भारतबाट नेपाल आउने हात्तीको झुन्डले सधैँजसो मेचीनगरको साबिक बाहुनडाँगी (हाल मेचीनगर वडा नम्बर १, २, ३, ४, ५) का तीन हजार बिघा खेतमा लगाइएका बाली खान्छ, कुल्चिन्छ । त्यही भएर यहाँका बासिन्दा हात्ती रुँग्न रातभर जाग्राम बस्छन्
हात्तीबाट हुने क्षतिको क्षतिपूर्ति कति ?
- वन्यजन्यु भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार हात्ती मानव बस्तीमा प्रवेश गरी नेपाली नागरिकको मृत्यु भएमा : हकवालालाई १० लाख
- घाइते भएमा : २० हजारसम्म
- गम्भीर घाइते भएमा : दुई लाखसम्म (तर, औषधि उपचारमा दुई लाखभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको खर्च र त्सपछि सरकारी अस्पतालमा उपचार गराउदा लागेको सम्पूर्ण खर्च)
- अंगभंग भई शारीरिक रूपमा अशक्ति भएमा : एकमुस्ट पाँच लाख
- खेतको खाद्यान्न बालीमा क्षति पुगेमा खेतीको क्षेत्रफल र प्रकृति हेरेर बढीमा १० हजार उपलब्ध गराइन्छ । तर, एक मौसममा लगाइएको बालीको हकमा एकपटक र वर्षमा दुईपटकसम्म मात्र राहत उपलब्ध गराउने व्यवस्था छ ।
मेचीनगर– ४ बाहुनडाँगीका ७२ वर्षीय मोहन खपांगीलाई हरेक दिन साँझको खाना खान हतार हुन्छ । साँझ ६ बजेसम्म धानखेत नपुग्ने हो भने हात्तीको बथानले धान सखाप पारिदिन्छ । त्यही भएर उनी नेपाल–भारत सीमाको मेची नदीको बगरछेउमै रहेको खेतमा साँझ ६ बजे पुग्छन् । बिहान ७ बजेसम्म खेतमै बास हुन्छ । अन्नबाली हात्तीबाट जोगाउन यसरी रातभर जाग्राम बसेको चार दशक नाघिसक्यो, उनको दैनिकी नै बनेको छ ।
वर्षको पाँच महिना भारतबाट मेचीबगर हुँदै आउने हात्तीको झुन्ड छेक्न बाहुनडाँगीवासीले खेतनजिकै टुङ (मचान) बनाएका छन् । त्यही टुङमा बसेर रातभर हात्ती रुँग्न खपांगी । साबिक बाहुनडाँगीस्थित मेची नदीको बगरमा रहेको तीन हजार बिघा खेतीमा प्रत्येक वर्ष प्रत्यक्ष हात्तीले क्षति पुर्याउँछ । हात्ती रुँग्न मेची बगरस्थित विभिन्न ठाउँमा १७ वटा टुङ छन् । एउटा टुङमा २० जनासम्म अट्छन् । टुङबाहेक टहरा बनाएर पनि बस्ने गरेका छन् ।
मकै पाक्ने वेलामा जेठ र असार दुई महिना र धान खेती लगाएपछि भदौदेखि मंसिरसम्म बगरमा बसेर हात्ती छेक्नुपर्छ, होइन भने भारतबाट आउने हात्तीको झुन्डले बाली भित्र्याउन दिँदैन । ‘हात्ती छेक्न गतिलो लाइट हुन्छ न त हात्ती भगाउने अन्य सरसामानै । हात्ती भगाउने त हाम्रो दैनिकी नै भइसक्यो,’ हात्ती रुँग्न बिहीबार राति ९ बजे मेचीको ढिलमा भेटिएका खपांगीले भने, ‘कहिले हात्तीले जितेर सबै बाली खान्छ । कहिले हामीले जितेर बाली भित्र्याउँछौं ।’ रातभर जाग्राम बसेर हात्ती भगाउँदा पनि यसपटक तीनपटक खेतमा पसेर धान खाएको उनी बताउँछन् ।
भारतबाट नेपाल आउने हात्तीको झुन्डले सधैँजसो मेचीनगरको साविक बाहुनडाँगी (हाल मेचीनगर वडा नम्बर १, २, ३, ४, ५) का खेतमा लगाइएका बाली खान्छ, कुल्चिन्छ । नेपालतर्फ खेती भए पनि सीमावर्ती भारततर्फ जंगल छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार भारतको असामदेखिको हात्तीको हञ्जा यहाँ आउने गरेको हो । अहिले धानको सिजनमा हात्ती भगाउन दुईदेखि तीन सय स्थानीय रातभर खेतबारीमा हुन्छन् । तालिम प्राप्त २५ जनाको आरआरटी टिम पनि हात्ती धपाउन खटिन्छ ।
नयाँ पत्रिकाकर्मी बिहीबार राति मेची नदीको बगर पुग्दा स्थानीय बासिन्दा पाकेको धान बाली हात्तीबाट जोगाउन पैठेजोरी खेल्न तयार देखिन्थे । हातमा टर्च, झोलामा हात्ती तर्साउने माइकसहित मेची बगरमा भेला भएका उनीहरूको एउटै उद्देश्य थियो, हात्तीबाट पाक्नै लागेको धान जोगाउने ।
हात्ती छेक्न गएकामध्ये कतिपय हात्तीसँगै बगर–बगर कुदेर बालीमा पस्न दिँदैनन् भने कतिपय टुङमा बसेर रातभर रुङ्न । ‘रातभर टुङबाट टिन ठटाएर हात्ती लखेट्छौँ । रातभर हात्तीको ड्युटी गरेर दिउँसो सुत्छौँ । कहिले त ड्युटी बस्दाबस्दै बाली खान्छ,’ हात्ती लखेट्न बिहीबार राति मेचीबगरमा भेटिएका मेचीनगर– २ का कृष्ण कार्कीले भने । उनले बगरको दुई बिघा खेतमा धान लगाएका छन् । ‘हात्ती बगरमै भएका वेला लखेट्न सके बालीमा पस्दैनन् । तर, बालीमा पसेपछि लखेट्नै मुस्किल हुन्छ,’ उनले भने, ‘हात्ती टाढा छ भने बाँधमा बसेर लाइट बालेर र कराएर पनि लखेट्छौँ । पटाका पड्काउछौँ ।’ हात्ती भगाउन मेची नगरपालिले एउटा ट्रयाक्टर पनि जोहो गरिदिएको छ ।
विद्युतीय तारबारले पनि रोक्न सकेन हात्ती
राष्ट्रिय प्रकृतिक संरक्षण कोषले हात्ती नियन्त्रणका लागि विश्व बैंकको आर्थिक सहयोगमा सीमावर्ती क्षेत्रमा नेपालतर्फ १७.१४ किलोमिटर विद्युतीय तारबार गरेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार मेचीनगर र इलामको रोङ– ६ को जिर्मलेदेखि मेचीनगर– ६ सम्म ०७२ मा सोलार फेन्सिङ तारबार गरिएको हो । तर, तारबारले हात्ती रोक्न सकेको छैन । ‘सुरुका दुई वर्ष त तारबारले हात्ती छेकेको थियो । अहिले हात्ती फेन्सिङसँग अव्यस्त भइसकेको छ,’ स्थानीय मोहन खपांगीले भने, ‘सुरुमा करेन्टसँग डराउने हात्ती अहिले सजिलै पस्न थाले । हात्तीको दाह्रामा करेन्ट नलाग्ने भएपछि दाह्राले हटाएर पस्न थालेको छ ।’ त्यसबाहेक तारबार ठाउँठाउँमा चुडिँदा झनै समस्या भएको छ । डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले सोलार फेन्सिङ तारबार मर्मतका लागि वार्षिक १० लाखसम्म बजेट उपलब्ध हुने गरेको छ । ‘जहाँ बिग्रेको छ त्यहीँ मर्मत गछौँ,’ उनले भनिन्, ‘फेरि हात्ती छिर्न थालेको छ भन्ने जानकारी आएको छ ।’
ऐलानी खेत हुनेले पाउँदैनन् राहत
बाहुनडाँगीका युवराज विश्वकर्माको मेची नदीछेउमै दुई बिघा खेत छ । पुस्तौँदेखि भोगचलन गर्दै आएको खेत भने ऐलानी हो । उनको परिवार यहाँबाट उत्पादन हुने धान, मकैमा अश्रित छ । हात्तीबाट जोगाउन सके अन्न भित्र्याउन पाउँछन् होइन भने मजदुरी गरेर पेट पाल्नुपर्छ । हात्तीले अन्नबाली नष्ट गर्दा उनी राहत पाउँदैनन् । वन्यजन्यु भएको क्षतिको राहत वितरण निर्देशिका– ०८० मा ऐलानी जमिनको अन्नबाली हात्तीले क्षति गर्दा राहत दिने व्यवस्था छैन । नम्बरी खेतको खाद्यान्न बालीमा क्षति पुगेमा खेतीको क्षेत्रफल र प्रकृति हेरेर बढीमा १० हजार उपलब्ध गराइन्छ । तर, एक मौसममा लगाइएको बालीको हकमा एकपटक र वर्षमा दुईपटकसम्म मात्र राहत उपलब्ध गराउने व्यवस्था छ ।
हात्ती छेक्न नेपाल–भारतको र्यापिड गस्ती
हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल र भारतमा र्यापिड रेस्पोन्स टिम बनेको छ । यी दुवै टिमले समन्वय गरेर हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि काम गरिरहेका छन् । हात्ती नेपालतर्फ छिरेको सूचना भारतपट्टिको र्यापिड रेस्पोन्स टिम दिने गरेको छ ।
नेपालपट्टिको टिम रातभर टर्च, माइक र ट्र्याक्टर लिएर हात्ती छेक्न मेची बगरमा पुग्ने गरेको र्यापिट रेस्पोन्स टिम नेपाल तर्फका संयोजक न्युटन कार्कीले बताए । उनीहरूको तालिमप्राप्त टिम छ । यद्यपि, समस्या नै समस्यामा हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि काम गरिरहेको उनले बताए । भारततर्फ सरकारले मेचीको बगरमा लाइट जडान गरेको छ । जसले हात्ती देख्न सहज हुन्छ । तर, नेपालतर्फ अन्धकार भएकाले हात्ती देख्न नै समस्या हुने गरेको उनले बताए । हात्ती–मानव द्वन्द्व न्यूनीकरणका लागि दुवै देशको सरकार स्तरीय संयन्त्र बनाएर काम गर्नुपर्ने कार्की बताउँछन् ।
१० वर्षमा हात्तीको आक्रमणबाट ६१ को ज्यान गयो
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ लागू भएयता झापामा हात्तीको आक्रमणमा परी ५४ नेपाली र सात गैरनेपाली गरी ६१ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा विभिन्न कारण १७ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।
झापामा खानेकुरा खोजीका लागि भारतबाट आउने हात्तीको ठूलो हन्जाबाहेक करिब २५ वटा रैथाने हात्ती रहेको उनले बताइन् । ‘रैथाने कति छन् भन्न समस्या छ । पहिला १० देखि १३ वटासम्म छन् भन्ने पत्ता लगाएका थियौँ । अहिले २५ वटासम्म पनि देखिएको छ । आउने–जाने भइरहँदा हामीसँग यकिन तथ्यांक छैन,’ उनले भनिन्, ‘गणना गर्न हामीसँग प्रविधि पनि छैन । वाइल्डलाइफको छुट्टै शाखा पनि छैन । गणनाको काम भएको छैन ।’
अर्जुन कार्की, वडाध्यक्ष, मेची नगरपालिका– ४
हात्तीपीडितको समस्यालाई संघीय सरकारले गम्भीर रूपमा लिएको छैन । दैनिक सयौँ बिघा जग्गामा क्षति पुग्दा राज्यले कानमा कुन खालको तेल हालेको छ । किन सुन्दैन ?’ यो सरकारले राज्यको समस्या बनाउनुपर्छ । यो क्षेत्रमा राज्यले राहत होइन निश्चित प्याकेजमा राखेर क्षतिपूर्ति दिनुपर्छ । मेचीबगरमा हात्तीले खाने चिज लगाउने, फूलबारी बनाउने, ताल पोखरी, प्राकृतिक पार्क बनाउने योजनामा छौँ । जसले पर्यटकलाई पनि आकर्षण गर्छ । धानखेतीलाई पानी खेतीमा रूपान्तरण गरेर माछा पाल्ने योजना बनाउने तयारीमा छौँ । भारतसँगको सीमा भएकाले पर्यटकीय क्षेत्र बनाउँदा राम्रो हुन्छ । अहिले नगरपालिकाले विद्युतीय फेन्सिङ तार मर्मत, यसमा बस्ने कर्मचारीलाई तलब दिने काम पनि गरिरहेको छ । विभिन्न ठाउँमा ट्रयाक्टर भाडामा लिएर हात्ती खेदाउन प्रयोग गरेका छौँ ।
अम्बिकाप्रसाद खतिवडा प्रवक्ता, राष्ट्रिय प्राकृतिक संरक्षण कोष
झापाको हात्ती प्रभावित क्षेत्रमा उच्च प्रविधिको प्रयोग गरेर विद्युतीय तारबार गरेका छौँ । हात्तीको पुरानो रुट हुन्छ । सधैँ त्यही रुट हिँड्छ । त्यो बाटो हिँड्दा लखेट्न खोज्ने, जिस्काउने गर्दा मानवीय क्षति पनि भएको छ । द्वन्द्वलाई न्यूनीकरण गर्न सहअस्तित्व नै कायम गर्ने हो । हामी हात्तीलाई पनि हटाउन सक्दैनौँ । यसका लागि जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनाइरहेका छौँ । सहअस्तित्व कायम गर्न हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ । पृथ्वी मानिसको मात्र होइन, वन्यजन्तुको पनि हो भन्ने हिसाबले हेर्नुपर्छ । उनीहरू हिँड्ने बाटोवरिपरि क्षयीकरण गरेका छौँ । त्यसलाई हटाउने, करिडोर मेन्टेन गर्ने काम गर्नुपर्दछ । उसलाई जिस्क्याउने, हप्काउने गर्नुहुँदैन । हात्तीले खान नमिल्ने अन्नबाली लगाउनुपर्छ ।