एकीकृत समाजवादीले सामाजिक सञ्जालमा पार्टी नीति र अनुशासनविपरीत लेख्ने र बोल्ने काम नगर्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । आइतबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टी नीति र निर्देशन अवज्ञा भइरहे विधानअनुसार कारबाही हुने चेतावनी नै दिएको छ ।
‘अहिले पार्टी र पार्टीसम्बद्ध जनसंगठनमा आबद्ध कतिपय व्यक्तिले सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारको बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ । पार्टी नीति र निर्देशनको अवज्ञा भइरहेमा पार्टी विधानअनुसार कारबाही हुने व्यहोरा स्वतःसिद्ध छ,’ बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले केन्द्रीय कमिटीबाट महाधिवेशनको मिति घोषणा गर्ने निर्णय पनि गरेको छ । विभिन्न भागमा खडेरीको समस्या देखिएकाले सुक्खा क्षेत्र घोषणा गरी राहत कार्यक्रम सञ्चालन गर्न सरकारसँग मागसमेत गरेको छ । बैठक समापन गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीमा उठाइएका महŒवपूर्ण विषयलाई केन्द्रीय कमिटीमा पेस गर्ने प्रतिवेदनमा समावेश गर्ने प्रतिबद्धता जनाए । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक ३ र ४ भदौमा र केन्द्रीय कमिटी बैठक ५–७ भदौमा बोलाइएको छ ।
उनले राष्ट्रिय महाधिवेशनमा ध्यान केन्द्रित गरेर अगाडि बढ्नुपर्नेसमेत बताएका छन् । ‘विद्रोह गरेर सर्वथा उचित गरेका छौँ । हाम्रो शक्ति कमजोर होइन, छैन । र, यो पार्टीसँग सशक्त वैकल्पिक शक्ति बन्ने राम्रो ग्राउन्ड छ । विचार र व्यवहारमा हामीभन्दा को उत्कृष्ट छ ?’ नेपालको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘विद्रोहको औचित्य पुष्टि भएको छ । यसलाई संख्यामा तुलना गर्नुहुँदैन । संख्या बढ्न समय लाग्छ । अबका दिन संख्या बढाउने काममा केन्द्रित गर्न तयारी गरिरहेका छौँ ।’
केन्द्रीय कमिटी बैठकले सही दिशा निर्देश गर्ने नेपालको विश्वास छ । ‘हाम्रो पार्टीले संगठनको तीनवटै क्षेत्रमा काम गर्नेछ, सडक, संसद् र सकारमा । जनता र देशको हित नै हाम्रो कामको केन्द्रबिन्दु हो । त्यसैले हामी जनसरोकारको विषयमा गम्भीर भएर लाग्नेछौँ,’ नेपालले भने ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित शिवबहादुर देउजा, रत्नेश्वर गोइत, बलराम बास्कोटा, रामप्रीत पासमान, भानुभक्त जोशी, विरोध खतिवडा, लक्ष्मण पौडेल, उर्वादत्त पन्त, देवसिंह महत, माधव पौडेल, गोविन्द कोइराला, साध्यबहादुर भण्डारी, तुलबहादुर गुरुङ, आलोक रायमाझी, सावित्रा भुसाल, भवीश्वर पराजुली, भरत श्रेष्ठ, शत्रुधन महतो, शारदाप्रसाद सुवेदी, गरिमा शाह, कल्याणी खड्का, रामचन्द्र यादव, वंशीघर मिश्र, नागेन्द्र चौधरी, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्रीले धारणा राखेका थिए ।
खनालले औँल्याए कमजोरी
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टीका कमजोरी औँल्याएका छन् । बैठकमा १६ पेजको लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै खनालले विद्रोहको औचित्य पुष्टि हुने गरी काम नभएको औँल्याएका छन् । उनले पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका छन् । माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनो भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा पार्टी भएको महसुस भएको उनले टिप्पणी गरेका छन् । ‘जतिवेला विद्रोह भएको थियो, त्यसवेला पार्टीपंक्तिमा निकै ठूलो उत्साह र उमंग थियो, आज त्यो छैन । विद्रोह गर्दा हामीसँग जुन शक्ति थियो, आज त्यो पनि छैन,’ खनालको भनाइ छ ।
संसद्मा समेत पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताएका छन् । उनले कमजोरीलाई हटाएर क्रान्तिकारी धारलाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यनीतिक हिसाबले प्रधान राजनीतिक अन्तर्विरोध पत्ता लगाउने कुरा क्रान्तिका निम्ति पहिलो प्राथमिक महत्वको हुने खनालले औँल्याएका छन् । ‘यतिवेला मुख्यतः दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तर्विरोध हो,’ खनालले भनेका छन्, ‘एमालेलाई शत्रु शक्तिजस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने र एमालेलाई मुख्य निसाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनुपर्छ । आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थीबीचको संघर्ष हो,’ खनालले भनेका छन् ।
देश ऐतिहासिक रूपले नै समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगबाट अघि बढ्न लागेको उनको दाबी छ । ‘अब हामीले हाम्रो कार्यक्रमलाई समग्र रूपमा नै परिवर्तन गर्नुपर्छ । त्यो कार्यक्रम भनेको वैज्ञानिक समाजवादको कार्यक्रम हो । त्यो भनेको नेपाली विशेषताको समाजवादी कार्यक्रम हो,’ खनालको प्रस्तावमा उल्लेख छ । खनालले जनताको बहुदलीय जनवादको उपादेयता सकिएको निष्कर्षसमेत निकालेका छन् । उनले भनेका छन्, ‘बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद नै हो । त्यसमा कसैले भ्रममा पर्नु जरुरी छैन ।’