राष्ट्रिय महिला आयोगद्वारा प्रकाशित ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
नेपालका विभिन्न क्षेत्रमा महिलाको अवस्था झल्काउने उद्देश्यले गत वर्षदेखि प्रकाशन सुरु गरिएको हो । यो दोस्रो प्रयास भएको महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जानकारी दिइन् ।
महिला अधिकारबारे अध्ययन गर्न, विभिन्न क्षेत्रमा महिलाको अवस्था कस्तो छ भन्ने जान्न र महिला अधिकार र सशक्तीकरणका लागि काम गर्न, योजना बनाउन पुस्तक सहयोगी हुने विश्वास पराजुलीले व्यक्त गरिन् ।
पुस्तकमा निर्वाचित पदहरूमा महिलाको अवस्थाका साथै मन्त्रिपरिषद्, स्वास्थ्य क्षेत्र, न्याय क्षेत्र, निजामती, सुरक्षा निकाय, शिक्षा क्षेत्रजस्ता विविध क्षेत्रमा महिलाको अवस्था संख्यात्मक रूपमा उल्लेख छ ।