१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १३ शनिबार
  • Friday, 09 May, 2025
२o८o श्रावण १३ शनिबार १o:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको तम्घास बजारलाई सफा र चिटिक्क पारिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १३ शनिबार १o:५o:oo

केही समय पहिलेसम्म साँघुरो र कालोपत्रे उप्केका कारण तम्घास बजारमा सानाठूला सवारीले सास्ती खेपेका थिए। त्योसँगै अस्तव्यस्त तारका कारण बजार कुरूप बनिरहेको थियो। सडक हडपेर निर्माण भएका संरचनालाई व्यवस्थित गरेर सडक पुन कालोपत्रे भएसँगै बजार सफा र चिटिक्क परेको छ। 

संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीमार्फत साढे चार करोडको लागतमा सडक कालोपत्रे गर्ने, सडक मार्किङ र क्याट आई राख्ने काम गरिएको छ। अहिले बजारमा देखिएको सडक जाम र दुर्घटनाको जोखिम न्यूनीकरण भएको युवा व्यावसायी जनक पन्थले बताए। 

पन्थले उपयुक्त स्थानमा पार्किङ स्थल निर्माण गरेर सडक छेउमा रोकिने सवारीहरू र पसलअगाडि राख्ने सामग्रीको व्यावस्थापन गरिए बजार निकै व्यवस्थित हुने बताए। उनले आफ्नो पसलअगाडिको सडक संरक्षणको दायित्व नागरिक आफैँको भएकाले संरक्षणमा सबैको पहल आवश्यक रहेको बताए।

सडक बत्तीको काम हुँदै
अहिले तम्घास बजार क्षेत्रलाई नै कुरूप बनाएको विद्युत्, टेलिकम र इन्टरनेट प्रदायहरूले बिछ्याएका तारहरूको व्यावस्थापन गरिएको छ। साना पोल र लत्रिएका तारका कारण बजार अव्यस्थित बन्नुका साथै मानवीय जोखिम पनि उत्तिकै थियो। 

अहिले सबै तारको व्यावस्थापनपछि नेपाल विद्युत् प्राधिकरण वितरण शाखा गुल्मीमार्फत सडक बत्तीको लागि तार तान्ने काम भइरहेको छ। वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले गत वर्ष नै टेन्डर भएकोले आफूहरूले सडक बत्तीको लागि तारहरू तान्ने काम गरिएको बताए। उनले तारको काम भएपछि नगरले बत्तीको काम गर्न सक्ने बताए। 

धमाधम फूल रोपिँदै 

रेसुंगा नगरपालिकाको तम्घास बजार क्षेत्रबाट बाहिरिने मुख्य गन्तव्यहरूमा फूल रोप्ने अभियान सुरु भएको छ। डिभिजन वन कार्यालय गुल्मीको सहजीकरणमा ‘जाऊँ हिँड रेसुंगा अभियानअन्तर्गत जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको सौन्दर्यकरणका लागि सडक छेउमा फूल रोप्ने अभियान सुरु भएको छ। 

वनसँगको समन्वयमा रेसुंगा गर्जुरादेखि महापोखरीसम्म आर्कषक फूलहरू रोप्ने नगरको योजना रहेको छ। शुक्रबार रेसुंगा नगरपालिकाले बागमारे–छल्दी, देउराली–एयरपोर्ट, अर्घाखाँची जिपपार्क–नेटा तथा अर्घाखाँची जिपपार्क नयाँ गाउँसम्मको सडक छेउमा फूलहरू रोप्ने अभियानको शुभारम्भ गरेको छ। 

आफ्नो क्षेत्रमा पर्ने सडकमा सम्बन्धित वडाले वनसँग समन्वय गरेर बिरुवा रोप्ने कार्ययोजना बनेको छ। जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले फूलको बिरुवा रोपेर अभियानको सुरुवात गरे। उनले पर्यावरणीय, सुन्दर तथा पर्यटकीय आकर्षणका लागि नगरको अभियान रचनात्मक रहेको बताए।

पर्यटनमार्फत समृद्धिको आशा
पर्यटन विकास र समृद्धिको पहिलो आधार रेसुंगा क्षेत्र हो। रेसुंगासँग जिल्लाका अरू पर्यटकीय क्षेत्र जोडिनुपर्छ। स्वच्छ, सफा र सुन्दर नगर निर्माण गरेर रेसुंगा क्षेत्रसँगै नगरको विकास गर्ने केही अभियानसँग नागरिकका आशा पनि बढेका छन्। 

नगरप्रमुख खिलध्वज पन्थीले सुन्दर नगरी अभियानको लागि रि–पिच, तार व्यवस्थापन, सडकबत्तीसँगै फूल रोप्ने काम भइरहेको बताए। उनले ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगासँगै जोडिएका सडकहरूको सौन्दर्यकरणको काम अगाडि बढेको जानकारी दिए। 

पन्थीले लोपोन्मुख तथा आयुर्वेदिक गुण भएका बिरुवाहरू टिमुर, सुगन्धकोकिला, मलायगिरी, ज्याकारान्डा, निलो र रातो आर्कषक फूल गुल्मोहरका बिरुवा रोप्ने काम निरन्तर हुने बताउँदै वनले बिरुवामा सहजीकरण र नगरले संरक्षणको काम गर्ने बताए। यीबाहेक एक लाख पर्यटक भित्र्याउन पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालन, रेसुंगा क्षेत्रमा जिपलाइन, बन्जिजम्प, प्याराग्लाइडिङ, घोडचडीजस्ता साहसिक खेलहरु सञ्चालन गरिनेछ।