मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ८ सोमबार
  • Wednesday, 02 September, 2026
२o८o असोज ८ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुडो र बास्केटबलमा नेपालको खराब हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १६:५१:oo

जुडो : नेपालले पदकको आशा गरेको जुडो पनि हो। तर, जुडोका खेलाडीले सोमबार राम्रो नतिजा निकाल्न सकेनन्।

जिओसान लिम्पु जिम्न्यासियम हलमा भएको खेलमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। मनिता श्रेष्ठ, जंगबहादुर सारू र पुनम श्रेष्ठ पहिलो चरणभन्दा माथि उठ्न सकेनन्। तीनजना खेलाडी इप्पोनको आधारमा पराजित भए।

सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत ७५ केजी तौल समूहको स्वर्ण पदक विजेता पुनम प्रिक्वार्टरफाइनलबाटै बाहिरिइन्। मंगोलियन खेलाडी इड्रेना नयमसँग उनी इप्पोनको आधारमा पराजित भएकी हुन्।

यसैगरी ५७ केजी तौलमा मनिता तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी मायसासँग पराजित भइन् । जुडोअन्तर्गत ८१ केजी पुरुषतर्फ जंगबहादुर फिलिपिन्सका भिरोन जोनसँग इप्पोनकै आधारमा पराजित भए।

बास्केटबल : महिला थ्री बाई थ्री बास्केटबलमा नेपाली महिला टोली स्वर्ण दाबेदार जापानसँग एकपक्षीय खेलमा पराजित भएको छ। प्रतियोगिताको समूह ‘बी’मा नेपाल जिओग्राफिक इन्फर्मेसन पार्कको बास्केटबल कोर्टमा भएको खेलमा जापानसँग २२–४ ले पराजित भएको हो।

नेपालका लागि गरिसा सिलवाल र मीना गुरुङले समान दुई स्कोर गरेका थिए। प्रतियोगितामा जापानले दोस्रो वरीयता प्राप्त गरेको छ। नेपालले थ्री बाई थ्री बास्केटबलमा १५औँ स्थानको वरीयता पाएको थियो।

नेपालविरुद्ध जापानका मायु लुसी कुबोताले सर्वाधिक १२ अंक स्कोर गरिन्। बास्केटबलको यो तेस्रो सहभागिता हो। तर, थ्री बाई थ्रीमा नेपाल लगातार दोस्रोपटक सहभागी भएको हो। श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मीना गुरुङ र रिन्छेन मोक्तान छन्।