मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Thursday, 19 December, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८o श्रावण १६ मंगलबार o६:३२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनसँगको व्यापार घाटा ‘चिन्ताजनक’

निर्यातभन्दा आयात एक सय २६ गुणा बढी, दुई खर्ब २२ अर्बको व्यापारमा दुई खर्ब २० अर्ब घाटा

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार o६:३२:oo

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । आर्थिक वर्ष ०७९/८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँका मालवस्तु आयात गर्दा एक अर्ब ७६ करोडबराबरको मात्रै निर्यात गरेको छ । गत वर्ष नेपालले जति निर्यात गरेको थियो, त्यसको एक सय २६ गुणा बढी आयात गरेको छ ।

अर्थात्, नेपालले एक रुपैयाँको निर्यात गर्दा चीनबाट एक सय २६ रुपैयाँको आयात भएको हो । साउथ एसिया वाच अन ट्रेड एन्ड इकोनोमी (सावती)का कार्यकारी निर्देशक डा. पारस खरेल अनुपातका हिसाबमा नेपालको सबैभन्दा बढी व्यापार घाटा चीनसँग भइरहेको बताउँछन् । 

‘भारत र चीन नेपालका छिमेकी हुनुका साथै दुई ठूला व्यापार साझेदार पनि हुन् । तर, दुवै देशसँग नेपालको व्यापार घाटा उच्च छ,’ उनले भने, ‘अंकका हिसाबले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ । तर, अनुपातमा हेर्ने हो भने सबैभन्दा बढी घाटा चीनसँग छ । संसारले ठूलो बजार मानेको छिमेकी देशमा हामीले दुई अर्बको पनि निर्यात गर्न सकेका छैनौँ । तर, आयात भने दुई खर्बभन्दा बढी भइरहेको छ । यो चिन्ताको विषय हो ।’ 

 व्यापार घाटामा चीनको हिस्सा मात्रै १५ प्रतिशत
गत आवमा नेपालले १७ खर्ब ६८ अर्ब ९७ करोड रुपैयाँबराबरको व्यापार गरेको छ । यसमा नेपाललाई १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ व्यापार घाटा भएको छ । नेपालको कुल व्यापार घाटामा चीनतर्फको हिस्सा मात्रै १५.१ प्रतिशत पुगिसकेको छ । यस अवधिमा नेपालमा १६ खर्ब ११ अर्ब ७३ करोड आयात भएको छ भने नेपालले एक खर्ब ५७ अर्ब १४ करोडबराबरको निर्यात गर्न सकेको छ । कुल आयातमा चीनको हिस्सा १३.८२ प्रतिशत रहेको छ । तर, कुल निर्यात भने चीनतर्फको हिस्सा १.१२ प्रतिशत मात्रै रहेको छ । 

 एक सय ३२ देशसँगको व्यापार घाटामा, ३८ देशसँगको नाफामा
आर्थिक वर्ष ०७९/८० मा नेपालले एक सय ७० देशसँग व्यापार गरेको देखिन्छ । त्यसमध्ये ३८ देशसँगको व्यापार मात्रै नाफामा रहेको देखिन्छ । एक सय ३२ देशसँगको व्यापार भने घाटामा गएको विभागको तथ्यांक छ । नेपालले सबैभन्दा बढी व्यापार घाटा भारतसँग नौ खर्ब २१ अर्ब रहेको देखिन्छ भने सबैभन्दा बढी नाफा डेनमार्कसँग ५१ करोड रहेको देखिन्छ ।

सेन्ट लुसिया नामक देशसँग नेपालले दुई लाख ८७ हजारको व्यापार गरेको देखिन्छ । जहाँ नेपाललाई दुई लाख २१ हजार नाफा भएको भन्सारको तथ्यांक छ । त्यस्तै, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग नेपालले एक लाख २५ हजारको व्यापार गरेको छ । जसमा नेपाललाई ३५ हजार नोक्सान भएको छ । 

 के आउँछ चीनबाट नेपालमा ? 
नेपालले चीनबाट स्मार्ट फोन, मेसिनरी, सवारीसाधनदेखि तयारी पोसाक, खाद्यान्न तथा फलफूलसमेत आयात गर्दै आएको छ । गत वर्ष  चीनबाट सबैभन्दा बढी १५ अर्ब चार करोडको स्मार्ट फोन आयात भएको देखिन्छ । त्यस्तै, नौ अर्ब ६९ करोडको मल, पाँच अर्ब ९६ करोडको ल्यापटप, चार अर्ब ५६ करोडको धागो, तीन अर्ब ५५ करोडको विद्युतीय गाडी र तीन अर्ब ३१ करोडको राउटर आयात भएको देखिन्छ । भन्सार विभागको तथ्यांकले चीनबाट १० अर्ब हाराहारीकै तयारी पोसाक आयात भएको देखाउँछ । सोही अवधिमा एक अर्ब ८८ करोडको स्टिल, पाँच अर्ब १५ करोडको स्याउ, १० करोडको मोबाइल चार्जर र एक अर्ब ८३ करोडको अन्य टेलिफोन आयात भएको विभागले जनाएको छ । 

 नेपालबाट के निर्यात हुन्छ चीनमा ? 
नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको छ । कुनै पनि वस्तुको निर्यातले एक अर्ब छोएको छैन । गएको वर्ष नेपालबाट चीनमा सबैभन्दा बढी मूल्य ४९ करोड ३८ लाखको पास्ता निर्यात भएको थियो । त्यस्तै, १९ करोड ९९ लाखको गलैँचा, १६ करोड ६२ लाखको फेल्ट, ११ करोडको फर्निचर (काठबाहेकको), १० करोडको घरायसी सामग्री र पाँच करोड रुपैयाँबराबरको सांगीतिक उपकरण निर्यात भएको छ ।

नेपालले चीनमा काठका सामग्री चार करोडको, औषधि र सुगन्धका लागि प्रयोग हुने वनस्पति चार करोडको, सुगन्धित तेलको कच्चा पदार्थ एक करोड ४८ लाखको, हातेकागज एक करोड ३९ लाखको, यार्सागुम्बा एक करोड ३६ लाखको, रुद्राक्षको बिउ एक करोड ११ लाखको र तरकारी एक करोड ११ लाखबराबरको निर्यात गरेको विभागको तथ्यांक छ ।