नेपाली कांग्रेसको इतिहासमा सर्वाधिक अवसर पाएर पनि पार्टी सभापति शेरबहादुर देउवाको निराशाजनक नेतृत्वकै कारण कांग्रेसमा ‘रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाले प्राथमिकता पाएको मात्र नभई कांग्रेस बदलिनैपर्ने दबाबमा परेको छ । सत्ता र शक्तिकै निम्ति ०५७ को दशौँ महाधिवेशनमा पार्टी नै फुटाएर ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ नामको दल खोल्न पुगेका देउवालाई १३औँ र १४औँ महाधिवेशनमा भने उनको ‘विवादास्पद छवि’ भुलेर कांग्रेसजनले सभापति निर्वाचित गरी ‘उदारता’ देखाए !
पार्टी फुटाउँदाका बखत उनको भनाइ थियो– गिरिजाप्रसाद कोइरालामा परिवारवाद देखियो, उनले फरक विचार बोकेकालाई भूमिकाविहीन बनाए । तर, आज पार्टी केन्द्रयी समिति बैठकको चित्र, भ्रातृ एवं शुभेच्छुक संगठनको हालत र महिला संघमा पछिल्लो समय देखिएको टीकाप्रथाले हिजो देउवा आफैँले कोइरालाप्रति लगाएको आरोप केवल आफूले ‘एकलौटी’ गर्न नपाएकै कारण रहेछ भन्ने पुष्टि भएको छ । जसका कारण पार्टीभित्रको ‘यथास्थितिवादी’ धारलाई रोकेर ‘परिवर्तनकारी’ धारलाई एकताबद्ध गरी ‘पुस्तान्तरणसहित रूपान्तरण’ नगर्ने हो भने पार्टी विघटनउन्मुख अवस्थामा पुग्ने निष्कर्ष निकाल्न सकिन्छ ।
कांग्रेसजनले यतिवेला ‘पुस्तान्तरणसहित रूपान्तरणका संवाहक’को खोजी गर्ने वेला भएको छ । ०८२ मा उक्त पार्टीले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी ‘परिवर्तनकारी नेतृत्व’ स्थापित गर्न नसक्दा ०८३ को स्थानिय र ०८४ को आमनिर्वाचन ‘फेस’ गर्न सहज छैन । आफ्ना इतरलाई ‘इंगेज’ गराइराख्ने कार्यमा माहिर मानिएका देउवाबाट हिजो रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह आदि ‘इंगेज्ड’ भए ! अब त्यो ‘इंगेज्ड’ बन्ने सूचीमा भोलि कोकसको नाम थपिएला, त्यो हेर्न त बाँकी नै छ । तर, हालै सम्पन्न केन्द्रीय समिति बैठकमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला पक्षधर समूहले पार्टीभित्रको सत्तालाई भने प्रश्न गर्न सकेन ! महिला संघको विषयमा ‘एग्रेसिभ’ भएर आएको शेखर पक्ष पार्टी बैठकमा किन मलिन बस्यो भन्ने प्रश्नको जवाफ कांग्रेसजनले खोजिरहेका छन् ।
सामान्य सक्रियताले कांग्रेसमा रूपान्तरण सम्भव छैन । देउवापक्ष रूपान्तरणमा जान तयार नहुने, रूपान्तरणका पक्षधरलाई फाइदा पुग्ने गरी शेखरपक्ष प्रस्तुत हुनै नचाहने चित्रले कांग्रेसमा रूपान्तरण केवल महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा युवा नेता प्रदीप पौडेललाई मात्र चाहिएको हो त भन्ने प्रश्न अगाडि आएको छ । ‘स्टन्टवाला’ राजनीतिक दलको बोलवालामा बढोत्तरी आएको वेला कांग्रेसभित्रैबाट पनि भोलिको निर्वाचनमा जित्ने भनेकै ‘व्यक्तिको छवि’का आधारमा हो । तर, पार्टी संस्थापन तथा संस्थापन पक्षलाई साथ दिने पक्षले ‘लाइभ’ केन्द्रीय समिति बैठकमा देखाएको आफ्नो प्रस्तुतिबाट आफ्नो र पार्टीको ‘छवि’नै ध्वस्त पार्ने काम भयो ! यो वेला कांग्रेसको बिग्रिएको छविलाई उच्च बनाएर युग सुहाउँदो कांग्रेस निर्माण गर्ने हो भने हिजोको ‘टिम’ बिर्सिएर गगन, विश्व, प्रदीपसँगै सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसमेत एकै ठाउँमा उभिन जरुरी छ । जसको उभ्याइले कांग्रेसमा मात्र नभई देशमै एउटा ‘रूपान्तरणसहित पुस्तान्तरण’को सन्देश प्रवाहित हुन सक्छ ।
हिजोको ‘टिम’ बिर्सिएर गगन, विश्व, प्रदीपसँगै सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसमेत एकै ठाउँमा उभिने हो भने कांग्रेसमा मात्र नभई देशमै एउटा ‘रूपान्तरणसहित पुस्तान्तरण’को सन्देश प्रवाहित हुन सक्छ
परिवर्तनकारी नयाँ पुस्ता मिलेर आयो भन्ने सन्देश सम्प्रेषण गर्न नसक्ने हो र पुरानाकै ‘फेर’ समाइरहने हो भने न रूपान्तरण सम्भव छ न त पुस्तान्तरण नै । त्यो वेला कांग्रेससमेत राष्ट्रिय राजनीतिबाट केही दशकका लागि पछाडि धकेलिने निश्चितप्रायः छ । कांग्रेसमा आज को के बन्ने भन्ने सवाल प्रमुख होइन, सवाल गगन, विश्व, प्रदीप, जीवन र बद्रीलगायतका युवा पुस्ता एकै ठाउँमा उभिएर यथास्थितिको ‘पर्खाल’ भत्काउन तयार होलान् या पुनः विभाजितै रहलान् भन्ने नै हो । उल्लिखित पुस्ताले विचारको खाका प्रस्तुत गर्न सक्दा परिवर्तन सम्भव देखिन्छ । अन्यथा, देउवाका ठाउँमा कोइराला वा खड्का जो आए पनि तात्विक भिन्नता देखिँदैन ।
मूर्तरूपमा देखिए पनि नदेखिए पनि कांग्रेसभित्र १५औँ महाधिवेशनको पूर्वतयारीका जोडघटाउ प्रारम्भ भइसकेका छन् । देउवा यतिवेला डा. शेखरलाई ‘इंगेज्ड’ गराएर तथा ‘शेखर–गगन’ दूरी बढाएर पूर्णबहादुर खड्कालाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् । खड्काले जित्नै नसक्ने अवस्था भएमा आरजु राणासहितको टिम तयार गरिदिएर शेखरलाई मैदानमा ओराल्ने तयारी देउवाको हुन सक्छ । उता विश्वप्रकाश शर्मालाई आफ्नो टिममा ल्याएर आफू निर्वाचनमा होमिँदा जित सहज रूपमा निकाल्न सकिने विश्लेषणसहितको बुझाइ उपसभापति खड्काको हुन सक्छ ।
वरिष्ठ नेता कोइराला र उपसभापति खड्काको पूर्वानुमान जे रहे पनि आसन्न महासमिति बैठकले ०८२ मा कांग्रेसको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितता गर्न सक्दा गगन थापासहितको परिवर्तनकारी धार एक ठाउँमा रहँदै तथा डा. शेखरले अभिभावकत्व गर्न सक्दा मात्र ०८३ र ०८४ को निर्वाचन ‘फेस’ गर्न सहज र सम्भव हुने आमकार्यकर्ता पंक्तिले देखेका छन् । सँगै सवाल ०८३ र ०८४ को निर्वाचनको मात्र नभई कांग्रेस ‘कसको र कत्रो’ भन्ने सवाल पनि हो ।
केही साताअघि सम्पन्न केन्द्रीय समिति बैठकको लाइभ पनि ‘देउवा भर्सेस गगन’मै केन्द्रित देखियो । बैठकमा महामन्त्रीद्वय थापा र शर्माद्वारा पेस गरिएको पार्टी सञ्चालनका लागि आवश्यक वार्षिक क्यालेन्डरमाथि पार्टीले छलफल गर्नुपर्ने आवश्यकता नै ठानेन । बैठकमा महामन्त्री थापाले ‘समुन्नत नेपालको मार्गचित्र, सामाजिक लोकतन्त्र, नेपाली कांग्रेसका तत्कालका प्राथमिकता, विकासका परिभाषा र नेपालले लिनुपर्ने कूटनीतिक सम्बन्धका सन्दर्भमा सार्वभौमिक समानता’को विषयमा छलफलका निम्ति लिखित प्रस्ताव पेस गरेका थिए । तर, ती प्रस्तावले छलफलका सन्दर्भमा प्राथमिकता पाएको देखिएन ।
पार्टी र मुलुक सञ्चालनका सन्दर्भमा महत्वपूर्ण मानिएको सो प्रस्ताव केन्द्रीय समितिले पास त ग¥यो । तर, अधिकांश केन्द्रीय सदस्य प्रस्तावबारे बेखबर छन् । यसरी चलिरहेको कांग्रेसउपरको टिप्पणीले कांग्रेसजनलाई कति छुन सक्ला त्यो दोस्रो पाटो रह्यो । ‘मास बेस्ड’ भन्ने तर, आफ्नालाई ‘थानका थान’ सदस्यता पठाएर आफू समर्थक महाधिवेशन प्रतिनिधि चयनका निम्ति ‘बुथ’ देखिने गुट निर्माण गर्ने, पार्टीमा रूपान्तरण भएको छ कांग्रेस । ‘मास बेस्ड’ पार्टीमा सदस्यता हरेकका लागि खुला राखिन्छ भने सदस्यताको पनि वर्गीकरण दुनियाँमा काहीँ हुँदैन । कांग्रेसको सदस्यताको आधार त, वामपन्थी पार्टीको झैँ देखिन्छ ।
सदस्यताको विषय खुला राख्न सक्दा र सदस्यताको ‘लफडा’ निम्ति नै नदिने हो भने ०८२ मा कांग्रेसको महाधिवेशन सम्भव छ । हुन त, पुनः आफैँले आसन्न ०८३–०८४ दुवै निर्वाचनमा ‘टिकट’ वितरण गर्ने लालसा देउवामा भएको बुझ्न कठिन छैन । किनकि, पार्टीको साइज जत्रो भए पनि ‘तेरो–मेरो’ भनेर ‘गुट’ बलियो हुने गरी टिकट वितरण गर्न सक्दा मात्र आफू बलियो हुने मान्यता देउवाले बोक्दै आएका छन् । सोहीकारण पनि कांग्रेसमा पार्टी जीवन्त रहनकै लागि पनि ‘पुस्तान्तरणसहितको रूपान्तरण’को मुद्दा जोडतोडले उठ्न सम्भव भएको हो ।
आज कांग्रेस धेरै ठाउँमा भेटिन छाड्यो । शरणार्थी प्रकरणमा नैतिकता देखाउन कांग्रेस चुक्यो । चुनावी समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमको विषय त उसको प्राथमिकतामै परेन । सरकारमा प्रभावशाली मन्त्रालय लिएर गए पनि समानुपातिक बजेट वितरण प्रणालीमा कांग्रेस भेटिएन । युवाको ‘स्पिरिट’ के हो भन्ने कांग्रेसले भेउ नै पाएन । संविधानमा समाजवाद त भेटियो, तर संविधानमा समेटिएको समाजवादमा कांग्रेस भेटिएन । वाइडबडी, नक्कली शरणार्थी प्रकरण, स्टक एक्सचेन्ज, आयल निगम जग्गा प्रकरणलगायतमा ‘नेता भेटिने’ कांग्रेस आज कार्यकर्ता, जनता र संस्थापनइतर पक्षले खोजेका होइनन् । पटक–पटक शासकीय असफलतामा भेटिने ‘देउवा’ आज एउटा प्रवृत्ति नै बनिसक्यो । तसर्थ, आज कांग्रेसजनले ‘समाजवादी’ बाटोबाट ‘समृद्ध नेपाल निर्माण’को मार्गचित्र कोर्ने ‘संवाहक’को खोजी गरिरहेछन् ।
अब, गगन, विश्व, प्रदीप, जीवन र बद्रीजस्ता सम्भावना बोकेका युवा नेताले कांग्रेसभित्र आफ्नो भविष्य खोज्ने कि आफू एक भएर प्रस्तुत हुँदै कांग्रेसका माध्यमबाट सिंगो देशको भविष्य निर्माण गर्ने भन्ने सवाल अगाडि आएको छ । बढ्दो वैदेशिक ऋण, खस्कँदो आर्थिक अवस्था, खण्डित दलीय एकता र भ्रष्टाचारजन्य विषयवस्तुले आज मुलुकको चित्रसमेत भयावह छ ।
सुशासनको मात्रै सन्दर्भ उठाउनुपर्दा कुनै पनि ठूला भ्रष्टाचार प्रकरणमा कोही नेता ‘चोखो’ देखिने स्थिति रहेन । ठूला भ्रष्टाचारका सन्दर्भ उठ्यो कि मूलधारका नेताको बैठक बसिहाल्ने प्रवृत्ति देखियो । तसर्थ, पनि कांग्रेसमा मात्र नभएर एमाले, माओवादीजस्ता पार्टीमा समेत ‘रूपान्तरणका लागि पुस्तान्तरण’को मुद्दा नउठाउने हो भने कांग्रेस, एमाले माओवादीजस्ता दललाई हालै खुलेका दलहरूले समेत चुनौती दिने स्थिति टाढा छैन । धमिलिएको राजनीति सङ्ल्याउन पनि अब ‘दाइ, भाउजू, दा, बा र अध्यक्ष कमरेड’ले के भन्नुहुन्छ होइन, ‘विचार र उमेर’ले युवा मानिएका पंक्ति कसरी एकै ठाउँमा रहने, सँगै मुलुकको ‘राजनीतिक स्थिरता, सुशासन र समृद्धि’का सन्दर्भमा कसरी योगदान पु¥याउने भन्ने नै आजको अहं सवाल हो ।