१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आन्तरिक पर्यटकको रोजाइमा गाईखुरे झरना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५९:oo

गाईखुरे झरनामा स्थानीय पर्यटक लर्को लाग्न थालेको छ। वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरूको भिड लाग्छ। वेलावेलामा ‘क्यानोनिङ’समेत सञ्चालन गरेकाले यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।

बर्खायाममा पौडी खेल्ने, फोटो चिच्न जानेहरूले भरिभराउ हुने झरनामा हिउँदमा भने सुनसान हुन्छ। हिउँदमा पानी कम हुने भएकाले हिउँदमा सुनसान हुने गरेको स्थानीय बताउँछन्। 

तर, नजिकै बगेको मर्स्याङ्दीको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने बेँसीसहरका शिव सिलवाल बताउँछन्।

डुम्रे–बेँसीसहर सडकखण्डको छेउमै पर्ने बेँसीसहर नगरपालिकाको उदीपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ, गाईखुरे झरना। 

हेर्दै सिरिंग हुने झरना। कलकल बगेको पानीले झरनालाई सुन्दरता थपेको छ ।  त्यही सुन्दरता र प्राकृतिक मनोरमलाई चुम्न युवाहरूको लर्को लाग्न थालेको छ। बर्सातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षित गरेको हो। 

झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेहरूको भिड पनि बढ्न थालेको हो। विशेषगरी बिदाको दिन झरनामा हेर्न, भिज्न जानेहरूको निकै भिड लाग्ने गरेको छ। हप्ताभरि काममा व्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने गर्छन्। कतिपय त दिनभरिको थकाइ मेटाउन साँझपख झर्ना पुग्ने गर्दछन्। सडकछेउमै भएकाले झरनाको आकर्षणले कतिपयले सवारी रोकेर नै अवलोकन गर्ने गरेका छन्।

कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन्। पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेँसीसहरकी सरस्वती श्रेष्ठले बताइन्।  

व्यवस्थापनको खाँचो

डुम्रे–बेँसीसहर सडकमार्गको छेउमै पर्छ गाईखुरे झरना। मध्यमर्स्याङ्दीको बाँधस्थल आडैमा छ। मनोरम र शान्त वातावरण छ। जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसकारी संस्थाको लगानी बढ्दै गए पनि गाईखुरे झरनाको व्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयवासीको गुनासो छ। 

गाईखुरे झरनालाई पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गरिने बेँसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन्। उनी भन्छन्– बेँसीसहर नगरपालिकामा रहेको यो झरनाले आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ, यसलाई व्यवस्थित गर्नुपर्छ। 

थोरै मात्र लगानी गर्न सकिए पनि त्याे क्षेत्र पर्यटकको राम्रो गन्तव्य बन्न सक्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल बताउँछन्। सिलवालले भने– निश्चित मापदण्ड बनाएर शुल्क लिने गरी झरनाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सके करोडौँ आम्दानी गर्न सकिन्छ। 

त्यस्तै, उत्तरी लमजुङका विभिन्न ठाउँमा रहेका सुन्दर झरनाहरूको पनि व्यवस्थापन हुन सकेको छैन। नदीनाला, हिमाल  र पहाड हेरेर आनन्द बटुल्दै आएका पर्यटहरूलाई क्यानोनिङतर्फ पनि आकर्षण गर्न सके पर्यटकको आवागमनमा वृद्धि हुन सक्ने सरोकारवालाहरू बताउँछन्। 

ad
ad