
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध–निर्देशक कुलमान घिसिङले आफू चेपाङ समुदायमा बत्ती बाल्न खटिएको समयमा हतोत्साही र दुराशयका साथ पदबाट हटाएको दाबी गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भए पनि नेपाली जनताले आफूलाई आशीर्वाद दिएको बताए । आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।
कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ । एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसद्को रोस्टममा समेत आवाज उठेको जनताले महसुस गरेकोमा उनले खुसी व्यक्त गरे ।