पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा सडकखण्डको २५–२५ गज विस्तारको विषय तत्कालका लागि अनिर्णीत भएको छ। मंगलबारका लागि सर्वोच्च अदालतमा राखिएको सर्वपक्षीय छलफल नभएपछि तत्कालका लागि सडक विस्तारको विषय अनिर्णीत भएको हो।
डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख राजेश यादवले मंगलबार हुने भनिएको सर्वपक्षीय छलफल २१ गतेका लागि सरेपछि तत्काल सडक विस्तार कार्य अघि नबढ्ने जानकारी दिए। ‘सर्वोच्चले छलफलका लागि बोलाएको थियो। मंगलबार हुने भनिएको छलफल २१ गते हुने भएपछि तत्कालका लागि सडक विस्तारको काम रोकिएको छ,’ उनले भने।
प्रमुख यादवले सर्वपक्षीय छलफल र अदालतको आदेशपछि मात्रै ठोस निष्कर्षमा पुग्न सक्ने बताए। यद्यपि, उनले सडक विस्तारको काम भने नरोकिने प्रस्ट पारे। ‘केही ढिलोचाँडो होला, तर हेटौँडाको सडक विस्तारको काम रोकिँदैन। सबैतिरको सडक चौडा हुँदा हेटौँडाको मात्र रोकिने भन्ने हुँदैन,’ उनले भने।
तर, तत्कालका लागि अदालतको फैसला र आदेशलाई मानेर जाने प्रमुख यादवको भनाइ छ। उनले तत्कालै सडक विस्तारको कार्य सुरु गर्दा अदालतको मानहानि हुने भएकाले आदेश कुरेर बसेको स्पष्ट पारे।
यसअघि असार १० गते ३५ दिने सूचना जारी गर्दै डिभिजन सडक कार्यालय हेटौँडाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको दुवैतर्फ २५ गजभित्र बनेका घरटहरा भत्काउन आग्रह गरेको थियो।
सूचना जारी भएसँगै राजमार्ग क्षेत्रमा घरजग्गा भएका केहीले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटका आधारमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सम्बन्धित सबै पक्षलाई मंगलबार छलफलका लागि बोलाएको थियो।