१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Wednesday, 26 June, 2024
मुना कुँवर काठमाडाैं
२o८o श्रावण २४ बुधबार o७:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

टेरामक्स कार्यान्वयनमा एनटिसी र प्राधिकरणबीच विवाद

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार o७:३४:oo

दूरसञ्चार प्रविधिको गुणस्तर बढाउन तथा अवैध कल नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याउन खोजेको टेरामक्स प्रविधिको विषयमा नेपाल टेलिकम र प्राधिकरणबीच विवाद भएको छ । प्राधिकरणले निर्देशन दिए पनि कार्यविधि नहुँदा कार्यान्वयनमा अप्ठ्यारो परेको नेपाल टेलिकमले स्पष्टीकरण दिएको छ । तर, प्राधिकरणले भने एनटिसीले विभिन्न बहाना गरी टेरामक्स कार्यान्वयनमा अटेरी गरेको आरोप लगाएको छ ।   

दूरसञ्चार ऐनबमोजिम प्राधिकरणले दूरसञ्चार क्षेत्रको विकास लागि विभिन्न निर्देशन दिन र निर्णय गर्न सक्छ । सोही अधिकारअनुसार टेरामक्स इन्टर कनेक्सन प्रविधि सञ्चालनमा ल्याउन खोजिएको प्राधिकरणले जनाएको छ । टेरामक्सले दूरसञ्चारको गुणस्तर वृद्धि हुने र अवैध कल बाइपास रोकेर राजस्व वृद्धि गर्ने प्राधिकरणको दाबी छ । 

प्राधिकरणले ०७४ सालदेखि नै यो प्रविधिको जडान गर्ने पहल सुरु गरेको थियो । यसका लागि प्राधिकरणले तीन करोड लगानी गरी प्रविधिसमेत भिœयाएको छ । तर, यो हालसम्म प्रयोगमा ल्याउन सकेको छैन । पछिल्लोपटक प्राधिकरणले ८ साउनमा एक सूचना जारी गर्दै एक साताभित्र प्रविधिको प्रयोगमा ल्याउन आदेशसमेत दिएको थियो । त्यसपछि निजी क्षेत्रको कम्पनी एनसेलले १५ दिनको समय मागेर सफ्टवेयर इन्स्टलको प्रक्रिया अगाडि बढाए पनि एनटिसीले कुनै प्रक्रिया अगाडि नबढाएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए । उनका अनुसार प्राधिकरणले एनसेलको डाटा सेन्टरमा सफ्टवेयर इन्स्टल गरिसकेको छ । २७ साउनपछि एनसेलमा कार्यान्वयन हुने उनले बताए । तर, एनटिसीले भने विभिन्न बहाना गरेको प्राधिकरण सहायक प्रवक्ता मिश्रले बताए । 

एनटिसीका सहायक प्रवक्ता परमात्मा भट्टराईले भने प्राधिकरणले दिएको निर्देशन आफैँमा जटिल भएको बताए । ‘कार्यविधि बनाएको भए सोहीबमोजिम काम गर्न सकिन्थ्यो । तर, निर्देशनसहितको पत्र मात्रै छ । त्यसैले के–कसरी कार्यान्वयन गर्नमा अलमल भएको हो,’ उनले भने । 

 टेरामक्सले ग्राहकको भ्वाइस रेकर्ड गर्दैन :  प्राधिकरण
टेरामक्स प्रविधिले ग्राहकको एसएमएस कन्टेन्ट हेर्न नसक्ने नेपाल दूरसञ्चार प्राधिकरणले जिकिर गरेको छ । यस प्रविधिले प्राप्त गर्ने भ्वाइस तथा एमएमएसको सिग्नल आरटिपी प्रोटोकल ट्याग गर्ने हुँदा एसएमएसको कन्टेन्ट पढ्न नसक्ने प्राधिकरणले स्पष्ट पारेको छ । यस प्रविधिको अपरेटरको मिडिया फाइलसम्म पहुँच नपुग्ने हुँदा भ्वाइस रेकर्ड हुन सक्दैन । साथै, मोबाइल नेटवर्क अपरेटर सिस्टमको क्षमता पनि नघटाउने प्राधिकरणको भनाइ छ ।  

टेरामक्स प्रणालीका लागि प्राइमरी डाटा सेन्टर प्राधिकरणको चाबहिलस्थित भवन र डिजास्टर रिकभरी सेन्टर नेपाल सरकारको हेटौँडास्थित डिआरसीमा हुने भएकाले कुनै विवरण वा सूचना विदेश नजाने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

 मोबाइल अपरेटरहरूले आफ्नो ग्राहकको डाटा प्राइभेसीलगायत विषयलाई राखेर प्राधिकरणसँग कानुनी सम्झौता पनि गर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणसँग कानुनी सम्झौताअनुसार भए–नभएको सम्बन्धमा सेवाप्रदायकले थर्ड पार्टी सिस्टम अडिटरमार्फत अडिट गर्न सक्ने सुविधा पनि   छ । 

 मोबाइल अपरेटरको आम्दानी खस्किँदै
मोबाइल अपरेटहरूको आम्दानी हरेक वर्ष खस्किँदै गएको छ । प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८÷७९ मा मोबाइल अपरेटरको कारोबार ७७ अर्बबराबरको थियो । यो रकम विगत पाँच वर्षको अवधिमा करिब २१ अर्बले कमी हो । अपरेटरको आम्दानी घटे पनि ग्राहक संख्या भने वार्षिक रूपमा बढ्दै गएको छ । तथ्यांकअनुसार गत आवमा दुई करोड ७१ लाख ग्राहक संख्या भएको प्राधिकरणको दाबी छ । 

आव ०७७/७८ मा भने अपरेटहरूको आम्दानी ७५ अर्ब ७१ करोड रुपैयाँ थियो । सो अवधिमा अपरेटरको ग्राहक संख्या दुई करोड ८४ लाख  थिए । आव ०७६/७७ मा कम्पनीहरूको आम्दानी ८१ अर्ब १२ करोड थियो भने ग्राहक संख्या एक करोड ९४ लाख थिए ।आव ०७५/७६ मा कम्पनीहरूको आम्दानी ९२ अर्ब १२ करोड थियो भने ग्राहक संख्या एक करोड ४५ लाख थिए । आव ०७४/७५ मा भने कम्पनीहरूले ९८ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणको तथ्यांक छ । नेपालमा प्रतिवर्ष ग्राहक संख्या बढेपछि सेवाप्रदायकको आम्दानी भने घटेको छ । यसै विषयमा अध्ययन गर्न टेरामक्स प्रविधि सञ्चालनमा ल्याउन लागेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार ०६८ बाट ०७६ को अवधिमा कल बाइपासबाट १२ अर्बभन्दा धेरै आम्दानी गुमेको छ । 

 टेरामक्स प्रविधि भनेको के हो ? 
दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने एक खालको प्रविधि हो । यस प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ ।  

टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कुल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ । यसले युरोपियन टेलिकम्युनिकेसन स्ट्यान्डर्ड इन्स्टिच्युट तथा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले निर्धारण गरेअनुसार सेवाको गुणस्तर पनि परीक्षण गर्छ ।

अपरेटरको नेटवर्क रेगुलर गाइडअनुसार भए–नभएको पनि परीक्षण गर्छ । कल बाइपासलगायत टेलिकममा हुने विभिन्न खाले अवैध गतिविधिलाई नियन्त्रण गर्छ । अपरेटर अथवा भिओआइपी कल बाइपासलगायतका अवैध गतिविधिबाट हुने अर्बौँको क्षतिलाई न्यूनीकरण गरी राजस्व वृद्धि गर्न मद्दत गर्छ । साथै, प्राधिकरणले भविष्यमा अवलम्बन गर्ने नीति–नियमका लागि मार्गदर्शन गर्ने प्राधिकरणले दाबी गरेको छ ।

एनटिसीले बहाना मात्रै गरेको छ
अच्युतनान्द मिश्र, सहायक प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

एनटिसीले बहाना मात्रै गरेको छ । पहिला कानुनी बहाना देखाएको थियो । त्यसलाई हामीले स्पष्ट पार्‍यौँ । अब अहिले कार्यविधिको बहाना मात्रै गरेको हो । यदि कार्यविधि चाहिन्छ भने पत्र पठाओस् । हामी कार्यविधि बनाएर दिन्छौँ । 

कार्यविधि नहुँदा अलमल भएको हो
परमात्मा भट्टराई, सहायक प्रवक्ता, नेपाल टेलिकम 

प्राधिकरणको निर्देशन आफैँमा अन्योल छ । प्राधिकरणले कार्यविधि ल्याएर टेरामक्स कार्यान्वयन गर्न निर्देशन दिएको भए हामीलाई सहज हुन्थ्यो । हामी कार्यान्वयनका लागि अलमलमा परेका छौँ ।

ad
ad
ad
ad