कांग्रेसका भ्रातृ संस्था,विभाग र समिति गठनमा नेतृत्वको भूमिका कस्तो देख्नुहुन्छ ?
महाधिवेशनको मतका आधारमा भ्रातृ संस्था, विभाग र समिति गठनमा अर्को पक्षलाई समेटेर लैजाने कांग्रेसको प्रचलन थियो । नेतृत्वले ४० प्रतिशत मत पाएर सभापतिमा पराजित समूहलाई त्यस आधारमा व्यवहार गरेको देखिँदैन । नेतृत्वले सो समूहलाई २० प्रतिशतभन्दा बढी भूमिका दिन चाहेको देखिँदैन । तर, निर्वाचित महत्वपूर्ण शुभेच्छुक संस्थामा चाहिँ इतर समूह बलियो रहेको देखिन्छ ।
भ्रातृ संस्थाको विवाद नसकिँदै भएका विभाग गठनलाई कसरी हेर्न सकिन्छ ?
भ्रातृ संस्थाका विवाद जहाँको त्यहीँ छन् । विवाद सल्टेको छैन । तर, समय आएपछि त्यसलाई मिलाउने गरी विभाग गठन भएका छन् । १६ विभाग बन्दा तीन मात्र इतर समूहले पाएको छ । विभाग गठनमा महामन्त्रीहरूले विभाग बनेनन् भन्ने अवस्था नआओस् भनेर फेस सेभिङको बाटो लिएको देखिन्छ । नेतृत्वले कम्तीमा रोकिएका विभाग बन्न थाले, बाँकी क्रमशः बन्छन् भन्ने सन्देश दिन चाहेको देखिन्छ । यसलाई लिएर कांग्रेसमा विवाद छैन, सहमतिमै विभाग गठन भएका छन् भनेर देखाउन खोजिएजस्तो देखिन्छ ।
यसरी आफ्नालाई टिप्दा योग्य पछाडि परे भन्ने गुनासो पनि छ नि ?
यसमा त नेतृत्वले न्याय नगरेको प्रस्ट छ । यद्यपि, नमिलेका कुरा थाती राखेर मिल्ने कुरालाई मिलाएर लैजाने वैज्ञानिक तरिका अपनाएर अगाडि बढ्न चाहेको संकेत पनि यसले गरेको छ । कमसेकम कांग्रेसमा रोकिएका काम सुरु त भए नि भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने कोसिस भएको देखिन्छ ।