१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गुरुराज घिमिरे
२o८१ बैशाख १९ बुधबार o६:५o:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसमा रूपान्तरणको प्रसव पीडा

आजदेखि सुरु हुने केन्द्रीय समिति बैठक सनातनी वा कर्मकाण्डी भयो र बैठकका लागि फगत बैठक मात्र साबित भयो भने पार्टीपंक्ति थप निराश हुनेछ

Read Time : > 4 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५o:oo

चम्किने कि खुइलिने ? यतिवेला हामी इतिहासकै जटिल राजनीतिक मोडमा उभिएका छौँ र अगाडि दोबाटो छ । एउटा बाटो विनाशतर्फ सोझिएको छ भने अर्को बाटो उन्नतितर्फ । हाम्रा चालचलन र व्यहार विनाशतर्फ उन्मुख छन् । नेपाली समाजले एकैचोटि अनेक थरीका पीडा झेल्नुपरेको छ । हामी हिँड्ने बाटो ठिक भए पनि पुग्ने गन्तव्य स्पष्ट छैन । नेपालका सबैजसो संस्था विधि र नीतिविहीनतामा चलिरहेका छन् । राजनीतिक दलभित्र भाँडभैलो छ ।

प्रजातान्त्रिक शासन प्रणालीको विकल्प सोच्ने व्यक्ति र शक्तिहरू सल्बलाइरहेका छन् । हाम्रासामु भीमकाय चुनौती खडा छन् । जनमानस चेतनशील छ, राज्यको हालखबर राख्छ, राजनीतिक दल र नेताहरूको क्रियाकलाप नियाल्छ । चित्तबुझ्दा खुला दिलले समर्थन गर्छ, नबुझ्दा खुलेर विरोध गर्छ । यसलाई वर्तमान शासन प्रणालीको सुविधा र समय चेतना मान्नुपर्छ । अर्को कुरा, राजनीतिक दलहरू जनताका आँखामा हाल्दा नबिझाउने बनून् भन्ने अपेक्षा गर्छ ।

आफ्नो देशको सुरक्षा, सुशासन, सन्ततिको सुरक्षित भविष्य, छिमेकी देशसँगको सुमधुर सम्बन्ध र समाजमा शान्ति तथा अमनचैन चाहन्छ । यसका लागि शासन प्रणालीले राम्ररी काम गर्नुपर्छ । शासन प्रणालीले राम्रो गर्न सही व्यक्तिको हातमा शासनको बागडोर पुग्नुपर्छ । विश्वव्यापी रूपमा प्रमाणित सत्य के हो भने कुनै पनि संस्था आफ्नै कर्म र व्यवहारका कारण चम्किन्छ वा खुइलिन्छ । लामो समयसम्म बाँचिरहेका संस्थाको जग बलियो र कर्म गतिलो हुन्छ । कांग्रेसको जग त बलियो छ तर आमजनता भन्न थालेका छन्, कर्म गतिलो हुन छाड्यो । जे गरे पनि फरक पर्दैन भन्ने मनोविज्ञानले हामी सबैलाई पतनको बाटोतर्फ घिसार्न थालेको छ ।

कांग्रेसको बैठकसँगका अपेक्षा 
यही २७ असारका लागि तय गरिएको कांग्रेस केन्द्रीय समिति बैठक २ साउनका लागि सरेको छ । गतवर्ष राखिएको बैठकपछि लगभग १३ महिना कांग्रेसको बैठक नहुँदा पार्टीभित्र र बाहिरसमेत पार्टीबारे विभिन्नथरी पेचिला प्रश्न उठेका छन् । यो पार्टी विधानको सरासर उल्लंघन पनि हो । पार्टी र जनमानसबाट उठेका सबैजसो प्रश्न जायज र उपयुक्त थिए । एउटा लोकतान्त्रिक पार्टीका निम्ति यो दुःखद घटना पनि हो, जसले दलको व्यक्तित्व र छविलाई धुमिल तुल्याउँछ ।

पार्टी र नेतृत्वबारे सार्वजनिक रूपमा उठ्ने प्रश्नको तर्कपूर्ण र समुचित जवाफ समयमै दिन सकिएन र पार्टी नेतृत्वले जनतासँग नियमित रूपमा सार्थक संवाद गर्न सकेन भने भविष्यको राजनीतिक यात्रा कठिन बन्न पुग्छ
 

जसका कारण समयमै हुनुपर्ने निर्णय हुँदैनन् र पार्टी अनिर्णयको बन्दी बन्न पुग्छ । सार्वजनिक रूपमा उठ्ने प्रश्नको तर्कपूर्ण र समुचित जवाफ समयमै दिन सकिएन र पार्टी नेतृत्वले जनतासँग नियमित रूपमा सार्थक संवाद गर्न सकेन भने भविष्यको राजनीतिक यात्रा कठिन बन्न पुग्छ । अर्को दुःखको कुरा, देश र जनताप्रति पार्टीको संवेदनशीलता हराउँदै गएको देखिन्छ । एक त पुराना पार्टीप्रति जनताको असन्तुष्टि बढेको बढ्यै छ ।

अझ एउटै पात्र वा पुस्ता लामो समय नेतृत्वमा रहँदा पार्टी सदस्य र जनतामा थप दिकदारी चुलिएको छ । यस्तो स्थितिमा केन्द्रीय समितिको बैठक बस्ने भनिएको छ र बैठक बस्नु राम्रो हो । बैठकमा एजेन्डा के–के हुनेछन् र छलफल गम्भीरतापूर्वक हुन्छ कि हुँदैन भन्ने विषयले कांग्रेससँग सरोकार तथा चासो राख्ने सबैलाई चिन्तित तुल्याएको छ । बैठक सनातनी वा कर्मकाण्डी भयो र बैठकका लागि फगत बैठक मात्र सम्पन्न गरियो भने पार्टी पंक्ति झन् निराश हुनेछ । यसको हेक्का नेतृत्वले राख्नुपर्छ । त्यसैले पनि कांग्रेसजन एवं सम्पूर्ण प्रजातन्त्रवादी शुभचिन्तकको ध्यान आज (२ साउन) को बैठकतर्फ केन्द्रित छ ।

देउवा कांग्रेसका सभापति कि गुटका ?
गत १४ औँ महाधिवेशनपछिको कांग्रेस नेतृत्वबारे पार्टीका साथीहरूका आआफ्नै अनुमान, परिकल्पना र आशा थिए । केही साथी आजसम्मको अनुभवका आधारमा पुनर्निर्वाचित सभापति देउवा परिवर्तित र परिष्कृत भएर चल्नुहुन्छ, पार्टीका साथीलाई गुटगत व्यवहार गर्नुहुन्न, क्षमता, क्रियाशीलता र योगदानको उचित कदर गर्नुहुन्छ र पार्टीलाई विधिपूर्वक चलाउनुहुन्छ भन्ने विश्वासमा थिए । कतिपय साथी भने उहाँमा कुनै परिवर्तन आउँदैन, १५औँ महाधिवेशनमा आफूले नेतृत्व छाड्नुपर्ने भएकाले ‘आफ्ना मान्छे’लाई उत्तराधिकारी बनाउन अझ कस्सिएर लाग्नुहुन्छ र झन् अनुदार बन्नुहुन्छ, उहाँबाट अभिभावकीय व्यवहारको अपेक्षा गर्नु बेकार छ, प्रतिस्पर्धी समूहलाई १५औँ महाधिवेशनसम्ममा तितरबितर पार्न खोज्नुहुन्छ र अन्ततः आफ्नो आज्ञाकारी मान्छेलाई सभापति बनाउन हरसम्भव कोसिस गर्नुहुन्छ भन्दै थिए । त्यसयता महाधिवेशन भएको १९ महिना व्यतीत भयो । 

यसबीच पार्टीले सयौँ निर्णय गरिसकेको छ । सरकारमा बसेर राज्य सञ्चालनसमेत गरिसकेको छ । गत निर्वाचनपश्चात् बनेको सरकारको प्रमुख घटक हो कांग्रेस । कांग्रेस चुनावी गठबन्धनको नेता पार्टी पनि हो । यस क्रममा उहाँमा परिवर्तन आयो त ? यसको एउटै उत्तर छ, उहाँमा बिल्कुल परिवर्तन आएन, उहाँ पुरानै पदचिह्नमा हिँड्नुभयो, गुटगत व्यवहारलाई प्रोत्साहित गर्दै अझ कसिलो बनाउनुभयो । 

उहाँद्वारा अहिलेसम्म भएका निर्णय गुटगत र एकपक्षीय मात्र भए । यसबीच महाधिवेशनका समयमा फरक समूहमा रहेका पार्टीका साथीहरू थप अन्यायमा परे, किनारामा धकेलिए । उनीहरूको योगदान र क्षमताको अवमूल्यन भयो । एकप्रकारले उनीहरूलाई पार्टीले दुव्र्यवहार नै गरेको छ । पार्टी, केही सीमित व्यक्तिको स्वार्थपूर्तिको साधन अर्थात् माध्यम बनेको छ । सत्ता जनताको जीवनमा ठोस परिवर्तन ल्याउने साधन बन्न सकेको छैन । पार्टीका साथीहरूले पार्टीभित्रै अपमान र तिरस्कार सहनुपरेको छ । राजनीतिको मूल ध्येय बरालिएको छ । राजनीतिमा पार्टी र प्रणाली माध्यम हो भने देशको समृद्धि र प्रतिष्ठा तथा जनताको सुख तथा शान्ति साध्य हो । राजनीतिक नेतृत्वले यसको हेक्का राखेको देखिएन ।

पार्टी कसरी उभिन्छ ?
सामाजिक र ऐतिहासिक आवश्यकताले राजनीतिक पार्टीको उदय, स्थापना वा गठन हुने गर्छ । यसका खास आदर्श, विचार र सिद्धान्तको धरातल एवं निश्चित उद्देश्य र दीर्घकालीन लक्ष्य तय गरिन्छ । कांग्रेस नेपालको राजनीतिलाई प्रजातान्त्रीकरण गर्दै अग्रगमनतर्फ डोर्‍याउने एक मात्र अग्रणी प्रजातान्त्रिक दल हो । घनघोर निरंकुश कालखण्डमा यसको जन्म भयो । र, नेपालको उत्तरआधुनिक इतिहासको रचनाकार पनि यही पार्टी हो । यो पार्टी इतिहासको उपज होइन । २००७ सालयता धेरै राजनीतिक दलको उदय भयो । र, ती सबै इतिहासका उपज थिए । कतिपय त संकटपूर्ण परिस्थिति झेल्न नसकेर हराएर गए । कांग्रेससँग जनताका अपेक्षा छन् र विश्वास पनि छ । तर, हिजोआजका गतिविधिबाट जनता निराश र आक्रोशित छन् ।

मूलतः खास आदर्शबाट अभिप्रेरित नभईकन कुनै पनि संस्था चीरकालसम्म बाँचिरहन सक्दैन । पहिलो त संस्थामा आबद्ध हुन पनि अन्तर्प्रेरणा चाहिन्छ । हामी सबैलाई थाहा छ, सात सालअघि कांग्रेसमा आबद्ध हुनु ठूलो साहसिक र क्रान्तिकारी कार्य थियो । दमनकारी शाासनको अत्याचारले पिल्सिएका गरिब नेपाली जनताले कांग्रेसद्वारा गरिएको जनक्रान्तिको आह्वानलाई सक्रिय साथ दिएका थिए । जसको परिणामस्वरूप नेपालमा प्रजातन्त्रको स्थापना भयो । यस दौरान धेरै तरुण युवाले जीवन बलिदान गरेका थिए ।

कांग्रेस पार्टी हजारौँको बलिदान र लाखौँ जनताको साथ, सहयोग र समर्थनमा उभिएको राजनीतिक पार्टी हो भन्ने चेतना र होस पार्टी नेतृत्वमा हुनुपर्छ । वर्तमान अवस्था मात्र कांग्रेसको यथार्थ होइन, विगतको निरन्तरता र भविष्यको सुनिश्चितताका लागि स्पष्ट कार्ययोजना पनि हो । यस विषयमा कांग्रेसका जिम्मेवार नेताहरू गम्भीर हुनुपर्छ । विगतको संघर्ष, त्याग र बलिदानलाई विस्मृतिमा धकेलेर अगाडिको यात्रा तय गर्न सकिँदैन । पटक–पटक जनताको साथ पाउनु चानचुने होइन । ३० वर्षे पञ्चायती कालरात्रिको कठोर समयमा समेत कांग्रेसले जनताको ठूलो साथ पाएको यथार्थ बिर्सनुहुँदैन । र, जनताप्रति इमानदार भएर कार्य गर्नुपर्छ भन्नेमा ध्यान पु¥याउनुपर्छ । हिजोआज यी सबै तपसिलका विषय भएका छन् ।

युवापुस्ता किन मौन ?
कांग्रेसको सांगठनिक जीवनको झन्डै दुईतिहाइ हिस्सा ओगटेका तरुण युवाको असामान्य मौनता उदेकलाग्दो छ । कांग्रेसको बैठक वर्ष–वर्ष दिनसम्म नबस्दा पनि केही पदाधिकारी र एकाध सदस्यबाहेक कसैले पनि बैठकको आवश्यकता महसुस गरेर आवाज उठाएनन् । धर्मशास्त्रले हाम्रा लागि अनेकानेक शिक्षा दिएका छन् । सामवेदले भनेको छ– जागृत व्यक्तिले मात्र समुदायको रक्षा गर्न सक्छ । र, सफल व्यक्ति वा संस्थासँग सुस्पष्ट कार्यसूची हुन्छ ।

कार्यसूची मुताबिकको कार्ययोजना र योजना कार्यान्वयनका लागि सक्षम र प्रभावकारी साधन हुन्छ, माध्यम हुन्छ । राजनीतिक दल माध्यम हो । राजनीतिक दलका संगठन दललाई जनमानसमा उभ्याउने बलिया संयन्त्र हुन् । सरकार साधन हो । कांग्रेस नेपालको सफल संस्था हो भन्ने इतिहास हामीसँग छ । तर, भविष्यमा पनि सफल पार्न आजको क्रियाकलाप बाधक छ । यसलाई तुरुन्तै रूपान्तरण गर्न आवश्यक छ । यस विषयमा पार्टीभित्रका तरुण युवा उदासीन बन्न हुँदैन ।बैठकसँगका अपेक्षा कति पूरा होलान्, केही दिनमा थाहा हुने नै छ ।
(घिमिरे कांग्रेस युवानेता हुन्)

ad
ad