एमाले अध्यक्ष केपी ओलीले सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन् । प्रतिशोधको राजनीति सुरु गरेर सरकारले विरोधीलाई तर्साउन खोजेको उनको दाबी छ । गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले कांग्रेस सांसद सुनील शर्मा पक्राउमा पाकिस्तानी मोडेलको रूप देखिएको बताएका हुन् ।
‘सुनील शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस्, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हत्कडी लिएर उनको घरमा पठाइयो । यो के हो भने हाम्रो विरोधमा कोही बोल्छ भने सुनील शर्मा बनाउँछौँ भनेको हो,’ ओलीले भने ।
विरोधमा बोल्नेलाई हत्कडी लगाउने राजनीति प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरु गरेको ओलीको आरोप छ । प्रतिशोधको राजनीतिले गम्भीर मोड लिन बाँकी रहेको उनले आशंका गरे । ‘मैले प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईंहरूले पाकिस्तानी मोडेलको राजनीति सुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनील शर्मालाई स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । योभन्दा नांगो नाच के हुन सक्छ ?’ ओलीले भने ।
लोकतन्त्रविरोधी र आन्दोलनमा कहीँकतै देखा नपरेका तत्वहरूले अहिलेको सरकार चलाइरहेको आरोप पनि उनले लगाए । लोकतन्त्रको पक्षमा आवाज उठाउँदा डन्डा नचलाउन उनले सरकारलाई चेतावनी दिए । ओलीले सुन तस्करीमा सरकारको संलग्नता भएकाले उच्चस्तरीय निष्पक्ष आयोग बनाउन नमानेको आरोप पनि लगाए । सत्तापक्षले नै संसद् अवरुद्ध गरिरहेको उनले दाबी गरे ।
सुन तस्करीको विषयमा छानबिन समितिको माग गर्दा सत्तापक्षका सांसदले बोल्न नदिएकोसमेत ओलीले आरोप लगाए । उनले कांग्रेसले सरकारको नेतृत्व गर्छु भन्ने आत्मबल गुमाइसकेको पनि दाबी गरे । ‘कांग्रेस अहिले कसको पछाडि केका पछि लागेको हो । मेरो यसमा कुनै कमेन्ट छैन,’ ओलीले भने, ‘तर, म उहाँहरूलाई सोध्न चाहन्छु, कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ, पछाडि पुच्छर चुप लागेको छ, अगाडि कांग्रेस डोलायमान छ । तन डोले मेरा मन डोलेजस्तो गीत गाएर बसेको छ ।’