१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
हिक्मतसिंह ऐर
२o८१ बैशाख २२ शनिबार १o:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पूर्वी नेपालको समृद्धि कोशी करिडोरमा

कोशी प्रदेशलाई आर्थिक र सामाजिक प्रगतिको बाटोमा लैजान करिडोरका उत्तर–दक्षिण नाका यथाशीघ्र खोल्नुपर्छ

Read Time : > 4 मिनेट
हिक्मतसिंह ऐर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३२:oo

सन् २०१९ मा चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरे । भ्रमणका वेला दुवै पक्षले नेपालका उत्तर–दक्षिणका कोशी आर्थिक करिडोर, गण्डकी करिडोर र कर्णाली आर्थिक करिडोर गरी तीन करिडोरको विकास परियोजना अघि बढाएर रोजगारी सिर्जना गर्ने, स्थानीय जीविकोपार्जनमा सुधार गर्ने तथा आर्थिक वृद्धि र विकासलाई प्रोत्साहित गर्ने घोषणा गरे । 

नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बनाउन सन् २०१७ मा नै नेपालले चीन सरकारको प्रस्तावित बिआरआई सम्झौता स्वीकार गर्‍यो । साथै, सन् २०१८ मा पनि चीनमा भएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोे भ्रमणका वेला भएका सम्झौतामध्ये उत्तरतर्फबाट नेपाल जोड्न पूर्वी नाका संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको तिप्तला नाकाबाट व्यापार हुने व्यवस्था मिलाउने सहमति भएको थियो । 

ट्रान्स हिमालयन मल्टी मोडेल कनेक्टिभिटी सञ्जालको ढाँचामा कनेक्टिभिटी बढाउने, सुक्खा बन्दरगाह, सडक निर्माण एवं विस्तार गर्ने गरी भएको विगतको सम्झौतापत्रबमोजिम कुनै नयाँ परियोजनाको पहलकदमी यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबाट भएन । विकास सहायताभन्दा बढी ऋण सहयोगबाट दीर्र्घकालीन साझेदार बनाउन चाहने चिनियाँ नीतिले पनि नेपाल यसतर्फ अघि नसरेको हुुनुपर्छ । पोखरा विमानस्थल निर्माणार्थ लिएको चिनियाँ ऋण र पाँचवटा हवाईजहाजको बोझले थप पूर्वाधार विकासका लागि ठूलो ऋण लिन सक्ने अवस्था छैन । यस भ्रमणबाट उत्तरतर्फको भूभाग जोड्ने हिल्सादेखि सिमीकोट, हुम्ला सडक निर्माणबाहेक अन्य उत्तर–दक्षिणका आवश्यक नाकासम्म सडक पूर्वाधार निर्माण हुनेबारे कुनै सम्झौता भएको देखिँदैन, जुन आवश्यक थियो ।

किन आवश्यक छ उत्तर–दक्षिण कोशी करिडोरको सडक सञ्जाल ? :  ५० वर्षको इतिहासमा ०२२–२४ देखि सुरु भएको पूर्वी पहाडका जिल्लाबाट तराई बसाइँसराइको शृंखला चलिरहेको छ । औद्योगिक नगरी विराटनगर, झापा र मोरङको उर्वर भूमि, प्रशस्त वनजंगलको सुविधा तथा रोजगारको स्रोतबजार भारतसँग जोडिएका नाकाले पूर्वी पहाडका ११ वटै जिल्लाको जनशक्ति, पुँजी र व्यापारलाई इनारुवादेखि काँकडभिट्टासम्म पलायन गरेको पाइन्छ । 

करिडोरको पूर्ण सञ्चालनपछि आर्थिक रूपले चीन र भारतलाई छोटो दूरीबाट जोड्न सकिन्छ । प्रदेशको राजधानी विराटनगर र वरपरको औद्योगिक क्षेत्रले पनि दुवै ठूला राष्ट्रबाट कच्चा पदार्थ ल्याई दुवै देशमा सामान निर्यात गर्न सक्ने सम्भावना बन्छ । 

भारतजस्तै उत्तरतर्फको छिमेकी मित्रराष्ट्र चीन–तिब्बत हाम्रा लागि महत्वपूर्ण छन् । हिमाली एवं मध्यपहाडी भूभागमा बस्ने जनताको सामाजिक एवं आर्थिक गतिविधि उत्तरी भूभाग तिब्बतसँग परापूर्वकालदेखि नै हुँदै आइरहेको पाइन्छ । चीनतर्फको उत्तरी नाकासँग जोडिएका भञ्ज्याङहरूमध्ये ताप्लेजुङकोे तिप्तला र संखुवासभाको किमाथाङ्का नाका कोभिडअघि दुवै देशले खुला गरेका थिए । तर, विगत तीन वर्षदेखि यी नाका बन्द छन् । यद्यपि, दुवै पक्षको सहमतिपछि दसैँसम्म खुल्ने सम्भावना देखिन्छ ।

प्रमुख उत्तरी नाकामध्ये किमाथाङ्का नाका संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट उत्तर २२४८ मिटरको उचाइमा पर्छ । यस नाकापारि चीनले सन् २०११ मा नै चाइनिज पोस्ट राखी नेपालीलाई आवतजावत गर्न दिने व्यवस्था गरेको थियो । सन् २०१५ मा यस नाकाबाट ७७ सय व्यक्ति आवतजावत भएको रेकर्ड पनि पाइन्छ । विराटरनगरबाट संखुवासभाको खाँदबारी हुँदै किमाथाङ्का नाकासम्मको दूरी ३६२ किमि छ । विराटरनगरबाट खाँदबारी २०० किमिको पक्की रोड छ । खाँदबारीबाट नुम उपत्यकाको गोला, बरुणसम्मको कच्ची मोटरेबल बाटो बनी गाडीहरू चलिरहेका छन् । 

खाँदबारीमा रहेको होटेल आरतीका प्रबन्ध निर्देशक नवीन औलीका अनुसार बरुण नदीमा पुल बन्न बाँकी छ । पुल बनेपछि त गाडीमाथि क्याँमान भन्ने ठाउँसम्म पुगी त्यहाँबाट मात्र १३ किमिमा किमाथाङ्का नाका पुगिन्छ । माथि किमाथाङ्का नाकाबाट तल चेपुवा भन्ने ठाउँसम्म सडकको ट्र्याक खुलिसकेको छ । बीचमा चेपुवादेखि तल चेपुवा भिरमा सडकको ट्र्याक खोल्न ४–५ किमिको काम मात्र बाँकी छ, नेपाली सेना यसमा लागिपरेको छ, यो काम हुनेबित्तिकै किमाथाङ्का नाकासम्म मोटरको बाटो खुल्नेछ । 

सरकारले किमाथाङ्का नाकामा सुक्खा बन्दरगाह बनाउने योजनाअन्तर्गत २०० रोपनी जग्गा अधिग्रहण गरे पनि कामचाहिँ केही भएको छैन । किमाथाङ्का नाकाबाट पारि चीन तिब्बतको साँगा र त्यसपछि चीन–तिब्बतको डिन्गी काउन्टीको ठूलो सहर देनदाङ बजार पर्छ । त्यहाँबाट तिब्बतको राजधानी ल्हासा र ठूलो सहर सिगात्सेको दूरी मात्र ३०० किमि छ । त्यसैले भविष्यमा यो किमाथाङ्का नाका नेपालबाट चीन–तिब्बतको राजधानी एवं प्रमुख सहर जोड्न सक्ने सबैभन्दा छोटो बाटो हुने देखिन्छ ।

किमाथाङ्का क्षेत्र देशको दक्षिणी तराईको भूभागसँग कोशी करिडोरको सडकमार्ग जोडिन्छ । यस करिडोरमा उत्तरी किमाथाङ्का नाकाबाट नुम उपत्यका–खाँदबारी–टुम्ङटार–वसन्तपुर, हिले धनकुटा–धरान–इटहरी हुँदै विराटनगरको नाकाबाट भारतीय नाका जोगबनी जोडिन्छ । यस करिडोरको पूर्ण सञ्चालनपछि आर्थिक रूपले चीन र भारतलाई यो सडक बाटोले छोटो एवं इकोनोमिक रूपमा जोड्न सकिन्छ । प्रदेशको राजधानी विराटनगर र वरपरको औद्योगिक क्षेत्रले पनि दुवै ठूला राष्ट्रबाट कच्चा पदार्थ ल्याई दुवै देशमा सामान निर्यात गर्न सक्ने सम्भावना पनि देखिन्छ । जलविद्युत्को अपार सम्भावना बोकेको अरुण नदीमा अरुण एकदेखि तीनसम्मका ठूला जलविद्युत्का परियोजना सञ्चालनमा छन् ।

पर्यटकीय दृष्टिकोणबाट हेर्दा यस क्षेत्रमा अरुणलगायत सात नदीको सप्तकोशीमा जलयात्राका थप गतिविधि गर्न सकिन्छ । ट्रेकिङका गतिविधिमध्ये नुम उपत्यका हुँदै मकालु वरुण राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय सेदुवाबाट प्रवेश गरी तुसी गाउँ हुँदै पश्चिम ट्रेकिङ गरी मकालु बेसक्याम्प हुँदै नाम्चे, लुक्लासम्म पनि पुग्न सकिन्छ । अर्कोतर्फ, सेदुवाबाट पूर्वतर्फ ट्रेकिङ गर्दा गढीडाँडा, उवा, गोला, बरुण बजार चिपुवा, लिन्गम हुँदै किमाथाङ्का नाका पुगिन्छ । अत्यन्त रमणीय यस क्षेत्रमा जैविक विविधतासँगै सांस्कृतिक रूपमा अनेकौँ किराँती, राई, लिम्बूका बस्ती छन् ।

टुम्लिङटारमा माता मनोकामनाको दर्शन गरी वसन्तपुर, हिले, धनकुटा हुँदै धरान बजार पुगिन्छ । धरान बजारवरपर विजयपुर डाँडामा धार्मिक स्थल र बराहक्षेत्र, रामधुनी, चतरा अर्को महत्वपूर्ण धार्मिक स्थलको सर्किट छ । त्यस्तै, मध्यपहाडी क्षेत्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू हलेसी महादेव, भोजपुर र चैनपुरको सिद्धकाली, मुन्दुम ट्रेलका डाँडा, संखुवासभाको छाँकुटी गुराँसे डाँडा, तेह्रथमको वसन्तपुर, तिनजुरे र गुफापोखरी पनि पुगिन्छ ।

कोशी प्रदेशको मध्यभूभागको पश्चिम घुर्मी–दिक्तेलबाट भोजपुर–हिले, मेग्लुलुड–वसन्तपुर, गणेशचोक चिमेभञ्ज्याङपूर्वसम्म नेपालको मध्यपहाडी लोकमार्ग पनि पर्छ । यस मध्यपहाडी लोकमार्गसँगै ग्रेट हिमालयन ट्रेलको अवधारणामा पदयात्रा पनि हुने गर्छ । पदमार्ग ट्रेकिङमा नयाँ अवधारणाको मुन्दुम ट्रेल पदमार्ग, जुन ट्रेल सिन्धुलीको खुर्कोटबाट, खोटाङको हलेसी महादेवस्थानको दर्शनपछि चखेवाबाट ट्रेकिङ सुरु गरी मैयुङ डाँडा, उत्तरमा धोतरे, हाँस पोखरी हुँदै साँवा गाउँ, भोजपुर पुगिन्छ । भोजपुर सदरमुकामबाट सडकमार्गबाट लेगुवाघाट हुँदै हिले धनकुटापछि कोशी करिडोर सडकमार्गमा जोडिन्छ । यस्ता अनेकौँ अवधारणामा पदमार्गको ट्रेकिङ प्याकेज बनाई, भारतीय, चिनी एवं बंगलादेशी पर्यटकलाई स्थलमार्ग हुँदै उत्तरतिर र दक्षिणतिरबाट ल्याउन सकिने सम्भावना छ ।

पछिल्ला १० वर्षमा कोशीमा पर्यटक सेवा सुविधामा राम्रो प्रगति भई अनेकौँ गन्तव्यहरूका होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा ठूलो लगानी भएको पाइन्छ । विराटनगरका वरिष्ठ पर्यटन व्यवसायी भवेष श्रेष्ठका अनुसार हाल कोशी प्रदेशका प्रमुख गन्तव्यमा लगभग ४५० देखि ५०० सम्म दुईतारेदेखि पाँचतारेसम्मका टुरिस्टस्तरका होटेल छन् । यस करिडोरवरपरको बाटोमा राम्रो खाने–बस्ने व्यवस्था निजी क्षेत्रले गरेको पाइन्छ । 

निजी पर्यटन व्यवसायीले कोशी करिडोरसँग जोडिएका गन्तव्यमा ठूलो लगानी गरेका छन् । अब थप व्यापार र पर्यटकीय गतिविधि प्रोत्साहन गर्न सरकारले यस खण्डको सडक पूर्वाधार बनाउनुपर्छ । गाउँघरको कृषि उत्पादनलाई नेपाल, भारततर्फ र उत्तर चीन–तिब्बतमा दिङ्लाको रुद्राक्ष, बुद्धचित्त आदि महत्वपूर्ण जडीबुटीलाई त्यसको ठूलो बजारसम्म पुर्‍याउन मद्दत पुग्ने देखिन्छ । 

तसर्थ, सम्पूर्ण कोशी प्रदेशलाई आर्थिक र सामाजिक प्रगतिको बाटोमा लैजान कोशी करिडोरका उत्तर–दक्षिण नाकालाई यथाशीघ्र खोल्नुपर्छ । करिडोरमा आवश्यक पर्ने सडक, सुक्खा बन्दरगाह, भन्सारचौकी, सुरक्षा आदि पूर्वाधारको निर्माण आफ्नै स्रोतबाट सम्पन्न गरी सुचारु गर्नुपर्ने देखिन्छ । चीन सरकारले आफ्नो तिब्बततिर गर्नुपर्ने पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको छ । विगतमा पहिलोचोटि अरुण जलविद्युत् परियोजनाको ठेक्का रद्द गरी विद्युत् उत्पादनमा कैयांँ वर्षको समय खेर फालिसकिएको छ । यस करिडोरको पूर्वाधार विकासमा त्यही नियति नदोहोरियोस् । साथै, जतिसक्दो छिटो चीन र भारतलाई सडक मार्गबाट जोड्दै भूजडित राष्ट्रका रूपमा कोशी प्रदेशले नै यस देशको विकासको बाटो खोलोस् ।

(ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्)

ad
ad