कोभिड महामारीपछि उत्पन्न मन्दीका कारण अहिले समग्र अर्थतन्त्र नै सुस्त बनेको छ । अटोमोबाइल बजार झन् धेरै प्रभावित छ । पछिल्लो समय अवसर खोज्दै बिदेसिने नेपालीको लर्काे देखिन्छ । निजी क्षेत्रमा निराशा छाएको छ । अर्थतन्त्रमा मन्दीको असर, अटोमोबाइलको बजार अवस्था, नेपालमा बजाजको अढाई दशक लामो यात्रालगायत विषयमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छासँग नयाँ पत्रिकाका नवीन अर्यालले गरेको कुराकानी :
कोभिडले थलिएको अर्थतन्त्र तंग्रिन नपाउँदै फेरि मन्दीको मारमा पर्यो । बजारमा माग घटेपछि आर्थिक गतिविधि सुस्त छन् । अटोमोबाइलको बजार कस्तो छ ?
अहिले अटोमोबाइलको बजार अत्यन्तै शिथिल छ । मन्दी लम्बिँदा अधिकांश व्यवसाय तंग्रिन सकेको छैन । यति खराब स्थिति महसुस गरिएकै थिएन । भूकम्प र नाकाबन्दीमा पनि बजार थलिएको थियो, तर केही समयमै लयमा फर्कियो । कोभिड महामारीले थला परेको बजार पनि तंग्रिन थालिसकेको थियो । तर, मन्दीले लामै समय प्रभावित गर्यो । यदि मन्दी सिर्जना हुँदैनथ्यो भने कोभिडपछि अर्थतन्त्र लयमा फर्किसकेको हुन्थ्यो ।
बीचमा विदेशी मुद्रा सञ्चिती घटेको भन्दै सवारीसाधन आयातमै रोक लगाइयो । यसबीचमा मन्दीले धेरै सोरुम तथा सर्भिस सेन्टर नै बन्द भए । व्यवसायी पनि पलायन भए । मलाई लाग्छ, त्यो समस्या अहिले समाधान भइसकेको छ । बैंकमा तरलता बढ्दै छ, ब्याजदर घट्दै छ । बैंकले सस्तो ब्याजदरका कर्जा योजना ल्याउन थालेका छन् । तर पनि अटोमोबाइल बजार सोचेजति लयमा फर्किन सकेको छैन । चारपांग्रे इभीमा राम्रै आकर्षण देखिन थालेको छ । अब दसैँ–तिहारले समग्र बजारलाई लयमा फर्काउने अपेक्षा छ ।
कोभिडलगत्तै दुईपांग्रेको व्यापार ह्वात्तै बढेको थियो । तर, अहिले मोटरसाइकल व्यापार सुस्ताएको देखिन्छ नि !
एउटा कारण महामन्दी नै हो । अर्को कारण धेरै मान्छे बिदेसिनु हो । अहिले मोटरसाइकल चढ्ने वर्ग धमाधम पलायन भइरहेको छ । विद्यार्थी भिसामा होस् वा वर्किङ भिसामा, पछिल्लो समय नेपालबाट बिदेसिनेको लर्को नै देखिन्छ । प्लस टु पास गर्नेबित्तिकै पढ्न विदेश जानुपर्छ भन्ने ट्रेन्ड देखियो । कोभिड र मन्दीले व्यापार व्यवसाय चौपट हुनेहरू पनि बिदेसिए । अवसरको खोजी गर्दै बिदेसिनेहरू बढ्दा समग्रमा बजार माग नै घटेको मेरो बुझाइ छ ।
अब देशमा अवसर सिर्जना गर्नुपर्छ । युवालाई देशप्रति आशा एवं विश्वास जगाउनुपर्छ । नत्र बिदेसिने क्रम रोकिनेछैन । नेपालमा स्टार्टअप फस्टाउन सकेन, जसकारण स्वदेशमै केही गर्नुपर्छ भन्ने युवा उद्यमीहरू पनि बाहिरिन थाले । अहिले आमनागरिकमा ‘धेरै निराशा’ देखिन्छ । मान्छेमा देशप्रति फ्रस्टेसन आउन दिनुहुँदैन । हाम्रो देश रेमिट्यान्सले चलेको छ । वैदेशिक रोजगारीमा जानै रोक्ने भन्ने पनि होइन । तर, अहिले जुन रेसियोमा बढेको छ, त्यसलाई रोक्नुपर्छ । विदेशमा पढेर फर्किने वातावरण बनाउनुपर्छ ।
यति खराब स्थिति यसअघि भोगेको वा महसुस गरेकै थिएनौँ । जबसम्म बजारमा माग सिर्जना हुँदैन, अर्थतन्त्रले पनि गति लिने देखिन्न ।
नेपालमा ‘पावर सेगमेन्ट’का बाइक किन्ने १२ पास गर्ने युवाहरू हुन् । मोटरसाइकल चढ्ने विद्यार्थी, कर्मचारी, व्यापारी र युवा हुन् । नेपालमा मोटरसाइकलको व्यापार बढाउन पनि विदेशबाट पठाउने रेमिट्यान्सको भूमिका ठूलो रहेको नकार्न सकिँदैन । तर, अहिले पढ्न र रोजगारी गर्न बाहिरिनेहरू बढ्दा फेरि मोटरसाइकल बिक्री घटेको छ । पछिल्लो समय अटोको बजार पनि ‘बाउन्स ब्याक’ हुँदै छ । यहीबीचमा ८० प्रतिशतसम्म घटेको दुईपांग्रेको व्यापार अहिले बढेर ५० प्रतिशतमा फर्किसकेको छ ।
मन्दीकै बीचमा आयोजना गरिएको ‘नाडा अटो सो’ले अटोमोबाइल क्षेत्रमा कत्तिको आशा जगाउने काम गर्यो ?
नाडा अटो सो उपयुक्त समयमा आयोजना भयो । दर्शक पनि सोचेभन्दा धेरै आउनुभयो । अझ इभी फोर ह्विलरका लागि अटो सो झनै लाभदायक भयो । नाडामा आइसी इन्जिनभन्दा विद्युतीय कारमा धेरै चासो देखिन्थ्यो । दुईपांग्रेका स्टलले पनि दर्शक तानेका थिए । नाडामा देखिएको भिडले पक्कै पनि अटोमोबाइल क्षेत्रलाई बुस्ट गर्न सहयोग गर्नेछ । नाडाले थला परेको मार्केटमा आशा जगाउने काम गरेको छ ।
बजाज नेपाल भित्रिएको २५ वर्ष पूरा भएको छ । र, देशकै अग्रणी दुईपांग्रे ब्रान्डका रूपमा पनि स्थापित भयो । अहिले अटोमोबाइल बजारमा बजाजको उपस्थिति कुन स्थानमा छ ?
नेपालमा सन् १९९८ मा बजाज भित्र्याएका हौँ । अहिले मोटरसाइकल सेगमेन्टमा बजाजको हिस्सा ४२–४३ प्रतिशत छ । बजाज यसरी सफल हुनुको मुख्य कारण उत्कृष्ट ‘प्रडक्ट’ हो । पल्सर सेगमेन्ट निकै लोकप्रिय बन्यो । उत्कृष्ट प्रडक्ट, दर्जनभन्दा बढी भेराइटी र बिक्रीपछिको उत्कृष्ट सेवाकै कारण बजाज पहिलो रोजाइको बाइक बनेको हो । प्रडक्ट मात्र राम्रो भएर पनि पुग्दैन, बिक्रीपछिको सेवा पनि उत्तिकै राम्रो हुनुपर्छ । त्यसैले सुरुदेखि नै पूर्वाधारमा धेरै खर्च गर्यौँ । आज देशैभर बजाजको सोरुम र सर्भिस सेन्टर देख्नुहुन्छ । गाउँगाउँमा बजाजको लोगो देख्न पाइन्छ ।
बजाजका सोरुम र वर्कसप छिर्नेबित्तिकै फरक अनुभूति गर्नुहुन्छ । सर्भिस सेन्टरहरू अत्याधुनिक प्रविधियुक्त छन् । हामीले कम्पनीको जेन्युइन पार्टपुर्जा महँगो हुन्छ, लोकल पार्टपुर्जा सस्तो हुन्छ भन्ने उपभोक्ताको बुझाइलाई गलत साबित गर्यौँ । हामीले जेन्युइन पार्टपुर्जा नै सुपथ मूल्यमा उपलब्ध गरायौँ । बजाजका करिब डेढ दर्जन भेरियन्ट छन्, जुन सुपथ मूल्यमा ग्राहकले चढ्न पाउनुभएको छ । जसकारण बजाज देशकै अब्बल ब्रान्ड साबित भयो ।
अहिले बजाजसँग कस्ता–कस्ता बाइक उपलब्ध छन् ? नेपालमा बजाजको पल्सर सिरिज लोकप्रिय हुनुको राज के हो ?
सुरुवातमा कावासाकी बजाज हुन्थ्यो । कावासाकी बजाज ‘फोरएस च्याम्पियन’ नेपालीमाझ लोकप्रिय बन्यो । पछि क्यालिबरले बजार लियो । त्यसवेला स्कुटर पनि थियो । जब सन् २००२ मा पल्सर सिरिज सार्वजनिक भयो, बजाजका लागि स्वर्णिम दिन सुरु भए । बजाजका लागि पल्सर ‘गेम चेन्जर’ नै बन्यो । सुरुमा पल्सर १५० र पल्सर १८० लन्च गरिएको थियो । अहिले आधा दर्जनभन्दा बढी पल्सरकै भेरियन्ट छन् । एभेन्जर र डोमिनारले पनि राम्रै बजार पायो । ‘प्लाटिना’ राम्रो माइलेज दिने बाइक हो, जुन गाउँगाउँसम्म पनि लोकप्रिय बन्यो । ग्राहकले डिस्कभर पनि अत्यधिक रुचाए ।
मलाई लाग्छ, पल्सरले पूरै मोटरसाइकल उद्योगको डाइनामिक नै चेन्ज गरेको थियो । त्यसअघि मोटरसाइकल एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने ‘प्योर युटिलिटी’ थियो । पल्सरले रोमान्स र एडभेन्चर पनि थपिदियो । आजका युवाले अलिअलि स्पोर्टी र अलिअलि पावरफुल मोटरसाइकल खोज्छन्, त्यो ट्रेन्ड नै पल्सरले बसाएको हो । पल्सर–२२० सुपथ मूल्यमा स्पोर्टी बाइक खोज्नेलाई गतिलो विकल्प बन्यो । माइलेज पनि दिने र पावरफुल पनि । गाउँका दूरदराजसम्म पल्सर–२२० कुदेको भेटिन्छ । पल्सर ग्राहकको माग र अपेक्षाबमोजिम परिमार्जन पनि हुँदै गयो । यो सबै वर्ग, उमेरका लागि ठीक साबित भयो । जसले गर्दा ग्राहकको मनमा बसिरहन सक्यो ।
मन्दीले दुईपांग्रेको व्यापार ८० प्रतिशतसम्म घटेको थियो, जुन रिकभरी हुँदै ५० प्रतिशतसम्म ब्याक भएको छ ।
पल्सर नेपालको टेरेनका लागि पर्फेक्ट बाइक हो । पहाडी भेगमा पावर चाहिन्छ, त्यो पल्सरमा छ । यो सस्तो पनि छ । आकर्षक लुक्स पनि छ । १५० सिसीमा पल्सरजत्तिको अफर्डेबल अरू छैनन् । २२० मा पनि बजाज मात्र होला । अरू सेगमेन्टमा पनि हाम्रो मूल्यसँग कसैले पनि प्रतिस्पर्धा गर्दैनन् । बजाजले बेस्ट मूल्य दिएको हुँदा सबैको रोजाइमा पर्दै आएको छ । पल्सरको रिसेल भ्यालु पनि राम्रो छ । हरेक रिसेल सोरुममा सबैभन्दा अगाडि र सबैभन्दा धेरै पल्सर देखिन्छ । यसले पनि बजाजको रिसेल भ्यालु कति छ भनेर देखाउँछ ।
हाम्रो आफ्नै ‘हुलास फिन सर्भिस प्रालि’ फाइनान्स कम्पनी छ । जसले शून्य प्रतिशत ब्याजदरमै फाइनान्स सुविधा दिएको छ । ५० प्रतिशत डाउन पेमेन्ट गरेमा शून्य प्रतिशत ब्याजमै फाइनान्सको सुविधा पाइन्छ । तर, न्यूनतम २५ प्रतिशत डाउन पेमेन्ट गरेमा फाइनान्सको सुविधा लिँदा ब्याज तिर्नुपर्ने हुन्छ । यहाँ विनाझन्झट तत्कालै सेवा पाइन्छ ।
पल्सरका धेरै रेन्ज छन् । १२५ देखि २२० सिसीसम्म १० वटा भेरियन्ट छन् । भर्खर एन सिरिज पनि बजारमा आएको छ । एनएस सिरिज युवालाई तार्गेट गरेर ल्याइएको हो । हरेक खालका ग्राहकलाई समेट्ने गरी पल्सरका भेरियन्ट उपलब्ध छन् । डोमिनार फोर हन्ड्रेड प्रिमियम मोडेल हो । बजाजका सबै गरी १७ मोडेल छन् । यो हाम्रो सबैभन्दा बलियो पक्ष हो ।
अहिलेसम्म कतिवटा बजाज बाइक बिक्री भयो ?
अढाई दशकको दौरानमा नेपालमा आठ लाख बजाज बाइक बिक्री भए । जसमा ६५–७० प्रतिशत हिस्सा पल्सरको होला ।
थ्रिएस सुविधासहित देशभर बजाजको बलियो नेटवर्क रहेको बताउनुभयो । अहिले कति डिलर र सर्भिस सेन्टर पु¥याउनुभयो ?
बजाजका देशभर सेल्स, सर्भिस र स्पेयर्स (थ्रिएस) सुविधायुक्त डिलर एक सय १० पुगेको छ । सहरी क्षेत्रमा जताततै बजाजको नेटवर्क छ । एक सय ८६ अथोराइज्ड सर्भिस सेन्टर छन्, जहाँ सर्भिस र स्पेयर्स सुुविधा उपलब्ध छ । बजाज चढेर लामो दूरी वा दूरदराजमा पुग्दा पनि कहिल्यै चिन्ता लिनुपर्दैन । किनभने, हाम्रो सर्भिस सेन्टर जहाँतहीँ छन् । राजमार्गमा हरेक २५–३० किलोमिटर दूरीमा सर्भिस सेन्टर वा आउटलेट भेटिन्छन् । त्यहाँ बजाजको जेन्युइन पार्टपुर्जा पाइन्छन् । जोमसोममा पनि बजाजको सोरुम छ । लोमान्थाङ राइडमा जानेलाई तार्गेट गरेर त्यहाँ वर्कसप पनि खोलिएको छ । जुम्ला, हुम्लामा पनि थ्रिएस सुविधायुक्त सेवा उपलब्ध छ । हरेक दुर्गम क्षेत्रमा हाम्रो सर्भिस सेन्टर छ ।
पछिल्लो समय स्कुटरमा बढी क्रेज देखिन थालेको छ । तर, बजाजले स्कुटर ल्याउन सकेन, किन ?
स्कुटर भइदिएको भए धेरै राम्रो हुन्थ्यो । तर, हामीसँग स्कुटर नहुनाले नै मोटरसाइकलमा यति धेरै फोकस हुन सकिएको हो । बजाजलाई नम्बर वान बनाइरहन सक्यौँ । स्कुटर पनि भइदिएको भए आज पल्सर यति धेरै सक्सेस नहुन पनि सक्थ्यो । हाम्रो पूरै नेटवर्क नै पल्सरको ब्रान्ड बिल्डिङमा लाग्न पायो । अब हाम्रो पनि इलेक्ट्रिक स्कुटर चेतक आउँदै छ । यसले पक्कै मार्केट बढाउला । ग्राहक इभीमा आकर्षित हुन पनि थालेका छन् । तर, अझै चारपांग्रे इभीमा जति दुईपांग्रेमा आकर्षण देखिन्न । दुईपांग्रे इभीमा ह्विम आउन अझै बाँकी छ । फोर ह्विलरतर्फ इभी र आइसी इन्जिनमा करको ग्याप जति धेरै छ, टु ह्विलरमा त्यति छैन । त्यसैले मूल्यमा धेरै फरक पाउनुहुन्न । हाम्रो पनि इभी स्कुटर आउँदै छ । अझै टु ह्विलरमा कुनै इभी ब्रान्डले विश्वासिलो वातावरण बनाउन सकेको छैन । चार्जिङ पूर्वाधारमा ठूलो लगानी गर्नुपर्छ । आफ्टर सेल्स सर्भिस, रिसेल भ्यालु, ब्याट्रीको स्टाटसले भविष्य निर्धारण गर्नुपर्छ ।बजाज बाइक स्वदेशमै एसेम्बल हुन थालेको छ ।
नेपालमै एसेम्बल गर्दाको फाइदा के हुने रहेछ ?
हामीले देशमै पहिलो दुईपांग्रे एसेम्बली प्लान्ट सञ्चालनमा ल्यायौँ, जुन देशकै लागि पनि गर्वको विषय हो । प्लान्टमा दुई सयजनाले रोजगारी पाएका छन्, जसमध्ये डेढ सय इन्जिनियर मात्र कार्यरत छन् । यो सिकेडी एसेम्बली प्लान्ट हो । यसले बजाजको बिजनेसमा स्टेबिलिटी ल्याएको छ भने रोजगारी सिर्जना गरेर देशका लागि पनि योगदान दिएको छ । हामीले प्लान्ट सुरु गरेपछि अरू पनि धमाधम आइरहेका छन् ।
नेपालमा एसेम्बल भएको भन्नेबित्तिकै नाक खुम्च्याउने जमात पनि थियो होला । कसरी विश्वास दिलाउनुभयो ?
सुरुमा त्यस्तो पनि थियो । गुणस्तर नहोला कि भन्ने डर देखिन्थ्यो । हामीले बाइक उत्पादन गरेको होइन, एसेम्बल गर्ने हो । सबै टेस्टेड पार्टपुर्जा आयात गरिन्छ । हामी सेफ्टीमा कुनै सम्झौता गर्दैनौँ । हामीले गुणस्तरीय उत्पादन बनाएर उपभोक्ताको विश्वास जित्यौँ ।
एसेम्बल उद्योगलाई लोकलाइज गर्नेतर्फ के सोचिरहनुभएको छ ?
त्यो नेक्स स्टेप हो । सबै पार्टपुर्जा ल्याएर जडान गर्दा धेरै फाइदा हुन्न । त्यही भएर एसेम्बल उद्योगीहरू पनि छलफलमा छौँ । दुई–तीन कम्पनीलाई पार्टपुर्जा आपूर्ति गर्ने गरी सपोर्टेड उद्योग खोल्ने हो कि भन्ने छलफल गर्दै छौँ । अहिले मन्दीका कारण अगाडि बढ्न नसकेको हो । मन्दी हटेर बजार चलायमान हुनेबित्तिकै यसतर्फ पनि ध्यान दिनेछौँ । स्वदेशमै टायर, सिट, पेन्ट सप, प्लास्टिक मोडलिङ, वायर, स्ट्यान्ड, ह्यान्डिल, लेगगार्ड, ब्याट्री यहीँ उत्पादन गर्न सकिन्छ । टायर, ब्याट्रीलगायत यहीँ उत्पादन पनि सुरु भइसकेका छन् । यी सबै स्वदेशमै उत्पादन गर्न सकेमा २० प्रतिशतसम्म भ्यालु एडिसन गर्न सकिन्छ ।
अन्त्यमा...
स्वदेशमै अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्र हातेमालो गर्नुपर्छ । निजी क्षेत्रलाई उद्योग व्यवसाय खोल्न र रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्नुपर्छ । अहिले अर्थतन्त्रका अरु प्यारामिटर रिभाइभ हुँदैछन् । तर, जबसम्म माग सिर्जना हुँदैन, तबसम्म अर्थतन्त्र लयमा फर्किन कठिन हुन्छ । करको नीति पनि स्थिर हुनुपर्छ । कम्तिमा पाँचदेखि १० वर्षको रोडम्याप हुनुपर्छ ।
मेरो युवाहरुसँग आग्रह छ, देशमै प्रशस्त सम्भवनाहरु छन् । यहीँ अवसर खोज्नुहोला । विदेश पढ्न गएपनि ज्ञान र सिप हासिल गरेर स्वदेशमै फर्किनुहोला । विदेशमा सिकेको ज्ञान र सिप देशमै प्रयोग गर्नुपर्छ ।