
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट बिदा भए पनि एक जिम्मेवार नागरिकको रूपमा आफ्नो काम, कर्तव्य र अभिभारा कहिल्यै नभुल्ने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी उनले एउटा कर्मचारीमाथि राज्यको शक्ति खनिएको बताउँदै यसबाट आफू हतोत्साही नभएको बताए।
पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवं अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान् । तर, नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन । म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, एक जिम्मेवार नागरिकको रूपमा मेरो काम, कर्तव्य र अभिभारा कहिल्यै कम हुनेछैन ।’
आफूमाथि कसको स्वार्थ र सेवामा सरकार जाइलागेको कुरामा जनता प्रस्ट भइसकेको उनको भनाइ छ।
‘नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो ? कस्को स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो भन्ने विषयमा नेपाली जनता आफैँ प्रस्ट हुनुहुन्छ । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसद्को रोस्टम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफैँ प्रत्यक्षदर्शी हुनुहुन्छ,’ उनले भने, ‘तर, त्यसबाट म उत्तेजित वा हतोत्साही भएको छैन । किनकि एक इमानदार राष्ट्रसेवकका रूपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।’
पत्रकार सम्मेलनमा उनले आफ्नो दुई कार्यकालमा प्राधिकरणमा गरेका उपलब्धि सार्वजनिक गरेका छन्।