१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Sunday, 22 September, 2024
तिवारी यादव वीरगन्ज
२o८o कार्तिक १६ बिहीबार o९:५२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानाध्यापक स्वर्णकारको हत्यामा संलग्न पाँचजना सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार o९:५२:oo

विवाहेत्तर सम्बन्ध हत्याको मूल कारण रहेको प्रहरीको भनाइ, पीडित परिवारको अस्वीकार

बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न कलैया उपमहानगरपालिकाकी २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, २६ वर्षीय रियाज अन्सारी, भारत मोतीहारी पूर्वी चम्पारनका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्दकुमारलाई सार्वजनिक गरेको हो । राधा गुप्ता स्वर्णकारको हत्याको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । 

विद्यालयका कर्मचारी जामिल र रियाजले घटनामा सहयोगी भूमिका खेलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उनले घटनामा संलग्न रहेका भारतीय नागरिक अभिनवकुमार र चन्दकुमार सुटर समूहका सदस्य रहेको बताए । गोली प्रहार गर्ने चारजना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका चारजना सुटर गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रधानाध्यापक स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । घटनामा धेरै व्यक्ति संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान भएको उनको भनाइ छ । 

स्वर्णकारको हत्या विवाहेत्तर प्रेम सम्बन्ध र रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्‍तासँग प्रेममा रहेको देखिएको उनको भनाइ छ । मनोज पनि विवाहित हुन् । स्वर्णकार र राधाबीच सम्बन्ध देखिएको पाइएको काफ्लेले बताए । उनले त्यही विषयलाई लिएर राधा, मनोज र रूपेशबीच विवाद बढ्दै गएर हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

प्रहरीले सार्वजनिक गरिएकाबाहेक थप पाँचजनालाई नियन्त्रणमा राखे पनि अनुसन्धान प्रक्रियामा रहेकाले सार्वजनिक गरेको छैन । ‘हामीले फरार रहेका अरू सुटरको निगरानी बढाएका छौँ,’ काफ्लेले भने, ‘उनीहरू छिट्टै पक्राउ पर्छन् ।’ अनुसन्धानबाट मुख्य योजनाकार भारतीय नागरिक मनोज गुप्ताले भारु एक लाखको सुपारी सुटरलाई दिएको पाइएको प्रहरीको भनाइ छ । 

प्रहरीको अनुसन्धानमा पीडित परिवारले उठायो प्रश्न
स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यले आरोप लगाएका छन् । प्रहरीले पत्रकार सम्मेलन गरेर स्वर्णकारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घन्टामै पीडित परिवारले आपत्ति जनाएको हो । रूपेशका दाजु सुमोध सर्राफले प्रहरीले भाइको हत्यामा संलग्न नभएका विद्यालयका दुईजना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुक्ति दिन लागेको आरोप लगाए । ‘प्रहरीको अनुसन्धानमा विश्वास छैन । स्वर्णकारले न्याय पाउनुको सट्टा चरित्र हत्या भएको अवस्था छ,’ उनले भने, ‘प्रहरीले घटनाको यथार्थ लुकाउन खोजेको छ ।’ 

रूपेशका दाजु सुमोध सर्राफले प्रहरी र स्थानीय प्रशासनको अनुसन्धानमा शंका र अविश्वास देखाउँदै आठबुँदे असहमति राखेका छन् । जसमा केही दिन पहिले पचरौता नगरपालिकामा भएको घटनामा संलग्न व्यक्तिहरूको नाम तथा मोटरसाइकललाई यो घटनासँग जोडी अन्यत्र मोड्न खोजेको, दिनदहाडै भएको हत्याबाट सिर्जित हुन सक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न अवस्थाबाट मुक्ति पाउन मुद्दालाई अन्यत्र मोड्ने प्रयास भएको, विनाप्रमाण मृतक स्वर्णकारको चरित्र हत्या गरिएको स्वर्णकारको घटनामा प्रहरी र प्रमुख जिल्ला अधिकारीको अभिव्यक्तिमा भिन्नता देखिएकोलगायत उल्लेख छ ।