मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २० शनिबार o७:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२९औँ विश्व आदिवासी दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार o७:५५:oo

२९ औंं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना गरी मनाउने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विश्व आदिवासी दिवसका सन्दर्भमा आयोजना गरिएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिँदै नेफिनका महासचिव दिवश राईले महासंघले यस वर्ष 'पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं' भन्ने राष्ट्रिय मूल नारा तय गरिएको जानकारी दिए ।

यस वर्ष संयुक्त राष्ट्र संघले २९ औंं विश्व आदिवासी दिवसको सन्दर्भमा 'आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा' भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ । नेफिनले नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थासँगको समन्वयमा राष्ट्रिय नारा तय गरेको महासचिव राईले जानकारी दिए ।

महासंघले साउन २४ गते बुधबार कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभा हलमा मूल समारोहको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा पहिचानको आवाज उठाउने नेपाल सरकारका मन्त्रीहरूको समेत उपस्थिति रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरूको प्रथाजनित मान्यताहरूमाथि विभिन्न व्यक्तिहरूले लोकप्रियताको नाममा सामाजिक सञ्जाल तथा मिडियामा आदिवासी जनजातिको मान्यता र विश्वासमाथि ठेस पुग्ने काम गरेको भन्दै खेद व्यक्त गरे ।

मूल समारोहमा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित साउन २४ गते बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म सांस्कृतिक झाँकी सहितको र्‍याली हुने महासंघले जनाएको छ ।

भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभा हलमा प्रवेश गरी र्‍याली मूल समारोहमा परिणत हुनेछ । विभिन्न जातीय संस्थाहरूबाट आ-आफ्नो मौलिक सांस्कृतिक नृत्यहरूसमेत प्रस्तुत गरिने छ । त्यस अवसरमा आदिवासी जनजाति आन्दोलनमा योगदान दिने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिने छ ।

प्रज्ञा भवनको पछाडितिर रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरूको प्रदर्शनी (फुड फेस्टिबल) तथा विक्री वितरण स्टलहरू समेत राखिने छ।  दिवसको सन्दर्भमा महासंघसँगमा आबद्ध विभिन्न जातीय संस्थाहरू तथा सम्बद्ध संगठनहरूद्वारा विविध कार्यक्रम गरिनेछ ।