Skip This
सीमामा सशस्त्र प्रहरीका ६८ सहायता कक्ष स्थापना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o भदौ १८ सोमबार o६:२४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सीमामा सशस्त्र प्रहरीका ६८ सहायता कक्ष स्थापना

सीमा क्षेत्रमा आवतजावत गर्नेहरूलाई सहयोग र सहजीकरण गर्ने

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार o६:२४:oo

भारत र चीनसँगका मुख्य सीमानाकामा सशस्त्र प्रहरीले स्थायी रूपमा सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सीमा क्षेत्रमा आवातजावत गर्नेहरूलाई सहयोग र सहजीकरणका लागि सहायता कक्ष निर्माण थालिएको सशस्त्र प्रहरीले जनाएको छ । 
भारततर्फ ६५ र चीनतर्फका तीन नाकामा गरी ६८ वटा सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । विगतमा चाडपर्वको वेलामा मात्र सीमानाकामा सहायता कक्ष सञ्चालन हुन्थे । सीमा क्षेत्रमा जानकारीको अभावले सर्वसाधारण ठगिने र समस्यामा पर्ने भएकाले उनीहरूकै सहयोग र सहजीकरणका लागि सहायता कक्ष सधैँभरि सञ्चालन गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

महेन्द्रनगर, धनगढी, नेपालगन्ज, भैरहवा र वीरगन्जमा भने छुट्टै कक्ष नै बनाएर यस्तो सेवा थालिएको छ । अन्य स्थानमा अस्थायी प्रकृतिका सहायता कक्ष भए पनि त्यसलाई स्रोत–साधन थपेर सेवा दिने सशस्त्र प्रहरीको तयारी छ । त्यस्तै, ४२ ठाउँमा सशस्त्र प्रहरीका हेल्थ डेस्क पनि सँगै सञ्चालनमा छन् । सबैतिर भर्खरै सुरु भएको र यसलाई विस्तार गर्दै लगिने सशस्त्र प्रहरी प्रवक्ता खड्काले बताए । 

भारततर्फ दुई सय ४३ तथा चीनतर्फ सशस्त्र प्रहरी बलका आठ बिओपी रहेका छन् । मुख्य नाकाहरूमा सहायता कोष नै बनाएर सीमामा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने सशस्त्र प्रहरीको योजना छ । हाल कतिपयले अन्य संघसंस्थासँगको समन्वयमा सहयोग हुँदै आएको प्रवक्ता खड्का बताउँछन् । ‘सीमामा अलपत्र पर्ने कतिपयलाई गाडी रिजर्भ नै गरेरसमेत गन्तव्यमा पठाउने गरिएको छ,’ उनले भने । सहायता कक्षबाट प्रदान गरिदने सेवाले नागरिकलाई सहयोग हुने र सीमा सुरक्षामा पनि सहयोग पुग्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । भारत तथा चीन जाने र उताबाट आउने दुवै पक्षलाई सहयोग गर्न सहायता कक्ष स्थापना भएका हुन् । 

कतिपयलाई भारतमा जाँदा कसरी बस तथा रेलको टिकट काट्ने भन्ने थाहा नहुने गरेको छ । त्यस्तै, नियमभन्दा धेरै भारतीय रुपैयाँ बोकेर जाँदा समस्यामा पर्ने गरेका छन् । कतिपय नाका जंगलको बाटो भएर यात्रा गर्नुपर्ने भएकाले सुरक्षाको जोखिम हुने गरेको छ । यस्ता विषयमा पनि सशस्त्र प्रहरीले परामर्श दिने गर्दछ । 

साथै भारतीय पक्षतर्फ सशस्त्र सीमा बल (एसएसबी)सँग समेत समन्वय गरिदिने गरेको छ । यसका लागि कतिपय सहायता कक्षले भिजिटिङ कार्डको अवधारणासमेत सुरु गरेका छन् । सीमा सुरक्षालाई बलियो बनाउँदै लैजाने र सीमा क्षेत्रमा हुने ठगीलगायतका गतिविधिसमेत यसबाट नियन्त्रण हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । 

सीमा अपराध अभिलेख शाखाको स्थापना 
सीमापार अपराधको विश्लेषण र नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले सीमा अपराध अभिलेख शाखा स्थापना गरेको छ । सीमा सुरक्षा विभागअन्तर्गत नयाँ शाखा स्थापना भएको हो । सीमापार अपराधको अभिलेख राखी विश्लेषण गरी सुरक्षा रणनीति बनाउन सो शाखाको स्थापना भएको सशस्त्र प्रहरी बलले जनाएको छ । एसपीको नेतृत्वमा हुने सो शाखाअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार, जैविक अपराध, हातहतियार तथा खरखजाना र लागुऔषधसम्बन्धी अपराधको छुट्टाछुट्टै तथ्यांक राखिने र मासिक रूपमा विश्लेषण गरिने सशस्त्र प्रहरीले जनाएको छ । ‘यसले सीमापार अपराधको प्रवृत्ति पनि राज्यलाई थाहा हुन्छ,’ सीमा विभागका एक अधिकारीले भने । 

सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्र प्रहरीमा गत वर्षदेखि सीमा सुरक्षा विभाग स्थापना गरी त्यसअन्तर्गत विभिन्न शाखाहरू स्थापना गरी काम भइरहेको छ । जसअन्तर्गत सीमा समन्वय र कल्याणकारी महाशाखा तथा सीमा अध्ययन केन्द्रजस्ता संरचना स्थापना भई काम सुरु भइसकेका छन् । 

सीमा समन्वय तथा कल्याणकारी महाशाखामार्फत सीमा क्षेत्रमा स्वास्थ्य शिविर तथा आधारभूत विकासका काम गर्ने योजना छ । तर, सरकारले त्यसका लागि सशस्त्र प्रहरीलाई बजेट दिएको छैन । त्यस्तै, अध्ययन केन्द्रले सीमा क्षेत्रका विविध विषयमा अध्ययन गर्ने, ऐतिहासिक कागजात संकलन गर्ने र यससम्बन्धी तथ्यांक राख्ने गरेको छ ।