१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८o असोज २ मंगलबार o९:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चारित्रिक प्रमाणपत्रसम्बन्धी नयाँ निर्देशिका : एक वर्षसम्म सजाय हुने अपराध गरेकाले पनि प्रमाणपत्र पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार o९:५३:oo

एक वर्षसम्म कैद सजाय पाएका व्यक्तिले पनि अब प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । गृह मन्त्रालयले बनाएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८०’मा यस्तो व्यवस्था गरिएको छ । 

सोमबार राजपत्रमा प्रकाशित भएसँगै लागू भएको निर्देशिकाले प्रमाणपत्र वितरणमा उदार व्यवस्था गरेको हो । ‘अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरु कारबाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सोभन्दा कम सजाय भई भुक्तान भएको’ व्यक्तिलाई कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र पाउने प्रावधान निर्देशिकामा छ । 

सामान्य प्रकृतिका अपराधमा संलग्न भएका व्यक्तिले चारित्रिक प्रमाणपत्र नपाउँदा विदेश जानेलगायतका अवसरबाट वञ्चित भएका धेरै घटना आएपछि यससम्बन्धी व्यवस्था हेरफेर गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । 

त्यस्तै, सरकारी कार्य सम्पादनको क्रममा कुनै कसुरमा सजाय पाई सेवामै रहेको व्यक्ति, जरिवाना मात्र भएको अवस्थामा त्यो असुल भइसकेको व्यक्तिले पनि प्रहरी रिपोर्ट पाउनेछन् । त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(३) बमोजिमको कसुरमा सजाय भएको व्यक्तिले पनि प्रमाणपत्र पाउनेछन् । सवारी दुर्घटनामा कसैको ज्यान गएको, तर चालकको लापरबाही नदेखिएको अवस्थामा एक वर्षसम्म कैद सजाय हुने प्रावधान सो दफामा छ । यस्तो मुद्दामा दोषी ठहर भए पनि प्रहरीको प्रमाणपत्र पाउने भएका छन् । 

त्यस्तै, सरकारले मुद्दा फिर्ता लिएको तथा अदालतबाट सफाइ पाई माथिल्लो अदालतमा विचाराधीन रहेकाले पनि चारित्रिक प्रमाणपत्र कसुर उल्लेख नगरी पाउने भएका छन् । नयाँ निर्देशिकामा अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने व्यवस्था उल्लेख छ ।