समयमै विमानस्थल सेवा शुल्क नतिर्ने सबै हेलिकोप्टर कम्पनीको व्यावसायिक उडान रोकिएका छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बक्यौता बुझाउन बाँकी हेलिकोप्टर कम्पनीको उडान शुक्रबारदेखि रोकेको हो ।
माउन्टेन, प्रभु, फिस्टेल, सिम्रिक, मनाङ, मुस्ताङ, अन्नपूर्णलगायत हेलिकोप्टर कम्पनीले क्यानलाई विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने सेवा शुल्क बुझाउन बाँकी छ । बक्यौता नतिर्ने सबै होलिकोप्टर कम्पनीको उडान शुक्रबारदेखि रोकेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘हामीले कुनै पनि हेलिकोप्टरको ‘रेस्क्यु फ्लाइट’ रोकेका छैनौँ,’ उनले भने, ‘कमर्सियल फ्लाइट गर्नका लागि पुरानो बक्यौता चुक्ता गर्नुपर्ने हुन्छ ।’
विमानस्थल सेवा शुल्कको बक्यौता चुक्ता गर्ने हेलिकोप्टर कम्पनीको उडान खुला गर्दै जाने भुलले बताए । उनले भने, ‘सिम्रिक एयरले शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको सुन्नमा आएको छ, रोकेको उडान खुलाउने विषयमा आइतबार निर्णय हुनेछ ।’ सिम्रिक एयरले विभिन्न विमानस्थल प्रयोग गरेबापत क्यानलाई ४६ लाख बक्यौता बुझाउन बाँकी छ ।
वायुसेवा कम्पनीको वित्तीय अवस्था बिग्रिँदै गएको र पटक–पटक ताकेता गर्दा पनि बक्यौता बुझाउन अटेर गरेपछि क्यानले उडान नै रोकेको हो । वित्तीय संकटमा परेका वायुसेवा कम्पनीले सेवा दिँदा उसले जहाजको नियमित मर्मत–सम्भार, पार्टपुर्जा फेरबदल, पाइलट तथा कर्मचारीको तलबभत्ता, तालिमलगायतमा खर्च गर्न कन्जुस्याइँ गर्ने र उडान सुरक्षामै गम्भीर समस्या निम्त्याउन सक्ने क्यानको ठहर छ ।
क्यानले हेलिकोप्टर कम्पनीबाट बक्यौता असुल गरिसकेपछि हवाईजहाज कम्पनीको पनि उडान रोकेर बक्यौता असुल गर्ने तयारी गरेको छ । वित्तीय संकटमा परेको भन्दै क्यानले गुण एयरलाइन्सको सेवा केही महिनाअघि नै रोकिसकेको छ ।