मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ६ बिहीबार o६:o९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सक्कली डाक्टर जब बने ‘अन्डरवर्ल्ड’को नक्कली एजेन्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार o६:o९:oo

त्रिवि आइओएमबाट छात्रवृत्तिमा एमबिबिएस गरेका भोजपुरका डा. आशिष दाहाल अमेरिकासम्म पुगे, तर क्यासिनोको लतले टाट पल्टिएपछि स्वदेश फर्किएका उनी अल्डरवर्ल्डको नाममा धम्क्याएर पैसा माग्ने आपराधिक गतिविधिमा होमिए

पूर्वी पहाडी जिल्ला भोजपुरका आशिष दाहालको करिअरमा सुदूर भविष्यको पहिलो उपलब्धि त्यति वेला प्राप्त भयो, जब एमबिबिएस पढ्न सरकारी छात्रवृत्तिमा नाम निकाले । उनले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)बाट छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरे ।

एमबिबिएस सकाएपछि करिअरको अर्को खुड्किलो चढ्ने अपेक्षासहित उनी सन् २०१७ मा अमेरिका गए । अमेरिकामै मेडिकल अभ्यास गर्ने सपनासहित त्यहाँ पुगेका उनी त्यहाँको चिकित्सक अनुमतिपत्र (युएसएमएलई)को परीक्षामा अनुत्तीर्ण भए । बरु अमेरिकामा क्यासिनोको लतले उनलाई रसातलमै पुर्‍याइदियो । क्यासिनोमा भएभरको पैसा हारेर टाट पल्टिएपछि उनका दुर्दिन सुरु भए । लाइसेन्स परीक्षामा फेलको पीडा र ऋण बोकेर अमेरिका छाड्नुपर्ने अवस्थामा पुगे । तनावको भारी बोकेर २०१८ मा स्वदेश फर्किए ।

स्वदेश फर्किँदा उनीसँग ४० लाख रुपैयाँ ऋण थियो । नेपाल आएपछि बुबाआमाले जोडेको इमाडोलको जग्गा बेचेर २५ लाख ऋण तिरे, बाँकी १५ लाख काम गर्दा पनि तिर्न सकेनन् । त्यसपछि अब उनले जिन्दगीलाई अपराध कर्मतिर मोड्न थाले । अन्डरवर्ल्डको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा मागेको आरोपमा ३२ वर्षीय दाहाललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । ग्वार्को बस्ने उनी त्यहाँकै एक निजी क्लिनिकमा काम गर्दै आएका थिए । एमबिबिएस मात्र उत्तीर्ण गरेकाले उनको आम्दानी पनि न्यून थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रहरी नायब उपरीक्षक रोशन खड्काका अनुसार आर्थिक संकटमा फसेका दाहालले नयाँ सिमकार्ड निकालेर धम्क्याउने योजना बनाएका थिए । आफ्नै सहकर्मी तथा सामान्य चिनजान भएका व्यापारीहरूलाई ह्वाट्सएपमा म्यासेज पठाएर ५० हजारदेखि दुई लाख रुपैयाँसम्म मागेका थिए । आफू ‘अल्डरवर्ल्ड’को एजेन्ट भएको भन्दै पैसा नदिए कन्ट्रयाक्ट किलरमार्फत हत्या गर्नेसम्मको धम्की दिएका थिए ।

अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार पक्राउपछि दाहालले आफू क्यासिनोको लतका कारण आर्थिक संकटमा फसेको र सोही कारण यस्तो काम गरेको बताएका छन् । सन् २०१७ मा उनी अमेरिका गएको, त्यहाँ नियमित क्यासिनो जाने गरेको र ठुलो रकम हारेपछि नेपाल फर्किएर आपराधिक योजनामा लागेको खुल्न आएको ती प्रहरी अधिकारीले बताए । कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए । काठमाडौं परिसरले आपराधिक लाभ मुद्दामा उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ ।