हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकै क्रुद्ध भएका छन् । युक्रेनी बन्दरगाह सहर ओडेसाले यसको गम्भीर परिणाम व्यहोरिरहेको छ । दक्षिणी युक्रेनमा रहेको ओडेसालाई रुसले आफ्नो दबदबाको प्रतीकका रूपमा हेर्छ । यसका पछाडि ओडेसाको विकासमा क्याथरिन द ग्रेटको नेतृत्वसँगको ऐतिहासिक सम्बन्ध रहेको छ । पुटिनले समृद्ध इतिहास र परम्परा भएको यो सहरलाई ‘विश्वको सबैभन्दा सुन्दर सहरमध्ये एक’ भनेर प्रशंसा पनि गरेका थिए । तर, उनको आपराधिक शासनमा कोही पनि सम्मानित वा सुरक्षित रहन सक्दैन ।
जुलाई २०२२ मा राष्ट्रसंघको रोहबरमा हस्ताक्षर भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’लाई यही १७ जुलाईमा पुटिनले अन्त्य गरेका छन् । यस सम्झौताले युक्रेनलाई ओडेसा, चोरनोमोस्र्क र पिभदेन्नीका बन्दरगाहबाट गहुँ, जौ र अन्य खाद्यवस्तु निर्यात गर्न अनुमति दिएको थियो । युक्रेनको आफ्नै जहाज प्रयोग गरी आफ्नै बन्दरगाहबाट आफैँले सामान निर्यात गर्ने अधिकारमा पुटिनको हस्तक्षेपको तुक देखिँदैन । यद्यपि पुटिनले थप गैरकानुनी धम्की दिएर स्थितिलाई हेरफेर गर्न सक्छन् किनभने रुसको विदेश मन्त्रालयले उत्तरपश्चिमी ब्ल्याक सीलाई फेरि एकपटक ‘खतरनाक’ घोषणा गरेको छ ।
सोही दिन पुटिनले ओडेसामा बमवर्षा गराए । प्रारम्भिक लक्ष्यमा खाद्य टर्मिनल र अन्य बन्दरगाह थिए, जहाँ ६० हजार टन अन्नको क्षतिसहित महत्वपूर्ण आर्थिक क्षति निम्त्याएको थियो । रुसी आक्रमणमा पेरेउलोक नाखिमोभाको भवन शृंखला र त्यहाँका ऐतिहासिक गल्ली पनि परेका थिए । आक्रमणका क्रममा गल्लीमा रहेको चिनियाँ वाणिज्य दूतावासको सिसा फुटेको थियो र नजिकैको पुरातात्विक एवं साहित्य संग्रहालयमा क्षति पुगेको थियो । पछि रुसले पहिले काउन्ट टोलस्टोयको दरबार भनेर चिनिने वैज्ञानिकको घरलगायत २४ अन्य वास्तुकला स्मारक नष्ट गर्यो ।
२२ जुलाईको रातमा रुसी मिसाइलले सोबोर्ना स्क्वायरमा रहेको ट्रान्सफिगरेसन क्याथेड्रलमा पनि गम्भीर क्षति पुर्यायो । यो ठाउँ मेरा लागि पनि विशेष महत्व राख्छ, किनकि म सहरमा हुँदा यहीँ बस्थेँ । चाखलाग्दो के छ भने पुटिनको पनि यसमा सम्बन्ध छ । क्याथेड्रल सुरुमा सन् १९३६ मा स्टालिनद्वारा नष्ट गरिएको थियो र पछि ओडेसाका मानिसले कोष खडा गरेर यसको पुनर्निर्माण गरेका थिए । सन् २०१० मा पुटिनका केजिबिताकाका सहयोगी मस्कोका कुलपिता मानिने किरिलद्वारा अभिषेक गरिएको थियो । अधिकांश युक्रेनी चर्चभन्दा फरक यो क्याथेड्रल अर्थोडक्स चर्चको मस्को शाखासँग सम्बद्ध छ ।
पुटिनका लागि न ओडेसाको इतिहास र संस्कृति, न त यो सहरसँग रुसको बलियो सम्बन्धले नै महत्व राख्छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनले केर्च स्ट्रेट पुलमा भएको ड्रोन आक्रमणको बदला लिएको बताएका छन् । पुलले (रुसले अवैध रूपमा कब्जा गरेको) क्रिमियालाई रुससँग जोडेको छ । यो संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोलगायत हामी सबैका लागि चिन्ताको विषय हुनुपर्छ ।
जनवरीमा युनेस्कोले ओडेसाको ऐतिहासिक केन्द्र, जहाँ रुसले आक्रमण गरेको आकर्षक पेरेउलोक नाखिमोभालाई आफ्नो विश्व सम्पदा सूचीमा थपेको थियो । यो सम्पदा हमला हुनुअघि र पछि कस्तो देखिन्छ भनेर हेर्न गुगल म्याप प्रयोग गर्न सकिन्छ । रुस सन् १९५४ देखि युनेस्कोको सदस्य रहेको तथ्यलाई ध्यानमा राखी युनेस्कोको सूचीकृत सम्पदामा बम विस्फोट गराउँदा युनेस्को क्रुद्ध हुनुपर्ने हो वा होइन भन्ने प्रश्न उठ्छ ।
विश्व सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणसम्बन्धी राष्ट्र संघीय महासन्धिको धारा ६ ले अन्य पक्षको भूभागमा रहेको सांस्कृतिक र प्राकृतिक सम्पदालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउन सक्ने कुनै पनि काम नियतवश नगर्न विभिन्न पक्षलाई बाध्य पार्छ । निःसन्देह लक्षित मिसाइल हमला जानाजानी क्षति पुर्याउनै गरिएको हो ।
सांस्कृतिक सम्पदा नष्ट गर्नुका साथै युद्ध अपराध पनि गरिरहेका पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले अभियोग पनि लगाएको छ
युनेस्कोले ओडेसामा रुसी आक्रमणको निन्दा गरेको छ । यो निन्दा हमलाको दुई सातापछि मात्र आएको छ । तथापि ढिलो भइसकेको छैन, थप कारबाही आवश्यक छ र जबसम्म क्रेमलिनले आफ्ना आपराधिक कार्य गरिरहन्छ, युनेस्कोले रुसलाई निष्कासन गर्नेतर्फ विचार गर्नुपर्छ । स्मरण रहोस्, पुटिन सांस्कृतिक सम्पदा नष्ट गर्ने कार्यमा मात्रै होइन, युद्ध अपराधमा पनि संलग्न छन् र यसका लागि उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले अभियोग पनि लगाएको छ ।
युनेस्कोको बडापत्रमा हाल निष्कासन कारबाहीका लागि कानुनी प्रावधान छैन । जब युनेस्कोको स्थापना भएको थियो, तब सदस्य राष्ट्रले छिमेकी राष्ट्रमा आक्रमण गर्छ, अत्याचार गर्छ र कुनै राष्ट्र अन्तर्राष्ट्रिय दुष्ट बन्नेछ भनेर कसैले सोचेका थिएनन् । तर, यसको अर्थ यो होइन कि आपराधिक राज्यलाई निष्कासन गर्न संयन्त्र विकास गर्नै सकिँदैन ।
युक्रेन सुरुदेखि नै युनेस्को र राष्ट्रसंघीय प्रणालीको सदस्य रहेको छ, सोभियत संघसँग जोडिएको छ । अर्कातर्फ रुस सोभियत संघको विघटनपछि मात्र सदस्य बनेको थियो र यसअघि सोभियत संघले लिएको राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थान लिने कुनै कानुनी प्रावधान पनि थिएन । रुसभन्दा ठिकविपरीत युक्रेनले राष्ट्र संघको सदस्यतासँग सम्बन्धी सबै सम्झौतालाई निरन्तर सम्मान गर्दै आएको छ । रुसद्वारा ओडेसामा हुने दैनिक आक्रमणलाई ध्यानमा राख्दै, युनेस्कोबाट रुसको निष्कासनलाई जायज ठहर्याउने थुप्रै कानुनी आधार छन् र यी आधारलाई ब्युँताउने समय आएको छ ।
(एना इन्टरनेसनल रेस्क्यु कमिटीका वरिष्ठ नीति सल्लाहकार हुन्) प्रोजेक्ट सिन्डिकेटबाट