नर्सरी व्यवसायी संघले फूल तथा बत्तीको पर्व तिहारलाई मध्यनजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’ को आयोजना गर्ने भएको छ । मेला १४ देखि १८ कात्तिकसम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको हो । मेलामा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरूको सक्रिय सहभागिता रहने मेला संयोजक रविनकुमार गौतमले बताए ।
मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री–वितरणका लागि राखिने जनाइएको छ । मेलामा ६० वटा व्यावसायिक स्टल तथा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने आयोजकले जनाएको छ । नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन–अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि मेलाले अवसर उपलब्ध गराउने संघले जनाएको छ ।
मेलामा प्रदर्शकबीच प्रतिस्पर्धा बढाउन प्रदर्शित फूल बिरुवाको प्रस्तुतिको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्यांकन गराई सिल्ड तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिने उल्लेख छ । साथै, लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशील व्यवसायीहरूमध्येबाट एक जनालाई सम्मानपत्रद्वारा सम्मान गरिने आयोजकको भनाइ छ । नर्सरी क्षेत्रमा आयातीत वस्तुको प्रतिस्थापनका लागि बृहत् लगानीबाट उत्पादनमा सक्रिय व्यवसायीमध्येबाट एकजनालाई नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरिने कार्यक्रम रहेको संयोजक गौतमले जानकारी दिए ।
मेला कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ तथा विद्यार्थीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।