मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Thursday, 19 December, 2024
२o८o भदौ ८ शुक्रबार ११:१८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रैथाने जात जोगाउन दाङमा ‘तिल्की’ धानखेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार ११:१८:oo

दाङमा रैथाने ‘तिल्की’ धानको खेती सुरु गरिएको छ । पछिल्लो समय लोपोन्मुख मानिएको ‘तिल्की’ धानको खेती सुरुवात गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीमा करिब दुई बिघा जग्गा लिजमा लिएर तिल्की जातको धानको खेती गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई अर्गानिक खेतीअन्तर्गत तिल्की धानको खेती सुरु गरिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए । ‘अर्गानिक खेती हराउँदै गयो, तिल्की, सिम्ठारोजस्ता धान रोप्न छाडियो,’ उनले भने, ‘मानव स्वास्थ्यका लागि अर्गानिक खेती अपरिहार्य छ, त्यसैले हामीले दाङमा यो सुरुवात गरेका हौँ ।’ 

पूर्वमुक्त कम्लरीहरूले सञ्चालन गरेको गन्यारी कृषि सहकारी संस्थामार्फत उक्त धान खेती सुरु गरिएको उनले बताए ।  तिल्की धानको चामल मीठो पनि हुने र गर्मी पनि खप्न सक्ने धान हो । यो जातको धान विगतमा दाङमा धेरैले लगाउने गर्थे । जुन धान दाङको पहिचान पनि थियो । तर, पछिल्लो समय हाइब्रिड धान नै कृषकको रोजाइ बनेपछि यो धान लोप हुने अवस्थामा थियो । 

त्यस्तै, सोही सहकारीले १० कट्ठा जग्गामा रैथाने सिमठारो जातको धान पनि लगाएको छ । धान भित्र्याएपछि सोही जग्गामा रैथाने प्याज, लसुन र आलु खेती गर्ने तयारी रहेको सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले बताइन् । उनका अनुसार अझै २५ हेक्टर क्षेत्रफलको जग्गा लिजमा लिएर अर्गानिक खेती गर्ने तयारी छ । ‘हामीले अहिले तुलसीपुरमा रैथाने जातको तिल्की र सिमठारो जातको धान खेती गरिरहेका छौँ,’ उनले भनिन्, ‘धान भित्र्याएपछि प्याज, लसुन र आलु खेती गर्नेछौँ, हामीले २५ हेक्टर क्षेत्रफल जग्गा लिएर खेती गर्ने तयारी गरेका छौँ ।’ सबै खालका खेतीमा अर्गानिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए । 

उनले १०–१५ वर्षमा दाङलाई नै अर्गानिक उपत्यका बनाउने योजनाअनुसार यो कार्यक्रम तयार गरेको बताए । यो कार्यक्रम दुई वर्ष चले पनि प्रत्येक किसानलाई अर्गानिक खेतीका बारेमा बुझाउने उद्देश्य रहेकोसमेत उनले बताए । लुम्बिनी प्रदेश सरकारले दाङलाई तिल्की धान र आलुको हब बनाउने योजनासमेत बनाएको छ ।  

विषादीजन्य खानेकुराले गर्दा मानिसमा क्यान्सरजन्य रोग लाग्ने भन्दै अर्गानिक खानेकुरामा जोड दिनुपर्ने कृषि ज्ञानकेन्द्र दाङका प्रमुख नरेश धितालले बताए । अहिले स्थानीय सरकारहरूले पनि अर्गानिक खेतीलाई जोड दिने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अर्गानिक खेतीका बारेमा किसानलाई बुझाउने गरी कार्यक्रम तय गरिएको बताइन् । ‘हामीले किसानलाई अर्गानिक खेतीका बारेमा बुझाउने गरी कार्यक्रम तय गरेका छौँ,’ उनले भनिन्, ‘त्यसो गर्न सकेमा अर्गानिक खानेकुरा बजारमा पाउन सकिन्छ ।’ 

प्रदेश सरकारले पनि अर्गानिक उत्पादनलाई प्राथमिकता राखेको प्रदेशका कृषि तथा भूमि ब्यबस्था मन्त्री भण्डारीलाल अहीरले बताए । ‘पुर्खाहरूले अर्गानिक मल प्रयोग गर्दा पनि धेरै उत्पादन हुन्थ्यो’, उनले भने ‘अब हामीले पनि अर्गानिक उत्पादनमा जोड दिन सकेमा मानव स्वास्थ्यलाई फाईदा पुर्‍याउथ्यो, यस तर्फ प्रदेश सरकार गम्भीर छ ।’ किसानलाई अर्गानिक खेतितर्फ आकर्षित गराउनकालागि बिभिन्न तालिम तथा सामग्री उपलब्ध गराईने भएको छ । त्यसकालागि संयुक्त राष्ट्र संघीय विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमले ४८ लाख सहयोग गरेको छ ।