मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Thursday, 21 November, 2024
जलहरी राख्दा अनियमितता भएको उजुरी परेपछि गत १० असारमा सुन जोख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली
सुवास भट्ट काठमाडाैं
२o८o असोज १५ सोमबार o६:२६:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलहरी राख्दा डेढ किलो सुन गायब

जलहरी बनाएर १०,९७६ ग्राम टुक्राटाक्री सुन बचेको थियो, जसबाट जलहरीमा राख्न रिङ बनाइएको मुचुल्का छ । तर, रिङ बनाउँदा न छुट्टै मुचुल्का गरियो न तौल खुलाइयो । रिङमा १,४९१.७१८ ग्राम सुन घटाएर चाँदी र तामाको मात्रा बढाउँदै हिनामिना गरिएको ठहर ।

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार o६:२६:oo

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा डेढ केजी सुन हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । एक करोड १७ लाख रुपैयाँबराबरको शुद्ध सुन हिनामिना गरेको आरोपमा अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, त्यतिवेला कोषाध्यक्ष रहेका बहालवाला सदस्यसचिव डा. मिलनकुमार थापा र विशेष नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा कोषले दुई वर्षभन्दा पुरानो चाँदीको जलहरी हटाएर करिब एक अर्ब रुपैयाँमा एक सय आठ केजी सुनको जलहरी स्थापना गरेको थियो । पशुपति मन्दिरको गर्भगृहमा बनाइएको जलहरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा अनावरण गरेकी थिइन् । त्यसको दुई वर्ष सात महिनापछि अख्तियारले कोषका पदाधिकारी र कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो । 

जलहरी प्रकरणमा अख्तियारले कोषका तत्कालीन सदस्यसचिव ढकाल र कोषाध्यक्ष (बहालवाला सदस्यसचिव) थापालाई प्रमुख प्रतिवादी बनाएको छ । जलहरी निर्माण समितिको संयोजक र सदस्य भएर उनीहरू आफैँले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । उनीहरूविरुद्ध एक करोड १७ लाख बिगो तथा आठदेखि १० वर्षसम्म कैदको माग गरेको छ ।

एक करोड १७ लाखबराबरको सुन हिनामिना गरिएको अभियोगमा अख्तियारद्वारा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकाल र अहिलेका सदस्यसचिव थापाविरुद्ध मुद्दा दायर
 

‘परिषद्का जिम्मेवार पदाधिकारीहरू पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष (हालका सदस्यसचिव) डा. मिलनकुमार थापासमेतको निर्देशनमा रिङ जडान गर्ने तथा बाँकी रहेको सुन विनामुचुल्का अनधिकृत रूपमा राखेको भन्ने निजहरूको बयान कागजातहरूबाट समेत खुलेको हुँदा बदनियतपूर्वक सुनको जलहरी निर्माणका क्रममा हानि–नोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मूल्य एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ मूल्यबराबरको सुन हिनामिना गर्ने कार्यमा यी प्रतिवादीहरू डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापाको प्रत्यक्ष भूमिकासमेत रहेको पुष्टि हुन आयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

हिनामिना भएको बिगो कायम गर्दा अख्तियारले जलहरी निर्माणका क्रममा राष्ट्र बैंकबाट २९ माघमा खरिद गरेको ६४,१६३.४०० ग्राम सुनको प्रतिग्रामको सात हजार आठ सय ४४ रुपैयाँ ५० पैसाको दररेटलाई आधार बनाएको छ । जसअनुसार १४९१.७१८ ग्राम सुनको मूल्य एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ पर्न आउँछ । ‘सार्वजनिक संस्थाको सम्पत्ति सुनमा बदनियत गरी हिनामिना, हानि–नोक्सानी तथा दुरुपयोग गरेको देखिएकाले निज प्रतिवादी डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकाले निजहरूलाई एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ बिगो कायम गरिएको छ,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । ऐनको दफा ३ (१) को (झ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपर गर्ने मागदाबी अख्तियारले गरेको छ । ऐनको उक्त दफामा भएको व्यवस्थाअनुसार ढकाल र थापाउपर आठदेखि १० वर्षसम्म कैद हुन्छ । 

नेपाल सरकारबाट नियुक्ति भई कोष सञ्चालक परिषद्को सदस्यसचिवको जिम्मेवारी प्राप्त गरी सार्वजनिक पदको जिम्मेवारीमा रहेको देखिएको भन्दै अख्तियारले डा. ढकालउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको मागदाबीसमेत गरेको छ । उक्त व्यवस्थाअनुसार ढकालमाथि थप तीन वर्षसम्म कैद सजाय हुन्छ । पदको दुरुपयोग गरी एक करोड ४४ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा त्यति नै बिगो कायम गरेर अख्तियारले ढकालविरुद्ध गत ११ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । तीन महिनामै ढकालविरुद्ध दोस्रो मुद्दा दायर भएको हो । 

त्यस्तै, कोषका स्टोरकिपर श्रेष्ठ अनियमिततामा संलग्न भएको अख्तियारको ठहर छ । जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत २० फागुनमा डा. मिलनकुमार थापाको मिलेमतोमा रिङ बनाउने भनी कोषको आधिकारिक निर्णय तथा मुचुल्काबेगर के–कति परिमाणको सुन रिङसमेत बनाउन लागिएको, कति बनाइयो तथा कति बाँकी रह्यो भन्ने सन्दर्भमा विनामुचुल्का गैरजिम्मेवार तवरले कार्य गरेको आरोप अख्तियारले श्रेष्ठलाई लगाएको छ । श्रेष्ठविरुद्ध पनि हिनामिना भएको सुनको मूल्यबराबरको रकमलाई बिगो कायम गरिएको छ । 

सुनको जलहरी बनाउनेजस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा त्यसविपरीत सम्बन्धित निकायबाट इजाजत नलिएको अनधिकृत व्यक्तिमार्फत कालीगढका रूपमा काममा लगाई सुनको जलहरी निर्माण कार्यलाई अगाडि बढाई कामको जिम्मेवारी दिएको देखिएको आरोपपत्रमा उल्लेख छ । तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा रहेको पशुपति क्षेत्र विकास कोष परिषद् बैठकले प्रधानमन्त्री ओलीको निर्देशनबमोजिम जलहरी राख्ने निर्णय गरेको थियो ।

कति सुन किनियो, कतिको जलहरी बनाइयो ?
जलहरी बनाउने प्रयोजनका लागि पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १,०३,७७३.१ ग्राम सुन खरिद गरेको थियो । जलहरी निर्माणमा सुन, चाँदी, तामासमेत गरी १,०६,४३२.५ ग्राम प्रयोग भएको थियो । जसमा शुद्ध सुनको परिमाण १,०२,६१४ ग्राम रहेको उल्लेख थियो । तर, पछि अनुसन्धान गर्दा शुद्ध सुनको मात्रा १,००,०८५.९ ग्राम मात्र देखिन आएको अख्तियारको दाबी छ ।

छानबिनका क्रममा अख्तियार आफैँले सुरक्षा निकायसमेतको रोहवरमा जलहरीको सुन जोखेको थियो । जलहरी बनाइसकेपछि बाँकी रहेको चाँदी, तामासमेतको मिसावट रहेको १,०३७.५ ग्राम सुन रुद्रगाडेश्वरमा राखिएको थियो । जलहरीमा प्रयोग भएको र योसमेत गरी सुनको परिमाण १,०७,४७० ग्राम देखिएको थियो । यसभित्र सुनको परिमाण १,०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएको आरोपपत्रमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १,०२,६१४ ग्राम शुद्ध सुनबाट जलहरी निर्माणमा प्रयोग भएको तथा निर्माणका क्रममा बाँकी रहेकोसमेत गरी १,०१,०४८.५ ग्राम शुद्ध सुन घटाउँदा १,५६५.६ ग्राम शुद्ध सुनको परिमाणमा अन्तर देखिएको छ । ‘नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्डअनुसार ०.०७२ प्रतिशतले हुन आउने ७३.८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १,४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम सुन निज प्रतिवादी डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापाले हिनामिना गरेको...,’ अख्तियारको अरोपपत्रमा उल्लेख छ । 

 जलहरीमा रिङ राख्दा न  मुचुल्का बनाइयो, न तौल खुलाइयो
११ फागुन ०७७ को राति ८ बजे गरिएको मुचुल्कामा २९ माघदेखि विभिन्न मितिमा भएका मुचुल्काअनुुसार प्राप्त हुन आएका सुनबाट रुद्रगाडेश्वरस्थित नेपाली सेनाको सुरक्षामा पशुपतिनाथमा जलहरी निर्माण भएको उल्लेख छ । जलहरीका सामानको जोखतौल गरी सम्पन्न भएको र जलहरी बनाएर टुक्राटाक्री अवस्थामा १० किलो ९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्कामा उल्लेख थियो । त्यसको तीन घन्टापछि राति ११ बजे गरिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई श्रीपशुपतिनाथको मन्दिरमा अर्पण गरियो भनी मुचुल्कामा धर्सो तानी टुंग्याइएकामा पुनः अर्को लाइनमा ‘... साथै बाँकी रहेको सुनको टुक्राहरू रिङ बनाई जलहरीमा लगाइयो’ भन्ने वाक्यांश थप गरिएको मुचुल्कामा देखिएको छ । 

रिङ बनाई जलहरीमा लगाइएको वाक्य थप गरिएको मुचुल्काबाट देखिए पनि तीन घन्टामै रिङ निर्माण गरी जडान सम्पन्न गर्न सकिने स्पष्ट आधार नदेखिएको आरोपपत्रमा उल्लेख छ । जहलरीमा लगाइएको रिङको के–कति तौल हो र कति बाँकी भन्ने पनि स्पष्ट नभएको अख्तियारले जनाएको छ । डा. ढकालले यस्तो वाक्यांश थप्न लगाएको बयान कोषका सहसहायक वासुदेव रिमालले दिएका छन् ।

रिङ बनाउँदा नै सुन गायब भएको अख्तियारको ठहर छ । ११ फागुनसम्म रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाल्दा तथा राख्दासमेत सम्पूर्ण मुचुल्का गरिए पनि रिङ बनाउने क्रममा भने कुनै पनि मुचुल्का नगरी अनधिकृत रूपमा सुन निकालेर प्रयोगमा ल्याइएको भेटिएको छ । हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा १,४९१.७१८ ग्राम घटाई चाँदी र तामाको मात्रा क्रमशः १,०४१ र ७३२.६२ ग्राम बढाइएको थियो । 

सुनको जलहरी निर्माणका कार्यटोली सदस्यलाई जानकारी नै नदिई २० फागुनमा कोषका तत्कालीन कोषाध्यक्ष डा. थापा र विशेष नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठसमेत भई रिङ बनाउने भनेर मुचुल्कासमेत नगरी अनधिकृत रूपमा रुद्रगाडेश्वर ज्यासलमा सेफभित्र रहेको सुन बाहिर निकाली सिल्भर रोलिङ सर्भिसमा लगेर रिङ र पेचकिलासमेत बनाएको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । जलहरी निर्माण कार्यटोलीका अन्य सदस्यलाई समेत सूचना र जानकारी नदिई २० गतेकै दिन विनामुचुल्का रिङ तौलसमेत नगरी जलहरीमा राखेको अख्तियारले भेटेको छ । 

रिङ बनाई बाँकी रहेको सुन के–कति परिमाण रह्यो भन्नेसम्बन्धी नापतौल तथा मुचुल्कासमेत नगरी सुनको हिनामिना गर्ने नियतले अपारदर्शी ढंगले राखेको आरोपपत्रमा उल्लेख छ । जर्तीमा कति सुन खपत हुन्छ भन्नेबारे अख्तियारले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागलाई सोधेको थियो । गलान गर्ने कार्यमा ०.०३०, पाता तथा चक्की निर्माण कार्यमा ०.०२० र पोली (पाता चक्की सफाइ कार्य) मा ०.०२२ गरी जम्मा ०.०.७२ प्रतिशत सामान्य जर्तीको मात्रमा सुन प्रयोग हुने उत्तर विभागले अख्तियारलाई पठाएको छ । कोषको आधिकारिक निर्णय तथा मुचुल्काविना सुन लिएर रिङ बनाएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।