श्रमिकलाई क्षतिपूर्ति भुक्तानी गरी काम गर्ने वातावरण बनाउन कम्पनीलाई एमनेस्टीको सुझाव
साउदी अरबमा रहेको अमेजन कम्पनीका गोदाममा काम गर्ने आप्रवासी श्रमिक चरम शोषणमा परेका छन् । एमनेस्टी इन्टरनेसनले गरेको एक अध्ययनले अमेजनका गोदाममा श्रमिक भर्ना गर्ने एजेन्ट र सप्लाई कम्पनीले आप्रवासी श्रमिकलाई शोषण गरेको पाइएको हो ।
एमनेस्टीले ‘डन्ट वरी, इट्स अ ब्रान्च अफ अमेजन’ नामक अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीमा कार्यरत आप्रवासी श्रमिकले आफूमाथि दुर्व्यवहार भएको गुनासो गर्न थालेपछि एमनेस्टीले अध्ययन गरेको थियो । भर्नाका क्रममा उनीहरूमाथि भएको धोका र कार्यस्थलमा उनीहरूले भोगेको शोषणलाई हेर्दा श्रमिकले सहेका दुर्व्यवहार मानव बेचबिखनसरह भएको प्रतिवेदनमा उल्लेख छ ।
‘श्रमिकले अमेजन कम्पनीमा सुनौलो अवसर पाइरहेको ठानेका थिए, तर उनीहरू दुर्व्यवहारको चपेटामा परेका रहेछन् । सयाँै श्रमिकले यस्तो भयवाह दुर्व्यवहार भोग्नुपरेको हुन सक्छ । हामीले अन्तर्वार्ता लिएका धेरैजसोले यति गम्भीर दुर्व्यवहार भोगेका छन् कि त्यो श्रम शोषणकै आधारमा मानव बेचबिखनसरह छ,’ एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने ।
अमेजनले यो भयावह पीडालाई धेरैपहिले नै रोक्न र अन्त्य गर्न सक्थ्यो, तर साउदीका गोदाममा कार्यरत श्रमिकलाई कम्पनीले न्याय दिन सकेन । दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकलाई तुरुन्तै क्षतिपूर्ति दिनुपर्छ र यस्तो अब फेरि कहिल्यै नहुने कुराको सुनिश्चित गर्नुपर्ने उनले बताए ।
यो अध्ययनमा नेपालका २२ जना पुरुष सहभागी भएका छन् । उनीहरूले सन् २०२१ देखि २०२३ को बीचमा रियाद वा जेद्दास्थित अमेजनको गोदाममा काम गरेका थिए । उनीहरूलाई अब्दुल्ला फहाद अल–मुताइरी सपोर्ट सर्भिसेज कम्पनी र बस्माह अल–मुसानादा कम्पनी टेक्निकल सपोर्ट सर्भिसेज सप्लाई कम्पनीद्वारा रोजगारीमा लगाइएको थियो ।
अमेजन आफ्नै नीति वा व्यवसाय र मानव अधिकारसम्बधी संयुक्त राष्ट्रसंघीय मार्गनिर्देशक सिद्धान्तहरूको पालन गर्न असफल भएको छ । अमेजनले श्रमिक शोषण गरी अन्तर्राष्ट्रिय कानुन र मापदण्डले परिभाषित गरेअनुसार मानव बेचबिखनका पीडितहरूको श्रम सेवाबाट लाभान्वित भएको तथ्य प्रतिवेदनले फेला पारेको छ । स्टिभ ककबर्नले अमेजनले शोषित श्रमिकलाई न्याय दिलाई साउदी अरबमा श्रममैत्री वातावरण बनाउनका लागि काम गर्नुपर्ने वेला आएको बताए ।
एमनेस्टीले श्रमिकलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै कार्यस्थलमा काम गर्ने उचित वातावरण तयार पार्न एमनेस्टीले कम्पनीलाई सुझाव दिएको छ । त्यस्तै, अमेजन कम्पनी आफैँले श्रमिक भर्ना गर्नसमेत सुझाव दिइएको छ ।
नेपाली श्रमिकलाई अमेजन कम्पनी भन्दै सप्लाई कम्पनीमा पुर्याइयो
अमेजनका गोदाममा काम गर्नका लागि भनेर अन्तर्वार्ता दिनेमध्ये एकजनाले बाहेक नेपालमा भर्ना गर्ने एजेन्टलाई औसतमा १५ सय अमेरिकी डलर भुक्तानी गरेको पाइएको छ । कतिपयले उक्त भर्ना शुल्क तिर्नका लागि चर्को ब्याजमा ऋण लिएको बताएको प्रतिवेदनमा उल्लेख छ । भर्ना प्रक्रियाका क्रममा एजेन्टहरूले श्रमिकलाई अमेजन कम्पनीले नै सीधै रोजगारी दिने भन्दै श्रमिकलाई झुक्काएको समेत अध्ययनमा उल्लेख छ ।
रोजगारीका लागि साउदी उड्नु केही घन्टाअघि मात्र श्रमिकले करारपत्र र अन्य कागजात प्राप्त भएकोसमेत बताएका छन् । केही श्रमिकलाई भने एजेन्टले अमेजन कम्पनी भनेर सप्लाई कम्पनी पठाउन लागेको शंकासमेत गरेका थिए । तर, भर्ना शुल्क भुक्तानी गरिसकेपछि उनीहरू पनि बाध्य भएर साउदी पुगेका हुन् । साउदी पुगेपछि मात्रै सबै श्रमिक आफू सप्लाई कम्पनीमा परेको थापा पाएका थिए । अन्तर्वार्ता दिनेमध्येका विवेक (नाम परिवर्तन) नामका एकजना युवाले उडानका दिन कम्पनी अर्को हो भनेरसमेत सोधेका थिए । तर, एजेन्टले ‘चिन्ता नगर, यो अमेजनको एउटा शाखा हो’ भनेर आश्वस्त परेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, साउदी अरेब पुगेपछि श्रमिकलाई महिनौँसम्म फोहोर र भिडभाडयुक्त आवासमा राखिएको थियो । कोठामा उडुस नै उडुस भएको श्रमिकले बताएका छन् । सप्लाई कम्पनीहरूले श्रमिकलाई अमेजनका गोदाममा काम गर्न लगाए । तर, श्रमिकले पाउने पारिश्रमिकको निश्चित रकम उनीहरूले नै राख्ने गरेको प्रतिवेदनमा उल्लेख छ । श्रमिकले गोदामहरूमा धेरै गह्रौँ वस्तु उठाउनुपर्ने, कामका लागि टारगेट दिने, निरन्तर निगरानीमा रहेर काम गर्नुपर्ने र पर्याप्त रूपमा आरामसमेत नपाइएको बताएका छन् । यस्तो अवस्थामा काम गर्दा श्रमिकहरू दुर्घटनामा पर्ने र बिरामीसमेत हुने गरेको प्रतिवेदनमा छ । बिरामी हुँदा कम्पनीले बिदा नदिने र दिए पनि पारिश्रमिक काट्ने गरेको पाइएको छ ।
श्रमिकलाई साउदीभित्रै बस्नुपर्ने बाध्यता
साउदी पुगेका सप्लाई श्रमिकलाई सप्लाई कम्पनीहरूले ‘कफला’ प्रणालीले बाँध्ने गरेको प्रतिवेदनमा छ । यस प्रणालीअन्तर्गत श्रमिकहरू रोजगारदाताको अनुमतिबेगर कहीँ जान पाउँदैनन् । रोजगारदाताको अनुमतिविना श्रमिक आफ्नो मुलुकसमेत फर्कन सक्दैनन् । सप्लाई कम्पनीले साउदी पुगेपछि साउदीको नियमअनुसार श्रमिकलाई पहिलो वर्षभित्र रोजगारदाता परिवर्तन गर्नका लागि आवश्यक पर्ने ‘स्थानान्तरण इजाजत’ नदिइएको अध्ययनका क्रममा श्रमिकको भनाइ छ । यस्तो इजाजत नपाएका श्रमिक अनुमतिविना निस्किएमा ‘फरार’ भनी गिरफ्तारीको जोखिम उठाउनुपर्ने व्यवस्था छ । साउदी पुगेका धेरै श्रमिक करार अवधिअघि नै नेपाल फर्कन चाहन्थे, तर सप्लाई कम्पनीले उनीहरूलाई कानुनी रूपमा उपलब्ध गराउनुपर्ने हवाई टिकट र बाहिरिने कागजात उपलब्ध गराएनन् । यसका लागि उल्टो श्रमिकले अमेरिकी डलर १३ सय ३० देखि १६ सयसम्मको ‘जरिवाना’ तिर्नुपर्ने श्रमिकले बताएका छन् ।
अध्ययनमा सहभागीमध्ये एक देव ठाकुर (नाम परिवर्तन)ले केहीले आत्महत्या गर्ने सोच बनाएको बताए । ‘मैले पर्खालबाट हाम फाल्ने प्रयास गरेँ, आत्महत्या गर्ने प्रयास गरेँ । ‘मैले मेरी आमालाई यो कुरा भनेँ र उहाँले हुँदैन, त्यसो नगर, हामी ऋण लिउँला’ भन्नुभयो । आमाले मलाई साउदी पठाउन ऋण लिनुभएको पनि आठ महिना भइसक्योे र ब्याज बढिरहेको छ,’ उनले भने ।
सन् २०२० मा अमेजन सञ्चालनमा आउनुअघि साउदी अरबमा आप्रवासी श्रमिकको जोखिमका बारेमा राम्रो दस्तावेजीकरण गरिएको थियो । सन् २०२१ मा गरिएको अमेजन जोखिम मूल्यांकनमा यसको पहिचान गरिएको थियो । जसको अर्थ कम्पनीलाई साउदी अरबमा श्रमिकमाथि हुने दुर्व्यवहारको उच्च जोखिम रहेको भन्नेबारे थाहा भएको प्रतिवेदनमा उल्लेख छ । साथै, श्रमिकले सन् २०२१ मा अमेजनका कर्मचारीलाई आफूमाथि हुने शोषणका बारेमा गुनासो पनि गरेका थिए । तर, उनीहरूको गुनासोलाई बेवास्ता गरिएको प्रतिवेदनमा उल्लेख छ ।