यस्तै, झुटो दाबी गर्ने अस्पताललाई बोर्डले कालो सूचीमा समेत राखेको छ । साथै, अस्पतालले गर्ने दाबी रकमको प्रमाणीकरणका लागि अनलाइन प्रणालीको सुरुवात गरिएको उनको दाबी छ । 

आफूले राम्रो काम गर्दागर्दै स्पष्टीकरण सोधिएको बसौलाको भनाइ छ । ‘पहिला अस्पतालले झुटो विवरण देखाएर धेरै रकम दाबी गर्ने गरेका रहेछन् । तर, अहिले हामीले पूरै अनलाइन प्रणाली अपनाएका छौँ । जसअनुसार बिमितले उपचार गरेको सबै विवरण र रकम बोर्डको सिस्टममा देखिन्छ,’ उनले भने । 

त्यस्तै, डा. बसौलाले कैदीहरूको बिमा गर्नका लागि कार्यविधिसमेत बनाइसकेको बताए । बिमा गर्न तथ्यांकसमेत लिइसकेको उनको दाबी छ । यसका साथै बिमितबाट संकलन गरिएको रकम बोर्डमा नै जम्मा गर्न कोषको पनि स्थापना गरिएको छ । बजेटमा व्यवस्था गरिएअनुसार अपांग, वृद्ध र गरिबीको रेखामुनि रहेका नागरिकको निःशुल्क बिमासमेत गरिएको उनले दाबी गरे । 

स्वास्थ्य मन्त्रालयले बिमा बोर्डलाई कमजोर बनाएको डा. बसौलाको दाबी छ । ‘बोर्डको सबलीकरणका लागि मैले धेरैपटक मन्त्रालय पुगेर सुझावहरू दिएको छु । तर, कहिल्यै मेरो कुराको सुनुवाइ भएन,’ उनले भने । बसौला २६ कात्तिक ०७७ मा चार वर्षका लागि बोर्डमा प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । 

तर, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बसौलाको नियतमै समस्या देखिएकाले निलम्बन गरिएको बताए । ‘उहाँसँग क्याबिनेटले स्पष्टीकरण सोधेको छ । मैले सोधेको स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ दिनुभएन । उहाँ स्वीकृति नलिई विदेश गएको, बिमाको रकममा अनियमितता र राम्रो काम भएन भनेर गुनासो आए । कतिपयलाई उहाँले पक्षपात पनि गर्नुभएछ । त्यसैले उहाँ निलम्बनमा पर्नुभएको हो,’ मन्त्री बस्नेतले भने, ‘हामीले छिट्टै नयाँ कार्यकारी निर्देशक राख्ने तयारी पनि गरेका छौँ । हाम्रो मान्छे राख्न वा प्रतिशोध राखेर उहाँलाई निकालिएको हुँदै होइन ।’ बसौला नहुँदा कार्यालयको काममा र बिमासम्बन्धी काममा कुनै समस्या नभएको उनले बताए । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कार्यकारी निर्देशक डा. बसौलालाई मन्त्रालयले ४५ दिनअगाडि नै  स्पष्टीकरण मागेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार नै निलम्बन गरिएको हो । ‘डा. बसौलाले नियुक्त हुनुपूर्व मन्त्रालयलाई पेस गरेअनुसार काम गर्न सकेनन् । त्यसैले, मन्त्रालयले ४५ दिनको सूचना दिएर स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण पनि चित्त बुझ्दो भएन,’ उनले भने ।

स्थापना अघिदेखि नै विवादित थियो स्वास्थ्य बिमा बोर्ड 

बोर्ड स्थापनाअघि नै विवादित थियो । बिमा ऐन, २०४९ अनुसार नेपाल बिमा प्राधिकरणबाट अनुमति लिइएको कम्पनी वा संस्थाले मात्रै बिमा नामको प्रयोग गरी बिमा गर्न पाउने व्यवस्था छ । तर, सरकारले सामाजिक सुरक्षाअन्तर्गत यस्ता खालका कार्यक्रम सञ्चालन गर्न सक्ने भन्दै कार्यक्रमको सुरुवात गरेको थियोे भने अनुमति लिएको निजी कम्पनीबाहेक अन्यले बिमा गर्न नपाउने प्राधिकरणको व्याख्या थियो । विवादबीच बोर्ड स्थापना गरियो । सरकारले बर्सेनि स्वास्थ्य बिमा बोर्डका लागि बजेट विनियोजन गर्दै आएको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भन्छन्– कार्यकारी निर्देशकको नियतमै समस्या देखिएर निलम्बन गरिएको हो
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको नियतमा समस्या देखिएकाले निलम्बनमा पर्नुभएको हो । यसबारेमा पूर्ण छानबिन नसकिँदासम्म र नयाँ नियुक्ति नहुँदासम्म यसअघि बोर्ड सदस्य भएर काम गर्नुभएका डा. मदन उपाध्यायलाई कार्यवाहक अधिकार तोकेका छौँ । त्यसैले पनि नियमित काममा समस्या छैन । बसौलासँग क्याबिनेटले स्पष्टीकरण सोधेको छ । मैले सोधेको स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ दिनुभएन । उहाँ स्वीकृति नलिई विदेश गएको, बिमाको रकममा अनियमितता र राम्रो काम भएन भनेर गुनासो आए । कतिपयलाई उहाँले पक्षपात पनि गर्नुभएछ । त्यसैले उहाँ निलम्बनमा पर्नुभएको हो । उहाँ नहुँदा कार्यालयको काममा र बिमासम्बन्धी काममा समस्या छैन । हामीले छिट्टै नयाँ कार्यकारी निर्देशक राख्ने तयारी पनि गरेका छौँ । हाम्रो मान्छे राख्न वा प्रतिशोध राखेर उहाँलाई निकालिएको हुँदै होइन ।

ad
ad