मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Thursday, 19 December, 2024
२o८o भदौ १७ आइतबार ११:११:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भ्रातृ संस्था, विभाग र समिति नेतृत्वमा देउवा समूहको वर्चस्व

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार ११:११:oo

महाधिवेशनको २० महिनापछि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले १५ विभागको संयोजक मनोनीत गरे । यससँगै कांग्रेसका १६ विभागले नेतृत्व पाए । १६ विभागले नेतृत्व पाँउदा ३ मात्र शेखर–गगन समूह छन् । 

नेतृत्व पाएका १६ मा १३ जना संस्थापन पक्षका छन् । पुष्पा भुसाललाई महिला विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, योगेन्द्र चौधरीलाई थारू विभाग, गेहेन्द्र गिरीलाई ज्येष्ठ नागरिक समन्वय विभाग, आङगेलु शेर्पालाई पर्यटन विभाग, डा. रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, रंगमति शाहीलाई पिछडिएको क्षेत्र विभाग, गुरु बरालले आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोलाले जिल्ला सम्पर्क समिति समन्वय विभाग र मदनकृष्ण श्रेष्ठले अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी पाएका छन् । 

१५ विभाग गठन हुँदा तीन इतर समूहले नेतृत्व पाएको छ । इतरबाट नेतृत्व पाउनेमा कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभाग, प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग र किरण यादवले तराई मधेश समन्वय विभागको नेतृत्व पाएका छन् । साथै, पूर्वमहामन्त्रीनिकट सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको जिम्मेवारी दिइएको छ । यसअघि गठन भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा संस्थापननिकट हुन् । 

कांग्रेसले ४८ विभाग रहेकोमा बढाएर ७० विभाग बनाउन लागेको छ । यस हिसाबले अझै ५० भन्दा धेरै विभाग गठन गर्न बाँकी छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बाँकी विभाग र नयाँ विभागको टुंगो लगाउने र संयोजक क्रमशः तोकिनेछन् । २ देखि १० साउनसम्मको केन्द्रीय समिति बैठकले १५ भदौभित्र विभाग गठन गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुराना विभागसँगको कार्यक्षेत्र मिलानलगायतका गृहकार्य भइरहेको र बाँकी विभाग छिट्टै बन्ने बताए । 

इतर समूहले संस्थापनले विधि–पद्धति मिचेर एकलौटी रूपमा विभाग र भ्रातृ संस्था र समितिमा नेतृत्व मनोनयन गर्ने गरेको बताए । पूर्वसहमहामन्त्री तथा इतर समूहका नेता अर्जुननरसिंह केसी पार्टी नेतृत्वले विधि र पद्धतिअनुसार पार्टीलाई अगाडि नबढाउँदा समस्या आउने गरेको बताए । ‘नेतृत्वले विधि र पद्धतिमा पार्टीलाई हिँडाउने गरेको छैन । समयमा नेतृत्व चयन गर्ने प्रणाली विकास गर्न सकेको छैन । गुटगत व्यवहार गर्दा योग्य र अनुभवीलाई जिम्मेवारी दिने अवस्था छैन । पार्टीमा पद्धति, प्रणाली बस्न सकेन, प्रवृति गलत बस्यो,’ उनले नयाँ पत्रिकासँग भने । 

विभाग मात्र होइन, भएका समिति र भ्रातृ संस्थाको नेतृत्व नियुक्तिमा पनि संस्थापन हाबी छ । हालसम्म नेतृत्व पाएका चार समितिमा तीन संस्थापन पक्षकै छन् । अनुशासन समिति संयोजक आनन्द ढुंगाना, लेखा समिति संयोजक श्यामककुमार घिमिरे र निर्वाचन समिति संयोजक पूर्वमहान्यायधिवक्ता खम्बबहादुर खाती देउवानिकट हुन् । सदस्यता वितरण केन्द्रीय समितिको संयोजकमा भने महामन्त्री गगन थापा छन् । समिति आवश्यकताअनुसार बनाउन सकिने व्यवस्था छ । 

१३ भ्रातृ संस्था मध्ये आठको तदर्थ समिति बनेकामा सबै संस्थापननिकट नेतृत्वमा छन् । तदर्थ समिति बनेका नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, तरुण दल अध्यक्ष विद्वान गुरुङ, महिला संघ अध्यक्ष उषा राउत मिश्र, किसान महासंंघ अध्यक्ष गणेशचन्द्र तिमल्सिना, ठाकुर समाजमा अनिरुद्रप्रसाद ठाकुर, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अध्यक्ष ओमबहादुर घर्ती मगर, थारू संघ अध्यक्ष शिवनारायण महतो र लोकतान्त्रिक खेलकुद संघमा देवेन्द्रकुमार शेरचन नेतृत्वमा छन् । मनोनयनमा इतरले दाबी गरे पनि सभापति देउवाले बेवास्ता गर्दै आएका छन् । 

केन्द्रीय समिति विस्तारपछि नेविसंघमा ७१०,महिला संघ ५०, किसान संघ ५० र तरुण दलमा चार सय केन्द्रीय सदस्य मनोनयन भएका छन् । तर, यसमा पनि संस्थापनकै वर्चस्व छ । यसबाहेक दलित संघ, थारू संघ, मुस्लिम संघ, प्रजातन्त्र सेनानी संघ र अपांग संघको भने तदर्थ समिति बन्न सकेको छैन । कांग्रेसइतरको नेतृत्व गरिरहेको शेखर गगन–समूहले भ्रातृ संस्थाका तदर्थ समिति गठन गर्दा महिला तरुण या नेविसंघमध्ये १ मा र किसान संघ या आदिवासी महासंघमध्ये १ मा आफ्नो समूहको नेतृत्व दाबी गर्दै आएको थियो । 

भ्रातृ संस्थाको समिति र नेतृत्वलाई लिएर कांग्रेसमा विवाद छ । नेविसंघमा ७१० सदस्यीय जम्बो कार्यसमिति घोषणासँगै पछि असन्तुष्ट समूहले समानान्तर समिति गठनको तयारी र अनशन बसेको थियो । असन्तुष्टलाई समेटेर लैजाने सहमतिपछि विवाद साम्य भएको छ तर, नामको टुंगो भने अझै लागेको छैन । महिला संघको विवाद उत्कर्षमा छ । असन्तुष्ट शेखर–गगननिकट समूहले नौ जिल्लामा समानान्तर कमिटी घोषणा गरेर समानान्तर गतिविधि गरिरहेको छ । 

१६५ निर्वाचन क्षेत्र पुग्ने गरी दोस्रो चरणको कांग्रेस रूपान्तरण अभियान 
कांग्रेस रूपान्तरण अभियानले २४ भदौबाट दोस्रो चरणको रूपान्तरण अभियान घोषणा गरेको छ । नेता जगदिश्वरनरसिंह केसीका अनुसार शनिबार नेताहरूको छलफलबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो । ‘बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । दोस्रो चरणमा १६५ निर्वाचन क्षेत्र पुग्ने गरी कार्यक्रम तय भएको छ । २४ भदौमा बिपी जयन्तीबाट दुई महिना अभियान सञ्चालन हुनेछ,’ उनले भने ।

दोस्रो चरणको अभियान २४ भदौदेखि २४ कात्तिकसम्म गरी दुई महिना सञ्चालन हुनेछ । अभियानअन्र्तगत १६५ निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गरिनेछ । कार्यक्रम बिपी जयन्तीको अवसर पारेर काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट सुरु हुने उनले जानकारी दिए । अभियानको सुझाव कांग्रेस नेतृत्वलाई बुझाइएको थियो । तेस्रो पुस्ताका नेताहरूले चलाएको अभियानमा नेतृत्वमा सुधार या परिवर्तनको आवश्यकता रहेको सुझाव आएको प्रतिवेदनमा उल्लेख थियो । पहिलो चरणको अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका र डायस्पोराको भेला गरिएको थियो ।

शुभेच्छुक संस्थाको महाधिवेशनमा देउवा समूह कमजोर
पार्टीमा बलियो देखिएको देउवा समूह शुभेच्छुक संस्थाको महाधिवेशनमा भने कमजोर देखिएको छ । महाधिवेशनबाट निर्वाचित हुने मुख्य संस्थाहरूमा इतरको वर्चस्व देखिन्छ । नेपाल शिक्षक संघमा अध्यक्षमा सोमनाथ गिरी, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) अध्यक्षमा सीताराम केसी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) अध्यक्षमा लक्ष्मण केसी, प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित बने । उनीहरू इतर निकट हुन् । ट्रेड युनियन कांग्रेसमा भने संस्थापनका योगेन्द्र कुँवरले बाजी मारेका छन् । कांग्रेसमा हाल २६ शुभेच्छुक संस्था अस्तित्वमा छन् । नयाँ मान्यता पाएका ११ शुभेच्छुक संस्थाको महाधिवेशन पनि हुन सकेको छैन । यसबाहेक निजामती कर्मचारी युनियन, प्रजातन्त्रवादी चिकित्सक संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघमा इतरको नेतृत्व छ । सांस्कृतिक महासंघ र प्रजातन्त्रवादी प्राध्यापक संघमा देउवानिकटको नेतृत्व छ ।