११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते हुने भएको छ। कोभिडका कारण विगत तीन वर्ष सञ्चालन हुन नसकेको प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाउने आयोजक लिगलिग विकास अभियानले जनाएको छ।
जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अभियानका अध्यक्ष संजीव रानामगरले सो कुराको जानकारी गराएका हुन्। गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु हुने दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर समापन हुनेछ।
निर्धारित दूरी १३.८ किलोमिटर रहेको छ। प्रतियोगितामा पहिलो हुनेले एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पाउने अभियानका अध्यक्ष रानाले बताए। उनका अनुसार पहिलो हुने धावकलाई एक वर्षका लागि लिगलिगकोटको राजा घोषणासमेत गरिनेछ।
दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने अध्यक्ष रानाले जानकारी दिए। प्रतियोगिताअन्तर्गत स्थानीयवासी र विद्यार्थीको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। उनका अनुसार स्थानीय खुलातर्फ पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पाउनेछन्।
विद्यार्थीतर्फका विजेतालाई १५ हजार, १० हजार, ७ हजार, ५ हजार र ३ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा १८ वर्षमुनिकाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको निर्धारित दूरी तीन किलोमिटर रहेको छ। प्रतियोगितामा सहभागी हुन चाहनेहरूका लागि अनलाइन फारम खुला भइसकेको आयोजकले जनाएको छ। फर्म भर्ने म्याद यही असोज २५ गतेसम्म तोकिएको छ।