१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o कार्तिक १० शुक्रबार o७:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भाेलि खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा के गर्न हुन्छ ? के गर्न हुँदैन?  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार o७:o७:oo

आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।  राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्यसमेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ ।

ग्रहणका वेलामा नित्य र नैमित्तिक कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण ०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए। दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका वेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चन्द्रमासअनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?  

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सुतकका वेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

ग्रहणका वेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका वेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।     
     
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।     
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।     
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।     
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुंगुर भएर जन्मने, सिँगारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा वास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घन्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घन्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्न हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।