मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Wednesday, 18 December, 2024
२० वर्षपछि नेपाल आइपुगेका विवेक जन्म दिने बुबा र धर्म मातापितासँग खुसी साट्दै।  तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका 
२o८o असोज १९ शुक्रबार १३:५३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

‘बेवारिसे’ बनेर फ्रान्स पुगेका विवेक २० वर्षपछि परिवार खोज्दै आइपुगे नेपाल 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १३:५३:oo

आगलागीले घर जल्यो, घरसँगै जन्म दिने आमा पनि गुमाए विवेकले। केही समयपछि काठमाडौंको एउटा अनाथालयमा पुगे उनी। अनाथालयले परिवारको खोजी गर्दा कोही भेटेन। 

त्यसपछि नेपाल सरकारको अनुमतिमा फ्रान्सेली नागरिकले धर्मपुत्र बनाएर दाजुभाइलाई नै फ्रान्स लगे। चार वर्षको उमेरमा बेवारिसे बनेर फ्रान्स पुगेका धादिङको नीलकण्ठ– २ बसाहका विवेक परियार परिवार खोज्दै २० वर्षपछि आफ्नै जन्मथलो आइपुगेका छन्। 

आफू नेपाली हो भन्ने थाहा भएपछि उनले नेपाल र आफ्नो परिवार खोज्न थालेकाे बताए। ‘सानो छँदा वास्तै भएन । जब म नेपाली हुँ भन्ने थाहा भयो। त्यसपछि मैले मेरो परिवार र घर खोज्न थालेँ,’ विवेकले भने, ‘घर नेपालमा भन्ने थाहा त पाएँ। तर, ठाउँ र थर पत्तो भएन। खोज्न थालेको दुई वर्षपछि प्रयास नेपालले बुबा र भाइसगँ कुरा गर्ने मेसो मिलाइदियो।’ 

विवेकलाई नेपाल ल्याउन सहयोगी भूमिका खेल्ने संस्था प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, कर्मचारी र विवेकका फ्रान्सेली मातापिताबीच कुराकानी। 

फ्रान्सबाटै बुबा र भाइसँग म्यासेजमा कुराकानी हुन थालेको पाँच महिनापछि नेपाल आइपुगेको उनले बताए। उनले थपे, ‘नेपाली हुँ भन्ने थाहा हुनेबित्तिकै धेरै खोजेँ। पत्ता लगाउन गाह्रो भयो। नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था खोज्दै जाँदा प्रयास नेपाल भेट्यौँ। हाम्रोबारेमा लेखेर फ्रान्सेली बुबा–आमाले प्रयास नेपाललाई इमेल लेख्नुभयो । हामीबीच कुराकानी भयो। मलाई जन्म दिने बुबा र कर्म दिने फ्रान्सेली बुबाआमा हामी सबै नेपालमा एकै ठाउँमा भेट भयौँ। प्रयास नेपालकै कारण म नेपाल आउन पाएको हो। सबैप्रति आभारी छु।’

विवेकसँगै संगीता पनि नेपाल आएकी छिन्। उनी पनि नेपाली हुन्। तर, उनलाई नेपालको घर–ठेगानाबारे पत्तै छैन। विवेकजस्तै जन्मदिने आमाबुबा र परिवार भेट्ने ठूलो रहर रहेको उनी बताउँछिन्। तर, अहिलेसम्म पनि पत्ता नलाग्दा उनी निराश बनेकी छिन्। 

गुमेको खुसी छोराले लिएर आयो : विवेकका बुबा श्याम

बेवारिसे बनेर २० वर्षअघि फ्रान्स पुगेको छोरा विवेक घर आउँदा गुमेको खुसी फर्किएको उनका बुबा श्याम परियार बताउँछन्। ‘आर्थिक अवस्था कमजोरका कारण छोराहरूलाई पढाउने र लालनपालनमा समस्या भयो। धेरै पढाएर ठूलो मान्छे बनाइदिने आसमा काठमाडाैं पठाएको थिएँ। साता–दश दिनमा भेट्न गइरहन्थेँ,’ उनले भने, ‘सल्लाहले नै छोरालाई विदेश पठाएको थिएँ। तर, फ्रान्स पुगेको छोरालाई जति खोजे पनि सम्पर्कै भएन। छोरा भेटिने आसै गुमाएँ।’ 

श्याम परियारका अनुसार फ्रान्स जाँदा विवेक चार वर्ष र विशाल ६ वर्षका थिए। उनले भने, ‘उनीहरू फ्रान्स गएपछि धर्मपितासँगको फोटोचाहिँ पाएको थिएँ। प्रयास नेपालको सहयोगमा दुई वर्षअघि सम्पर्कमा आयो विवेक। अहिले मलाई भेट्न नेपाल आयो। गुमेको खुसी छोरासँगै आयो। विवेक नेपाल आइपुग्यो, विशाल फ्रान्समै छ।’ उनका अनुसार नेपालमा तीन छोरी र एक छोरा छन्।

विवेक यसरी नेपाल आइपुगे

विवेकको दाजुभाइले नेपाली हुँ भन्ने थाहा पाएपछि नेपाल आउने रहर गरे। उनका फ्रान्सेली पिताले उनीहरूको नेपालको घर–ठेगाना खोज्न थाले। धादिङमा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था खोज्दा प्रयास नेपाल भेटेर इमेल गरेपछि विवेकको नेपाल यात्रा तय भएको हो।  
 
‘बालबालिका भेटेको र घर–परिवार खोजिदिन भन्दै फ्रान्सबाट इमेल आयो। नेपालको दुईजना भाइहरू एडप्ट गरेर ल्याएका थियौँ। उनीहरू नेपालको धादिङ घर–ठेगानाका हुन् भनेर इमेल गरे,’ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल भने, ‘हामीले फ्रान्समा इमेल गर्दै सूचना लिँदै खोज्दै गर्‍यौँ। निकै प्रयार र समयपछि मात्र उनीहरूको घर पत्ता लाग्यो।’  

अर्यालले भने, ‘विवेकको थर विश्वकर्मा नभई परियार रहेछ। घर जल्दा आमा पनि सँगै जलेको भनेर सूचना पाएका थियौँ। गाउँमा सूचना पुग्यो। सबैको सहयोगमा विवेकको दुई परिवारको मिलन भएको हो।’ 

चार–पाँच महिनाअघि नै पत्ता लागे पनि प्रक्रियाका कारण उनीहरू नेपाल आउन ढिलो भयो। नेपाल आउनुभन्दा अघि दुई परिवारबीच संवाद भयो। अहिले दुई परिवारको मिलनपछि उनीहरू निकै खुसी छन्।