मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २२ सोमबार
  • Thursday, 19 December, 2024
समाचार डिजिटल संस्करण

निष्कासित छात्राहरूलाई कक्षामा फर्काउन माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २२ सोमबार १४:४२:oo

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयले निर्णयविपरीत निष्कासित १२ छात्रालाई कक्षामा ल्याउन आग्रह गरिएको छ।

अन्तरविद्यालस्तरीय फुटबलमा छात्र र छात्रा दुवैमा सहभागिता जनाएको चन्दननाथ माध्यमिक विद्यालयले असोज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरूविरुद्धको सेमिफाइनल खेलको थियो। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडी मैदान छोडेर हिँडेका थिए।

पछि विद्यालयले विज्ञप्ति निकालेर एन्फाबाट अन्यायमा पारिएको भन्दै छात्राहरूसमेतलाई फाइनल खेलमा नपठाउने निर्णय गरेको थियो। 

विद्यालयको निर्णयविपरीत छात्रा विद्यार्थीले फाइनल खेलेपछि निष्कासन गरेको थियो। तर, विवादअगाडि नै फाइनलमा पुगिसकेका हुनाले पनि खेल्ने चाहना बढेको सहभागी छात्रा खेलाडीको सामूहिक स्वर थियो।

विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई सम्मान गरी तत्काल कारबाही फिर्ता गर्न विद्यालयलाई आग्रह गर्ने  विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र एन्फा प्रतिनिधि बैठक बसेर निर्णय गरिएको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए।

‘हामीले निष्कासनमा परेका छात्राहरूलाई पुनः स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइदिन स्कुललाई आग्रह गरेका छौँ,’ उनले भने, ‘सामान्य गल्ती–कमीकमजोरीमा यति ठूलो सजाय  उपयुक्त नहुने हुँदा हामीले सबैले एकमतले निर्णय सच्याउन आग्रह गरेका हौँ।’

विद्यार्थीलाई कक्षाकोठामा फर्काउने गरी विद्यार्थी, अभिभावक, शिक्षक,  स्वतन्त्र विद्यार्थी युनियन, विद्यालय व्यवस्थापन समितिले शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाको निर्णयलाई सदर गर्ने निर्णय गरेको जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेश हमालले बताए।

उनले भने, ‘निर्वाध रूपमा सकारात्मक वातावरण सिर्जना गरेर निर्णय भएको छ। अब विद्यार्थी पढ्न पाउने भएका छन्। यो हामी सबैका निम्ति खुसीको कुरा हो।’ 

सोमबार विद्यालय व्यवस्थापन समिति, वडाध्यक्ष, निष्कासनमा परेका विद्यार्थी, विद्यार्थी नेताहरू बसेर निष्कासनमा परेका छात्राहरूलाई कक्षाकोठामा फर्कने वातावरण मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण रोकायाले बताए।

‘स्कुलको निर्णय आवेगमा भएको हुँदा थोरै अपरिपक्व भयो। त्यसैले सच्याउनुपरेको हो,’ उनले भने, ‘अब विद्यार्थी नियमित रूपमा पढ्न पाउनेछन्। विद्यार्थी भाइबहिनीले अनुशासन कायम राखेर पठनपाठनको वातावरण मिलाउनुहुनेमा विस्वस्त छु।’ 

जुम्ला जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा भएको अन्तरविद्यालयस्तरीय अन्डर-१६ प्रतियोगिताको फाइनल खेलेको भन्दै छात्रा विद्यार्थीहरूलाई विद्यालयले निष्कासन गरेकाे थियो।