प्राकृतिक चिकित्सा
थेरापीका विभिन्न विधिमध्ये ‘कुञ्जल’ थेरापी पनि एक हो । यो थेरापी अपनाएर पेट सफा गरिन्छ । यो थेरापी अपनाउँदा बान्ता गरिने भएकाले यसलाई ‘भमिटिङ विधि’ पनि भनिन्छ ।
कुञ्जल थेरापी अपनाउँदा सर्वप्रथम एक लिटर मनतातो पानी तयार गरिन्छ । पानी उम्लिएर मनतातो भएको हुनुपर्छ । मनतातो पानीमा एक चम्चा नुन हालेर घोल्नुपर्छ । त्यसपछि बाथरुम वा कुनै हेल्थ क्लबको उपचार कक्ष छनोट गर्नुपर्छ । कोठाको छनोट गरिसकेपछि टुक्रुक्क बस्नुपर्छ । त्यसपछि घोलेर तयार पारिएको नुनपानी पिउन सुरु गर्नुपर्छ । करिब तीन मिनेटसम्ममा घोलिएको नुनपानी पिइसक्नुपर्छ, यसले अन्ननली तथा आमाशयमा मात्रै पानी पुग्न सहयोग मिल्छ ।
टुक्रुक्क बसेर नुनपानी पिउनुको पनि अर्थ छ । टुक्रुक्क बस्दा पेट थिचिन्छ, जसले शरीरमा चाँडै पानी सोसिन पाउँदैन । शरीरले पानी नसोसी अन्ननली तथा आमाशयमा मात्रै पानी पुग्दा भमिटका लागि सहज हुन्छ । यसरी नुनपानी पिउनुको उद्देश्य नै भमिट हो । पानी पिइसकेपछि उठेर हल्का निहुरिएर हात घुँडामा राख्नुपर्छ । त्यसपछि एक हातका औँला मुखभित्र हाल्दै हल्का चलाउनुपर्छ ।
किलकिलेसम्म औँला पुर्याउन सकिन्छ । यसले भमिटको रूपमा अमिलो र तितो पानी तथा विकार तत्व शरीरबाहिर जान्छ । लगातार करिब तीनपटक भमिट गरिसक्दा पिएको नुनपानीसँगै शरीरका विकार तत्व भमिटका माध्यमबाट बाहिर निस्कन्छ । यो प्रक्रिया अपनाउन करिब १५ मिनेट समय लाग्छ । भमिटपछि राम्रोसँग मुख कुल्ला गरेर तरल पदार्थ खानुपर्छ ।
यस्ता छन् फाइदा
- कुञ्जल थेरापी गर्नाले पेटमा आराम मिल्छ । खाना अपच हुने समस्याबाट बच्न सकिन्छ । खाना अपच हुँदा पेटमा अम्लियपनको मात्रा बढ्छ र ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । तर, यो विधि अपनाई भमिटका माध्यमबाट पेटमा भएको अम्लीयपन हटाएपछि ग्यास्ट्रिकको समस्याबाट बच्न सकिन्छ ।
- मुखबाट झुसिलो डकार आउने, अमिलो पानी आउने जस्ता समस्याबाट बच्न सकिन्छ ।
- कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ । त्यति मात्रै हैन, पेट सफा र हल्का भई खानामा रुचिसमेत हुन्छ ।
- पाचन प्रणाली नै स्वस्थ तथा मजबुत हुने भएकाले पेटसम्बन्धी रोगको जोखिम कम हुन्छ । पेट रोगको घर हो । पेट स्वस्थ रहे शरीर नै स्वस्थ रहन ठूलो सहयोग पुग्छ ।