१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
बिर्तामोडस्थित गोदाममा अलैँची दाना ग्रेडिङ गरिँदै । तस्बिर : नयाँ पत्रिका
२०८० भदौ १५ शुक्रबार ०७:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अलैँचीको मूल्य बढ्यो, तर उत्पादन ५०% घट्ने

Read Time : > 1 मिनेट
२०८० भदौ १५ शुक्रबार ०७:५३:००

नेपालबाट निर्यात हुने उत्पादनमध्ये ठूलो हिस्सा ओगट्ने कालो सुनको नामले परिचित अलैँचीको मूल्य यसपटक वृद्धि भएको हो । अहिले राम्रो अलैँचीको मूल्य प्रतिमन ६० हजार रुपैयाँ रहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । कुनै वेला एक लाखभन्दा बढीमा प्रतिमन बिक्री हुँदै आएको अलैँची केही समयअघि प्रतिमन २० देखि २३ हजारसम्म पनि कारोबार भयो । निरन्तर ओरालो लागेको अलैँचीको मूल्य गत वर्षदेखि भने सुधार आएको हो । ‘सात–आठ वर्षपछि अलैँचीले राम्रो मूल्य पायो । एक महिनाअघि त राम्रो अलैँचीको मूल्य ६८ हजारसम्म पुग्यो,’ अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले भने ।

उनले नेपालको अलैँची राम्रो भएका कारण यसपटक मूल्य बढेका कारण ‘होल्ड’ नभई निर्यात भएको बताए । ‘भारतका व्यापारीले नेपालमा अब उत्पादन घट्ने अनुमान गरेर अलैँचीको मूल्य बढ्ने आसले खरिद गरेर स्टक गरे । जसका कारण बजारमा अलैँचीको अभाव भयो । त्यही भएर अलैँचीको मूल्य बढ्यो,’ उनले भने, ‘यस वर्ष नेपालमा भने अलैँची स्टक भएन । १० हजार मेट्रिकटनमध्ये झन्डै आठ हजार मेट्रिकटन अलैँची असार मसान्तसम्म निर्यात भयो ।’

नेपालका ४३ जिल्लामा विस्तार भएको अलैँची खेती सबैभन्दा बढी पूर्वको ताप्लेजुङमा फल्छ । गुणस्तरको हिसाबले संखुवासभा पहिलो रहेको महासंघले जनाएको छ । अलैँचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । पूर्वीनाका काँकडभिट्टाबाट अलैँची निर्यात हुने गरेको छ । यसबाहेक अन्य केही नाकाबाट पनि भारततर्फ नगण्य रूपमा अलैँची निर्यात हुने महासंघले जनाएको छ । नेपाली अलैँची ९९ प्रतिशत भारतमा बिक्री हुने गरेको छ ।

गत वर्ष करिब १० हजार मेट्रिकटन अलैँची उत्पादन भएको अध्यक्ष भट्टराईले बताए । गत वर्ष उत्पादन मात्र वृद्धि भएन, अहिलेसम्मकै धेरै मूल्यको निर्यात पनि भयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा आठ अर्ब २४ करोड १५ लाखको अलैँची निर्यात भएको छ । चालू आर्थिक वर्षको साउनमा मात्र ९६ करोड ४६ लाखको अलैँची भारत निकासी भएको तथ्यांक छ । 

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा चार अर्ब ७६ करोड ४३ लाखको निर्यात भएको थियो । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब ८९ करोड ५४ लाखको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । यस्तै, आर्थिक वर्ष ०७६/७७ मा चार अर्ब १९ लाखको अलैँची निर्यात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा दुई अर्ब ९७ करोड ८९ लाखको मात्र अलैँची निर्यात भएको भन्सारको तथ्यांक छ । 

नेपालका ४३ जिल्लामा विस्तार भएको अलैँची उत्पादन भदौदेखि कात्तिक अन्तिमसम्म हुन्छ । कृषकले बिक्री गरेको अलैँची झापाको बिर्तामोडसम्म कारोबार हुने गरेको छ । यस वर्षको नयाँ उत्पादन पनि बजारमा आउन थालेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।

यद्यपि, गत वर्षको तुलनामा यसपटक अलैँचीको उत्पादन ५० प्रतिशत घट्ने आकलन गरिएको उनको भनाइ छ । ‘गत वर्ष करिब १० हजार मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यसपटक झन्डै ५० प्रतिशत मात्र अलैँची उत्पादन घट्ने हाम्रो आकलन छ,’ उनले भने, ‘यसटक पाँच हजार मेट्रिकटन हाराहारी उत्पादन हुन सक्छ । मूल्य पनि राम्रै भएकाले समयमै निर्यात हुन्छ, होल्ड हुँदैन भन्ने हाम्रो बुझाइ छ ।’

सिँचाइ समस्याका कारण अलैँचीको उत्पादन यसपटक घट्ने अध्यक्ष भट्टराईले बताए । ‘सिँचाइका लागि आकासे पानीको भर पर्नुपर्छ । कुनै वेला आवश्यक पर्दा वर्षा हुँदैन । माघदेखि चैतसम्म फूल खेल्ने वेला पानी चाहिन्छ । यसपटक समयमा पानी परेन,’ उनले भने, ‘सिँचाइ सुविधा भएको ठाउँमा यसपटक पनि अलैँची राम्रो छ । तर, १० प्रतिशत मात्र सिँचाइ सुविधा छ । ९० प्रतिशतमा सिँचाइ सुविधा छैन । समयमा पानी नपर्दा यसपटक उत्पादन घट्ने आकलन छ ।’