मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Friday, 20 December, 2024
२o८o असोज २५ बिहीबार o८:३४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोशी प्रदेश : माओवादीलाई मुख्यमन्त्री दिन कांग्रेस लचक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार o८:३४:oo

गठबन्धन बचाउने र मध्यावधि रोक्ने रणनीतिसहित सरकार गठनका सबै विकल्पमा खुला रहेको कांग्रेस कोशीमा माओवादी नेतृत्वको सरकार बनाउन करिब–करिब तयार भएको छ । सत्तागठबन्धनका नेताहरूले कोशीमा माओवादी नेतृत्वमा सरकार गठन गर्न करिब सहमति जुटेको दाबी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २६ असोजभित्र अन्तिम सरकार गठनका लागि प्रदेशप्रमुख परशुराम खापुङले आह्वान गरिसकेका छन् । यस धाराअनुसार बहुमत पुर्‍याउन सक्ने आधार लिएर जाने प्रदेश सभाको जो–कोही सदस्य मुख्यमन्त्रीमा नियुक्त हुनेछ । तर, उसले ३० दिनभित्र विश्वासको मत नपाए प्रदेश मध्यावधितिर जानेछ । 

तत्काल राप्रपा र एमालेको समर्थन जुटाउन कठिन देखेपछि कांग्रेस आफ्नै नेतृत्वको सरकार बनाउने रणनीतिबाट लचक भएको हो । यद्यपि, नेताहरूबीच आलोपालो सरकार सञ्चालनमा जाने विकल्पसहित कांग्रेस माओवादी नेतृत्व स्विकार्न तयार देखिएको बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले माओवादीलाई मुख्यमन्त्री दिने विषयमा गठबन्धनभित्र सकारात्मक छलफल भएको, तर शीर्ष तहमा सहमति हुन बाँकी रहेको बताए । गजुरेलका अनुसार उनले कांग्रेस नेता शेखर कोइराला समूहबाट पनि दाबी रहेको र छलफल जारी रहेको बताए ।

‘माओवादीलाई मुख्यमन्त्री दिने विषयमा गठबन्धनमा सकारात्मक कुराकानी  भएको छ । तर, औपचारिक निर्णय भएको छैन,’ उनले भने, ‘छलफललाई शीर्ष तहको बैठक बसेर बिहीबार साँझसम्म टुंगो लगाउँछौँ,’ उनले भने । गजुरेलका अनुसार कांग्रेसको शेखर कोइराला समूहको पनि मुख्यमन्त्रीमा दाबी छ ।

कोशीमा गठबन्धन तलमाथि भए त्यसको प्रभाव केन्द्रीय राजनीतिमा पर्ने र त्यो पार्टीका लागि प्रतिकूल हुने बुझाइपछि कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी राप्रपासमेत सहभागी गराएर माओवादी नेतृत्वमा सरकार गठन  गर्न सकारात्मक बनेका छन् । देउवानिकट स्रोतका अनुसार पहिलो कार्यकालमा माओवादीका ईन्द्र आङ्बोलाई र दोस्रो चरणमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने तयारी छ । 

देउवाले कोशीमा उद्धार रणनीति अंगीकार गरेर पार्टीमा र राष्ट्रिय राजनीतिमा सम्भावित संकट टार्न चाहेका छन् । तर, इतरसमूहको नेतृत्व गरिरहेका नेता डा. कोइराला भने आफ्नो प्रदेश भएकाले आफूनिकटलाई मुख्यमन्त्री बनाउन लागिपरेका छन् । कोइराला नेता कृष्ण सिटौलानिकट संसदीय दलको नेतासमेत रहेका थापाको विकल्पको खोजीमा छन् । कोइराला एमालेसँग मिलेर भए पनि कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन् । 

हालको आह्वान भएको व्यवस्थाअनुसार सरकार गठन गर्दा संसदीय दलको नेता आवश्यक पर्दैन । जसकारण कांग्रेसमा थापाबाहेकका आकांक्षी पनि देखिएका छन् । बिहीबार केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले धुम्बाराहीस्थित देउवानिवासमा पुगेर आफूलाई मुख्यमन्त्रीका रूपमा अघि सार्न आग्रह गरेका थिए । 

देउवाले भने तत्काल कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको र सरकारको नेतृत्व गर्दा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने बताएका थिए । ‘मैले आफूलाई नै मुख्यमन्त्रीको रूपमा अघि सार्न सभापतिलाई भेटेर प्रस्ताव गरेको थिएँ । तर, कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलको नेतालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताउनुभयो । देशको परिस्थिति र मध्यावधिको सम्भावना हेरेर तत्काल माओवादीलाई नेतृत्व दिने र आलोपालो सरकार सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभयो,’ पराजुलीले भने । 

एक पदाधिकारीका अनुसार पहिलो चरणमा माओवादीलाई कोशीको मुख्यमन्त्री बनाएर दोस्रो चरणमा उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेता कृष्ण सिटौला एकैठाउँमा छन् । उनीहरू कोइरालानिकटलाई मुख्यमन्त्री बनाउन तयार छैनन् । 

कोशीको कोर्समा महत्वपूर्ण मानिएको राप्रपाले दाबी पेस गर्ने अन्तिम दिन मात्रै यसबारे निर्णय गर्ने बताएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सबै विकल्पबारे छलफल भइरहेको र शुक्रबार पदाधिकारी बैठकले निर्णय लिने बताए । ‘हामी सबै विकल्पमा खुला छलफल गरिरहेका छौँ । के गर्ने भन्ने टुंगोमा पुगेका छैनौँ । पदाधिकारीसँग छलफल गरेर अन्तिम निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएका छौँ । शुक्रबार पदाधिकारी बैठक बसेर टुंगोमा पुग्छौँ,’ उनले भने ।

संविधानको धारा १६८ को उपधारा २ र ३ अनुसार चारवटा सरकार गठन भइसकेका छन् । प्रदेशमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एकजना सांसद छन् । जम्मा ९३ जना सांसद रहेको कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद चाहिन्छ । सरकार गठनका लागि चाहिने ४७ सांसद अहिलेको केन्द्रको सत्तागठबन्धनसँग छ । राप्रपाले समर्थन नगरे पनि गठबन्धनको नयाँ सरकार बन्छ । 

शेखर कोइरालाको तीव्र असन्तुष्टि 
आफ्नै प्रदेशमा सरकार बनाउने विषयलाई प्रतिष्ठा बनाएका डा. शेखर कोइराला भने आफ्नै समूहका नेतालाई मुख्यमन्त्री बनाउने दौडमा छन् । उनले कोशीमा आफूनिकट केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । तर, यो सम्भावना कमजोर बनेपछि कोइरालाको असन्तुष्टि देखिएको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवास“ग छुट्टाछुट्टै भेट गरेका छन् । तर, दुवै नेताले कार्कीलाई मुख्यमन्त्री बनाउन सम्भव नरहेको सन्देश दिएका छन् । 

कोइरालाले यसअघि दुईपटक मुख्यमन्त्री बनेका उद्धव थापाको विकल्प खोज्न दौडधुप थालेका थिए । २२ असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गठबन्धनबाटै थापाको विकल्प खोजेर कांग्रेस नेतृत्वमा सरकार बनाउन आग्रह गरेका थिए । कोइरालालाई प्रचण्डले आफू तयार रहेको र सभापति देउवालाई मनाउन भनेका थिए । प्रचण्डसँगको भेटपछि सोही दिन धुम्बाराही पुगेर देउवालाई भेटेका थिए । कोइरालाले थापाको विकल्प खोजेर कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेका थिए । तर, देउवाले कोइरालाको कुरा नै सुन्न चाहेका थिएनन् । यसपटक कोइरालाले महामन्त्री गगन थापाको समेत साथ पाउन सकेनन् । थापासमेत संसदीय दलको नेताको विकल्पको पक्षमा खुलेनन् । पछिल्लो समय कोइराला र महामन्त्री थापाबीच संवादसमेत भएको छैन । कोशी प्रदेशका विषयमा महामन्त्री थापा र कोइरालाबीच कुनै संवाद नभएको स्रोतको भनाइ छ ।  मंगलबार (२३ असोज) मा कोशीकै विषयमा छलफलका लागि देउवाले पदाधिकारी बैठक बोलाएका थिए । पदाधिकारी बैठकमा कोइरालालाई पनि बोलाइएको थियो, तर कोइराला सहभागी भएनन् । पदाधिकारी बैठकले संसदीय दलको नेतालाई नै अघि सारेर कांग्रेस नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकपछि देउवाले दिउँसो १२ बजे कोइरालालाई भेटका लागि बोलाएका थिए । तर, कोइराला आफू नगएर नेता मीनेन्द्र रिजाललाई पठाएर उनीमार्फत आफ्नो अडान र सम्भावित परिदृश्यबारे चेतावनीयुक्त सन्देश सुनाएका थिए । कोइरालाले देउवा र प्रचण्डसँगको भेटमा कोशीमा गठबन्धनको नाममा आफूलाई घेराबन्दी गरिएको र राजनीति समाप्त पार्न खोजिएको भन्दै आफूले सरकार निर्माणमा ‘राजनीतिको अर्को बाटो’ समात्न बाध्य हुने चेतावनी दिएका थिए ।  कोइरालाले आफ्नो पक्षमा ९ सांसद रहेको र एमालेसँग गठबन्धनबाहिरबाटै सरकार बनाउने दाबी गर्ने गरेको उनीनिकट नेताहरू बताउँछन् । ‘कोशीमा यत्रो राजनीतिक परिवर्तन हुँदै छ । गठबन्धनबाटै विकल्प खोजौँ भनेको हो । तर, ममाथि गठबन्धनको नाममा पार्टीभित्र र पार्टीबाहिर घेराबन्दी गर्ने काम भयो । मेरो राजनीति समाप्त गर्ने खेल भयो । राजनीतिमा अर्को बाटो पनि छ । गठबन्धनबाहिरबाट सरकार बनाउन बाध्य नबनाउनुहोस्,’ प्रचण्ड र देउवासँगको भेटमा भएको कोइरालाको भनाइ उद्धृत गर्दैे स्रोतले भन्यो ।