डेंगु रोगबारे जानकारी लिन परे ११८० फोन गर्न काठमाडौं महानगरले आग्रह गरेको छ । महानगरपालिकाले डेंगु रोगबारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन नम्बर ११८० लाई सञ्चालनमा ल्याएको हो ।
यो हटलाइन २४सै घन्टा सञ्चालन हुने महानगरले जनाएको छ । यस्तै, अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने प्रबन्ध मिलाएको छ । रोगको उपचारका लागि चाहिने सिटामोल, जीवनजललगायत आवश्यक औषधि स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पर्याप्त उपलब्ध गराएको छ ।
महानगरले डेंगुको संक्रमणबाट हुन सक्ने महामारी रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकैपटक लार्भा नष्ट गर्नेसहित सचेतना अभियानलाई तीव्र बनाएको छ । महानगरले बुधबार वडा–वडामा पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किएको छ । माइकिङ गरेर रोगका विषयमा जानकारी दिँदै, रोग नियन्त्रणका लागि नागरिकको सहभागिताका लागि अनुरोध गरेको छ ।
‘बर्खायाममा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको एडिस जातका लामखुट्टे फैलनदिनुहुँदैन । सफा पानीमा बस्ने यो जातका लामखुृट्टेको वासस्थान नाश गरिदिनुपर्छ,’ स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने, ‘लामखुट्टेको टोकाइबाट बच्न सके रोगबाट बच्न सकिन्छ भन्ने बुझेर घरका कुनै पनि ठाउँमा पानी जम्न नदिन स्थानीयबाट गरेको सहयोग अपेक्षा हो ।’ संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्छ । पानी जम्ने सडक, सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी नै लामखुट्टे हुर्कने ठाउँ हो । यस्ता ठाउँमा पानी जम्न नदिने हो भने डेंगी फैलाउने लामखुट्टे नियन्त्रणमा सघाउ पुग्छ ।